वराहक्षेत्र । सामाजिक सञ्जालको विषयलाई लिएर वराहक्षेत्र नगरपालिकामा शिक्षक बालकृष्ण बोहोरा र नगरप्रमुख रमेश कार्कीबीच भएको विवादले उग्ररूप लिँदा विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन् ।

फेसबुकमा गरिएको पोष्टलाई लिएर नगरपालिका वडा नं. ८ स्थित कोशी माध्यमिक विद्यालयका शिक्षक बोहोरा र प्रमुख कार्कीबीच चर्केको विवाद तत्काल समाधानको माग गर्दै विद्यार्थीले आइतबार विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरेका छन् । पोष्टलाई लिएर प्रमुखले शिक्षक बोहोरालाई गरेको काजसरुवा रद्द गरी तत्काल फिर्ता बोलाइनु पर्ने माग गर्दै विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेको विद्यार्थीलाई उद्धृत गर्दै शिक्षिका निर्मला चौहानले बताइन् । शिक्षक बोहोरालाई पुनः सोही विद्यालयमा फिर्ता बोलाउन माग गर्दै विद्यार्थीहरू र अभिभावकहरूले नगरपालिका र विद्यालयमा छुट्टाछुट्टै ज्ञापन–पत्र बुझाएका थिए ।

साउन ३० गते सामाजिक सञ्जाल फेसबुकमा गरिएको पोष्ट “२–३ वटी श्रीमती बिहे गरेका प्रमुख र वडाध्यक्षहरूले कार्यक्रमपिच्छे पालैपालो श्रीमतीहरूलाई लगेर कार्यक्रममा प्रत्येकलाई प्रथम महिला भन्दै सम्बोधन गरेको सुनिन्छ । खासमा प्रथम महिला भनेको को हो ?” को आधारमा आफूलाई नगरपालिकाको वडा १ स्थित सूर्यकुण्ड मा.वि.मा सरुवा गरिएको शिक्षक बोहराले बताए । उनले आफूले गरेको पोष्टमा कसैको नाम लिएर नलेको बताए । उनले उक्त स्टाटसलाई लिएर नगर प्रमुखले व्यक्तिगतरूपमा लिई चक्रघट्टीको इलाका प्रहरी कार्यालयमा “तँ अराजक होस्, विद्यालयको कलङ्क होस्, स्टाटस डिलिट गर” भन्दै सरुवा गरिदिने धम्की दिएको र भदौ ५ गतेदेखि पूरै महिनाको हाजिरी काटिएको बोहराले बताए ।

शिक्षक बोहोरालाई साविकको कोशी मा.वि.मा अध्यापन गराउन माग गर्दै स्थानीय राजनीतिक दल र नगरको नेपाल शिक्षक महासङ्घमा आबद्ध भातृ सङ्गठनहरूले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक बोहोरालाई फिर्ता बोलाउने माग गरेका छन् । विवादका सम्बन्धमा नगर प्रमुखले फोन सम्पर्कमा शिक्षक बोहोरालाई उनले गरेको पोष्टको आधारमा नभएर विद्यालयले उनलाई सरुवा गर्न पटक–पटक गरेको मागको आधारमा काज सरुवा गरिएको बताए । शिक्षक बोहोराले आफू कार्यरत विद्यालयको बारेमा सामाजिक सञ्जालमा धेरै पटक अनावश्यक पोष्ट गरेको उनले बताए । उनको पोष्टबाट दिक्क बनेपछि विद्यालयले नगरपालिकासँग काज सरुवा गरिदिन भन्दै माग गरेको उनले बताए ।

विद्यालयका विषयमा आइन्दा त्यस्तो केही कुरा सामाजिक सञ्जालमा नलेख्ने भन्दै बोहोराले गत जेठ २१ गते नेपाल शिक्षक महासङ्घको उपस्थितिमा सहमति गरे पनि फेरि लेख्न थालेको नगर प्रमुख कार्कीले बताए । “अब उनी सूर्यकुण्ड मा.वि. जानुको विकल्प छैन”–उनले भने । यता विवाद भएको मितिबाट शिक्षक बोहोरा सूर्यकुण्ड मा.वि. गएका छैनन् भने साविकको कोशी मा.वि.समेत नगएर घरमै रहेका छन् ।