धरान । धरानस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलका संस्थापक भाइस प्रिन्सिपल विजय सिं थेबेलाई ‘सार्क डाइनामिक युथ प्रिन्सिपल अवार्ड–२०२५’ बाट सम्मानित गरिएको छ । 

शिक्षालय राष्ट्रिय मासिकको आयोजनामा शुक्रबार काठमाडौँमा सम्पन्न ‘सार्क एजुकेसन कन्क्लेभ तथा अवार्ड समारोह’ मा उनलाई सम्मान–पत्र प्रदान गरिएको छ । नेपाल, भारत र बङ्गलादेशका शैक्षिक व्यक्तित्वहरूको सहभागिता रहेको सो कार्यक्रममा शिक्षाको गुणस्तर र नवप्रवर्तनमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम केसीलगायतको उपस्थितिमा थेबेलाई पूर्वप्रधानमन्त्री खनालले खादा र सम्मान–पत्र हस्तान्तरण गरे । यो अवार्डले दक्षिण एसियाली क्षेत्रमा शिक्षाको नवीन र समावेशी दृष्टिकोणलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ, जसअन्तर्गत थेबेको नेतृत्व र योगदानको उच्च मूल्याङ्कन गरिएको हो ।

सम्मानपछि आफ्नो अनुभव बाँड्दै थेबेले यो अवार्डलाई आफ्नो लागि ठूलो सम्मान र जिम्मेवारी दुवै थपिएको महसुस भएको बताए । उनले भने, “यो पुरस्कारले भविष्यको पुस्ता निर्माण गर्न जीवन समर्पण गर्ने शिक्षकहरूको सामूहिक प्रयासलाई प्रतिबिम्बित गर्छ ।” यो सम्मानले आफूलाई थप नवीन र समावेशी शिक्षातर्फ लाग्न प्रेरित गरेको उनको भनाइ थियो ।

यसअघि पनि थेबेले अन्तर्राष्ट्रियस्तरका विभिन्न अवार्डहरू प्राप्त गरिसकेका छन् । उनी ब्रिटिस काउन्सिल आईएसए अवार्ड, बेस्ट ग्लोबल प्रिन्सिपल अवार्ड र डा. ए.पी.जे. अब्दुल कलाम इनोभेटिभ प्रिन्सिपल अवार्डबाट सम्मानित भइसकेका छन् ।