हिमालयमा अहिले एउटा नयाँ र डरलाग्दो यथार्थ देखापरेको छ । तापक्रम वृद्धिसँगै हिमनदीहरु पग्लिँदा नयाँ र स–साना तालहरु तीव्र गतिमा बनिरहेका छन् । रसुवाको ल्हेन्दे खोला र सोलुखुम्बुको थामे गाउँमा हालसालै आएको बाढीले यही नयाँ खतराको सङ्केत गर्छ । यो कुनै सामान्य बाढी थिएन, बरु ’सुप्राग्लेसियल’ ताल फुट्दाको परिणाम थियो । यसले यो पाठ सिकाएको छ कि अब ठूला र प्रख्यात हिमताल मात्रै खतरा होइनन्, बरु हाम्रै आँखाअगाडि बनिरहेका साना पोखरीहरु पनि भीषण विपद्को कारण बन्न सक्छन् ।
हामी वर्षौंदेखि इम्जा र च्छो–रोल्पाजस्ता ठूला हिमतालहरुका जोखिमबारे चिन्तित थियौँ । तर, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययनले अब साना, अदृश्य तालहरुमाथि ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ । हिमनदीको सतहमाथि बनेका यी पोखरीहरु अचानक विष्फोट हुँदा बाढी र विनाश ल्याउँछन् । विज्ञहरुले भनेजस्तै, यी नयाँ तालहरुमा अनुसन्धान नै भएको छैन । तापक्रम बढ्दा कमजोर मोरेन, पग्लिएको पर्माफ्रोस्ट वा चट्टान खसेर यी तालहरु फुट्ने जोखिम झन् बढेको छ ।
यो विपद्को अर्को पाटो हो— पूर्वसूचना प्रणालीको अभाव । नेपालका २१ उच्च जोखिमयुक्त हिमतालमध्ये इम्जा र च्छो–रोल्पामा मात्रै चेतावनी प्रणाली छ । सीमापार, खासगरी चीनसँग सूचना आदान–प्रदानको संयन्त्र पनि कमजोर छ । रसुवाको बाढीअघि सूचना आएको भए मानवीय क्षति कम गर्न सकिन्थ्यो भन्ने पूर्व अधिकारीको भनाइले यसको पुष्टि गर्छ । हामीसँग सङ्कट आइसकेपछि उद्धार गर्ने योजना त छ, तर त्यसलाई आउन नदिन वा क्षति न्यूनीकरण गर्न पर्याप्त तयारी छैन ।
हालै ग्रीन क्लाइमेट फन्डबाट चारवटा तालका लागि प्राप्त पाँच अर्ब रूपैयाँको परियोजना सकारात्मक कदम हो । तर, यो समस्याको विशालता हेर्दा यो लगानी पर्याप्त छैन । नेपाल, भारत र चीनमा गरी ४७ वटा हिमताल उच्च जोखिममा छन्, जसमध्ये २१ वटा नेपालमै छन् । चारवटा तालको जोखिम घटाउँदैमा बाँकी ४३ वटा हिमतालको खतरा हट्दैन । त्यसैले यो लगानीलाई ठूलो विपद्को तयारीमा रुपान्तरण गर्न अझ बृहत् योजना र बजेट आवश्यक छ । पछिल्ला घटनाहरुले यो सन्देश दिएका छन् कि साना हिमतालहरु पनि ठूला त्रास बन्न सक्छन् । जलवायु परिवर्तनका कारण हिमताल विष्फोटको जोखिम बढिरहँदा पनि हाम्रो तयारी निकै सुस्त छ । अबको बाटो वैज्ञानिक अध्ययन, पूर्वसूचना प्रणालीको विस्तार, अन्तरदेशीय समन्वय र राजनीतिक तहमा हिमाली सङ्कटबारे गम्भीर विमर्श हो । यदि हामीले यो चेतावनीलाई बेवास्ता ग¥यौं भने आजको सानो बाढी भोलिको भीषण विनाशमा रुपान्तरण हुन बेर छैन ।