लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले आफ्नो फाइदाका लागि नगर कार्यपालिकाको बोर्ड बैठकको निर्णयलाई लत्याउँदा त्यसबाट आम कृषकहरु समस्यामा परेका छन् । उपप्रमुखले आफ्नो नाममा पनि निश्चित मलखादको कोटा छुट्याउनुपर्ने भन्दै भदौ ११ गते भएको बोर्डको बैठकको निर्णय लत्याएका छन् । उक्त बोर्ड बैठकको निर्णयको विषयमा उनीसामु कागजात लिई पुगेका कृषि विकास शाखाका प्रमुख प्रकाश साह हलुवाईले दिएलगत्तै च्यातेर उनले बैठकको उपहास गरेका छन् । उनले यति मात्रै गरेनन्; प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाको कार्यकक्षमा तालाबन्दीसमेत गरिदिए । दुईजनाको विवादका कारणले गर्दा किसानहरु मल पाउनबाट बञ्चित भएको भन्दै वडाध्यक्षहरुले पनि उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् । व्यक्तिगत स्वार्थका कारणले मलमा राजनीतिक गर्दा किसान मर्कामा परेका छन् । यस घटनाले जनप्रतिनिधिहरुले व्यक्तिगत स्वार्थका लागि जनताको हितलाई कसरी बेवास्ता गर्छन् भन्ने कुरा पनि छर्लङ्ग भएको छ ।
बोर्डको बैठकमा भएको निर्णयको अवज्ञा गर्ने अधिकार उपप्रमुखलाई छैन । कार्यपालिकामा उनी पनि सदस्य हुने भएकाले कार्यपालिका सदस्यका हिसाबमा उनले उक्त विषयलाई कार्यपालिका बैठकमै राखेर समस्या समाधानतिर जाने हो न कि बोर्ड बैठकले गरेको निर्णयलाई च्यातेर अगाडि बढ्ने । बैठकले प्रमुख तथा उपप्रमुखको नाममा मलको कोटा निर्धारण गर्ने पुरानो प्रणाली खारेज गरी वडा–वडामा समानुपातिक हिसाबले मल वितरण गर्ने निर्णय गरेको थियो । यो निर्णय आम किसानको हितमा थियो, जसले मल वितरणलाई थप पारदर्शी र न्यायोचित बनाउँथ्यो । तर उपप्रमुख महतोले यो निर्णयको ठाडो अवज्ञा गरी आफूखुसी निर्णय गर्न खोजेको देखिन्छ । यसले यसअघि के कसरी मलमा बदमासी हुन्थ्यो भन्ने कुरालाई पनि प्रष्ट पारेको छ । यो घटनाले के देखाउँछ भने जनप्रतिनिधिहरुले आफ्नो अधिकार र सुविधा कटौती हुनेबित्तिकै जनहितको निर्णयलाई पनि स्वीकार गर्न सक्दैनन् । कार्यपालिकाको निर्णयलाई च्यात्नु र प्रमुख प्रशासकीय अधिकृतलाई गालीगलौज गर्नुले उपप्रमुखको पदीय मर्यादा र जिम्मेवारीप्रतिको गैरजिम्मेवारपन स्पष्ट हुन्छ । यसलाई राजनीतिक दादागिरीभन्दा अरु केही भन्न सकिँदैन ।
यता वडाध्यक्षहरुले उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेर विरोध जनाएका छन्, जुन जायज कदम हो । तर, तालाबन्दी गरेर मात्रै समस्याको समाधान हुँदैन । अहिले किसानको मुख्य समस्यालाई केन्द्रमा राखेर काम गर्नुपर्छ । वडाध्यक्षहरुले सचेत भई आम नागरिकलाई मल दिलाउने वातावरण सिर्जना गर्नुपर्छ । यो तालाबन्दी र विवादले गर्दा किसानहरुले मल पाउन अझै धेरै समय कुर्नुपर्ने अवस्था आएको छ । यो समस्याको तत्काल समाधान खोज्नुपर्ने जरूरी छ । जनप्रतिनिधिहरुबीचको आपसी कलहले किसानलाई थप सास्ती दिनु हुँदैन । राजनीतिक टकरावलाई पन्छाएर सबैले मिलेर काम गर्नुपर्छ । मलको व्यवस्थापन र वितरणलाई तत्काल सुरू गर्न वार्ता र संवादको बाटो खोल्नुपर्छ । अन्ततः कुनै पनि राजनीतिक विवादले जनताको आधारभूत आवश्यकतामाथि असर पार्नु हुँदैन । लहानका किसानहरुलाई समयमा मल उपलब्ध गराउनु अहिलेको सबैभन्दा ठूलो प्राथमिकता हो ।