धरान । राष्ट्रिय साझा पार्टी केन्द्रीय समितिको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ ।

सुनसरीको धरान–११ स्थित केन्द्रीय पार्टी कार्यालयमा शनिबार सम्पन्न विशेष महाधिवेशनबाट भूपी कोयी राईको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । पार्टीको विधानको परिच्छेद ९ को धारा ५८ को उपधारा १ र २ मा भएको व्यवस्थाअनुरूप विशेष महाधिवेशन गरिएको अध्यक्ष कोयीले जानकारी दिए ।

महाधिवेशनबाट समितिको उपाध्यक्षहरूमा देवीबहादुर राई, ललितप्रकाश राई, फक्तबहादुर खड्का, सर्वजित राई, देवमाया राई नारी चयन भएका छन् । यस्तै महासचिवमा रमेशकुमार राई, सचिवहरूमा विक्रम राई, प्रितिराज राई, सहसचिव युवक राई, कोषाध्यक्ष श्रीकुमार राई र सह–कोषाध्यक्ष सुरेशकुमार राईलगायत सदस्य चयन भएको छ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै बहुमत सदस्यले पारित गरेको अध्यक्ष कोयीले जानकारी दिए ।

अध्यक्ष राईको अध्यक्षतामा सम्पन्न महाधिवेशनको प्रमुख अतिथि सुधार नेपालका अध्यक्ष निनाचन्द्र राईले पार्टीले जनताको अपेक्षा र आकङ्क्षाअनुसार काम गरेर अगाडि बढ्नका लागि आग्रह गरेका थिए । कार्यक्रममा विशेष अतिथि स्वतन्त्र नागरिक समाजका संयोजक धनकुमार राई रहेका थिए ।