विराटनगर । नेकपा (एमाले) सुनसरीका जिल्ला कमिटी सदस्य तथा इटहरी उपमहानगरपालिकाका विद्युत् प्राविधिक पदमा कार्यरत महेश चौधरीसहितको एक समूहले २४ वर्षीय युवाको हातखुट्टा भाँच्चिने गरी निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।

भदौ ७ गते राति करिब १ बजे इटहरी–७ बजराहा निवासी राज कटुवालमाथि आक्रमण भएको थियो । पीडित परिवारका अनुसार, सोही ठाउँका ३५ वर्षीय महेश चौधरी र उनका साथी २९ वर्षीय शिव चौधरीसहित १०–१५ जनाको समूह घरेलु हतियार र रडसहित कटुवालको घरमा पुगेका थिए ।

राजका बाबु टेकबहादुर कटुवालको भनाइअनुसार, सुरुमा राति महेश एक्लै आएका थिए । गाउँकै चिनजानको व्यक्ति भएकाले उनकी श्रीमती सीताले ढोका खोलिदिइन् । ढोका खोल्नासाथ महेश र शिवसहितका अन्य व्यक्तिहरू भित्र पसी रडले राजमाथि अन्धाधुन्ध प्रहार गर्न थाले । छोरामाथि भएको आक्रमण देखेपछि टेकबहादुर र उनकी श्रीमती सीताले गुहार माग्दै चिच्याए । घरका अन्य सदस्यहरू आएपछि आक्रमणकारीहरू फरार भएका थिए । आक्रमणबाट राज बेहोस भएका थिए ।

उपचारमा अवरोध र गम्भीर चोटपटक
घटनापछि राजलाई उपचारका लागि लैजाने क्रममा पनि आक्रमणकारीहरूले अवरोध सिर्जना गरेको पीडित परिवारको भनाइ छ । महेशसहितका युवाहरूले सडकमा मोटरसाइकल तेस्र्याएर एम्बुलेन्स वा गाडी लैजान अवरोध गरेको पीडितले बताएका छन् । इलाका प्रहरी कार्यालय इटहरीमा खबर गर्दा प्रहरी पनि ढिलो गरी पुगेको उनीहरूको आरोप छ । पीडित परिवारले राजलाई विराटनगरस्थित विराट नर्सिङ होममा पुर्याएका थिए ।

आक्रमणमा परेर राज कटुवालको देब्रे खुट्टा र देब्रे हात भाँच्चिएको छ । उनको खुट्टाको अप्रेसन यही भदौ १० गते भएको छ भने हातको अप्रेसन हुन बाँकी नै रहेको बाबु टेकबहादुरले बताए । चिकित्सकहरूले पनि खुट्टाको अप्रेसनपछि हातको अप्रेसन गर्न सुझाएका छन् । हाल राज राम्रोसँग बोल्न सकेका छैनन् र हिँडडुल गर्न पनि नसकेको उनको परिवारले जनाएको छ । 

पाँच दिनपछि प्रहरीमा जाहेरी
उनका परिवारले दिएको जाहेरी अपराध भएको पाँच दिनपछि मात्रै इलाका प्रहरी कार्यालय इटहरीले दर्ता गरेको छ । जसले राजनीतिक दबाव र प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ । पीडित परिवारले एमाले नेता चौधरीलाई जिल्लादेखि प्रदेश तहका नेताहरूले संरक्षण दिएको आरोप लगाएका छन् । भदौ ७ गते आक्रमणकारी महेश चौधरी र शिव चौधरीसहितको समूहविरुद्ध जाहेरी दिन घाइते राजको माइली दिदी राधिका कटुवाल र भिनाजु मौसम पाठक इलाका प्रहरी कार्यालय इटहरी पुगेका थिए । तर, प्रहरीले त्यसदिन जाहेरी नलिएको घाइतेकी कान्छी दिदी विनिता कटुवालले बताइन् ।

“यो पुगेन, त्यो पुगेन भन्दै पाँच दिनसम्म प्रहरीले झुलायो । आक्रमण गर्ने महेश एमालेको नेता र नगरपालिकामा पनि काम गर्ने भएकाले दबावका कारण जाहेरी घटना भएको भोलिपल्ट नलिएर पाँच दिनपछि भदौ ११ गते मात्रै इलाका प्रहरी कार्यालय इटहरीले ज्यान मार्ने उद्योगमा लियो” विनिताले भनिन्, “अनुसन्धान र न्याय प्रक्रियामा राजनीतिक प्रभाव हावी भएको हुनसक्छ । तेही भएर भाइमाथि आक्रमण गर्ने मुख्य मान्छे महेशलाई अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन ।”

मुख्य आरोपी महेश चौधरी अझै फरार
इलाका प्रहरी कार्यालय इटहरीले घटना भएको पाँच दिनपछि शिव चौधरीलाई पक्राउ गरेको छ । पक्राउ परेका चौधरीलाई पाँच दिनका लागि ज्यान मार्ने उद्योगमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।
तर, यस घटनाका मुख्य आरोपी महेश चौधरी भने अझै फरार छन् । प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको बताए पनि पीडित परिवारका अनुसार महेश गाउँघरमै लुकिरहेका छन् । पीडित परिवारले उनलाई एमालेका जिल्लादेखि प्रदेशसम्मका नेताहरूले संरक्षण दिएको आरोप छ । 

प्रतिशोधमा आक्रमण गरेको आशङ्का
घटनाको अनुसन्धान गर्दै आएका प्रहरी अधिकारीका अनुसार प्रारम्भिक चरणको अनुसन्धानबाट पुरानो रिसइबीलाई लिएर आक्रमण भएको देखिएको छ । घाइते राज कटुवाल र आक्रमणका मुख्य व्यक्ति महेश चौधरीको गाउँ एउटै हो । एक प्रहरी अधिकृतका अनुसार, राज कटुवालले आक्रमण हुनुभन्दा अगाडि दिउँसो शिव चौधरीलाई हेल्मेटले आक्रमण गरेको बुझिएको छ । ती प्रहरी अधिकृतले भने, “राज कटुवालले दिउँसो बाटो छेकेर शिव चौधरीलाई हेल्मेटले आक्रमण गरेको देखिएको छ । त्यही रिस फेर्न पछि शिवले महेशसहितका युवाहरूलाई लिएर आक्रमण गरेको पनि हुनसक्छ । त्यही भएर अहिले यस घटनाको गहन अनुसन्धान भइरहेको छ ।” यो दुईतर्फी झडपको पाटोलाई पनि प्रहरीले अनुसन्धानको दायरामा राखेको छ, तर मध्यरातमा १०–१५ जनाको समूहले घरमै पसी अन्धाधुन्ध आक्रमण गरी हातखुट्टा भाँच्चिने अवस्थामा पु¥याउनु सामान्य झडप मात्रै मान्न नसकिने स्थानीयले बताएका छन् ।