धरान । धरान उपमहानगर क्षेत्रमा पानी वितरण गर्दै आएका पानी उत्पादक कम्पनीले थोत्रा, लेभलिङ नभएका पुराना जारको पानी वितरण गर्दै आएको पाइएको छ ।

सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, डिभिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त टोलीले धरानमा वितरण हुने खानेपानी वितरण गर्ने कम्पनीका जार अनुगमन गर्दा यस्तो पाइएको हो ।  

धरान खानेपानी बोर्डले पर्याप्त खानेपानी आपूर्ति गर्न नसक्दा खानेपानीको अभाव हुने गरेको हो । यही मौकामा विभिन्न पानी उत्पादक कम्पनीहरूले धरानमा जारको पानी वितरण गर्दै आएका छन् ।

सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, डिभिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त टोलीले धरान प्रवेश गर्ने तीनकुने नाकाबाट भित्रिने पिउने पानीको अनुगमन गर्दा पाँच वटा पानी उद्योगले वितरण गर्ने जारको अवस्था दयनीय पाइएको छ ।

धरान उपमहानगरपालिका प्रशासन महाशाखा अधिकृत वेदप्रकाश सापकोटाका अनुसार पाँच वटा कम्पनीका एक सय ५६ वटा जार नियन्त्रणमा लिएर नष्ट गरिएको छ । पाँच कम्पनीका ८ वटा गाडीमा ल्याइएको पानी नियन्त्रणमा लिएर चेकजाँच गरिएको थियो । नष्ट गरिएकामा इटहरी–२ स्थित गौमुखी गङ्गाजल प्रा.लि.को ५६ वटा जार, जय नेपाल जल उद्योग तरहराको ११ वटा जार, दिव्येश्वरी जल उद्योग इटहरीका २० वटा जार, पारिजात जल उद्योगका २९ वटा जार, हलेसी एक्वा तरहराको ४१ वटा पुरानो जार नष्ट गरिएको धरान उपमहानगरपालिकाका अधिकृत हिमाल गौतमले जानकारी दिए ।

टोलीले जार लिएर आएका सवारीका कर्मचारीलाई पुरानो र लेवल विनाको जारमा पानी बिक्री नगर्न निर्देशन दिँदै फर्काइदिएको छ । गौतमका अनुसार ती उद्योगहरूले उत्पादन गरेको पिउने पानीको जार फोहोर, कुच्चिएको, लेवलिङ नभएको र पुरानो भेटिएका थिए । ती उद्योगको पानी परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर लगिएको अधिकृत गौतमले जानकारी दिएका छन् ।

टोलीले धरान आउने दूधजन्य कम्पनीहरूको समेत अनुगमन गरिएको थियो । दूधमा कुनै समस्या नभए पनि सरसफाइमा ध्यान दिन अनुगमन टोलीले निर्देशन दिएको छ । टोलीले धरान–१५ स्थित इजी राइडर होटलले उत्पादन गरेको पानी उद्योगको समेत कागजपत्र नियन्त्रणमा लिएको छ ।  

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका निरीक्षण अधिकृत उज्वल कोइरालाका अनुसार धरान भित्रिने पिउने पानी उद्योगहरूका पानीको जारअधिकांश पुरानो, कुच्चिएको, फोहोर र लेवल विनाका जार भेटिएका छन् । कामै नलाग्ने जार तत्काल नष्ट गरेर लेवल नभए पनि प्रयोग गर्न मिल्ने जारहरू लेवल लगाएर मात्र बिक्री गर्न निर्देशन दिएर फिर्ता पठाइएको उनले जानकारी दिए ।

धरान उपमहानगरका उपप्रमुख तथा अनुगमन संयोजक आइन्द्रविक्रम बेघाको संयोतकत्वमा अनुगमन गरिएको हो । धरान–८ स्थित औद्योगिक क्षेत्रका धरान डेरी उद्योग, गोर्खा ब्रुअरीको डिलरलगायतको पनि अनुगमन गरिएको टोलीले जनाएको छ ।  अनुगमन टोलीका अनुसार गौमुखी गङ्गाजल प्रा.लि.सहित ५ वटा कम्पनीका जारलाई लेवल लगाएर सुधार गर्न र ७ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

टोलीले तीनकुने नाका हुँदै गाडीहरूमा ट्यामीमा ल्याएको दूधमा ७ जनाबाट स्याम्पल लिएर परीक्षण गरिएको थियो ।  दूधमा न्युट्रोलाइजर, सुगरको मात्रा, पिठोजन्य कुराको मिसावट परीक्षण गर्दा कुनै समस्या नपाइएको निरीक्षण अधिकृत कोइरालाले जानकारी दिए । पानीको परीक्षणका लागि भने विराटनगर पठाइएको र एक साताभित्र रिपोर्ट आएपछि सोही अनुसार कारबाही अगाडि बढाइने निरीक्षण अधिकृत कोइरालाले ब्लाष्टलाई जानकारी दिए ।