सिरहा । मधेश प्रदेशको लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाको कार्यकक्षमा तालबन्दी गरेपछि वडाध्यक्षहरूले उपप्रमुखको कार्यकक्षमा पनि तालाबन्दी गरिदिएका छन् ।

मलको विवाद झिकी उपप्रमुखले ‘कागज च्यात्दै’ अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेपछि वडाध्यक्षहरूले दुईजनाको विवादका कारण किसानहरू मल पाउनबाट बञ्चित भएको भन्दै उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । भदौ ११ गते बसेको कार्यपालिकाको निर्णयले प्रमुख तथा उपप्रमुखको नाममा मलखाद निर्धारण गर्ने प्रणाली खारेज गरेको थियो । उक्त खारेज गरेको विषयलाई कागजी रूपमा हस्ताक्षर गराउनका लागि आइतबार मल वितरण समितिका सदस्य–सचिव कृषि शाखाका प्रमुख प्रकाश साह हलुवाईले लिएर गएका थिए । यता उक्त हस्ताक्षर गराउन लगिएको कागज उपप्रमुख महतोले च्यात्दै प्रशासकीय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिदिएको १ नम्बर वडाका वडाध्यक्ष युगलप्रसाद चौधरीले फोनसम्पर्कमा बताए ।

वडाध्यक्ष चौधरीले बोर्डबाट प्रमुख र उपप्रमुखले मलखादको कोटा नछुट्याउने भनी निर्णय भएको बताए । तर, उपप्रमुखले मलखादको कोटा नराखेको भन्दै कागज च्यातेर प्रमुख प्रशासकीय अधिकृतको कोठामा ताल्चा लगाएको उनले जानकारी दिए । “हाकिम सा’पको कोठामा उपप्रमुखले ताला लगाइदियो” उनले फोनसम्पर्कमा भने, “तपाईंहरूको विवादले किसानलाई मर्का नपार्नू भनेर हामीले पनि उपप्रमुखको कोठामा तालाबन्दी गरिदिएको हो ।” २ नम्बर वडावासी उपप्रमुख महतोले २० नम्बर वडाका लागि दुई सय बोरा मलखाद आफ्नो नाममा दिनुपर्ने माग राख्दै आएको उनले बताए ।

कार्यपालिकाको बैठकले गरेको निर्णय अवज्ञा गरेर किसानहरूलाई समयमा मल वितरण गर्ने कार्यमा बाधा पु¥याएको भन्दै वडाध्यक्षहरूले विज्ञप्ति जारी गर्दै तालाबन्दी गरेका हुन् । वडाहरूमार्फत् सिधै किसानलाई दिने गरी तयारी गरिएको थियो । कार्यपालिकाको निर्णय अनुसार प्रमुख प्रशासकीय अधिकृत झा र वितरण समितिका सदस्य–सचिव कृषि शाखाका प्रमुख साहले डिलरहरूलाई परिमाण तोकेर सिफारिस गर्ने तयारी गरी कागजात लिई कृषि शाखामा पुग्दा उपप्रमुख महतोले कागजात च्यातेर उल्टो प्रमुख प्रशासकीय अधिकृत झालाई गाली बेइज्जती गरेको विज्ञप्तिमा उल्लेख छ । वडाध्यक्षहरूले उपप्रमुख महतोका कारण किसानहरूले मलखाद पाउनबाट बञ्चित हुने अवस्था सिर्जना भएको बताए । उपप्रमुख महतोले कोटा लिई अनियमिता गर्न खोजेको उनीहरूको आरोप छ ।

यता प्रमुख प्रशासकीय अधिकृत झाले त्यस्तो खास केही पनि नभएको बताए । “त्यो खास केही छैन । मलखादको विषयमा विवाद भएछ । म त कार्यालयमा पनि थिइनँ” उनले फोनसम्पर्कमा भने, “मैले (उपप्रमुख) कोटा पाइनँ भनेर उहाँले विवाद झिक्नुभएछ । त्यही विवादमा वडाध्यक्षहरूले तालाबन्दी गर्नुभएछ ।” यसअघि नगरपालिकाबाट पनि मलखाद वितरण हुँदै आएको थियो । अहिले चाहिँ जनताको सजिलोका लागि आइतबार नै वडा वडामा पठाउने निर्णय भएको उनले बताए । सोही निर्णयमा चित्त नबुझेर उपप्रमुख महतोले विवाद झिकेको बताइन्छ ।

उनीहरूले वार्ता तथा संवादमार्फत् समस्या समाधान नभएसम्म तालाबन्दी नखुल्ने वडाध्यक्षहरूले बताए । मलका लागि कृषि सामग्री कम्पनीलाई नगरपालिकाले डिलरलाई परिमाण तोकेर सिफारिस गर्ने र डिलरहरूले वडाध्यक्षको सिफारिसमा किसानहरूलाई बाँड्ने प्रावधान बनाइएको छ । २४ वटा वडा रहेको लहानमा २१–२१ सय बोरा युरिया र डिएपी मल आएको थियो ।

नगर प्रमुख महेशप्रसाद चौधरीले भदौ ११ गते प्रमुख, उपप्रमुखको नाममा कोटा राख्ने व्यवस्थालाई खारेज गरी वडामा समानुपातिक हिसाबमा वितरण गर्ने निर्णय गरिएको बताए । “एक साताअगाडि वडा–वडामा समानुपातिक हिसाबमा वितरण गर्ने भनेर निर्णय गरिएको थियो” उनले फोनसम्पर्कमा भने, “त्यहीअनुसार कृषि शाखाले साइन गराउन गएको रहेछ । मेरो नामको तीन सय मलखाद खोइ भनेर कागज च्यातेर प्रमुखलाई नै गाली बेइज्जती गरेछ ।” उनले बोर्डको निर्णयलाई लत्याएर दादागिरीशैली ठीक नभएको बताए । उनका अनुसार सोही विषयलाई लिएर नै उपप्रमुखको कार्यकक्षमा वडाध्यक्षहरूले तालाबन्दी गरेका हुन् ।

उनीहरूको विवादका कारण किसानले हालसम्म मलखाद पाउन सकेका छैनन् । लहान नगरपालिको ५, ६ र ७ मा केही कम धान खेती हुने गरेको छ भने अन्यत्र प्रशस्त धान खेती हुने गरेको छ । यता उपप्रमुख महतोलाई उनको मोबाइलमा सम्पर्क गर्दा फोन स्वीचअफ रहेको पाइयो ।