इटहरी/ यसपटक तिहारका लागि फूल नफुल्दा कृषकहरू चिन्तित बनेका छन् । व्यावसायिक ढङ्गले फूल खेती गरेका कृषक तिहार शुरु हुन लाग्दासमेत नफुलेकाले चिन्तित छन् ।

तिहार चाँडै आएकाले फूल फुल्न भ्याएको छैन । ’अधिकांश फूलका बोटमा कोपिलामात्र लागेका छन्, फूल फुलेका छैनन् । यो वर्ष घर वरिपरि लगाएको फूल नफुल्दा इटहरी १९ की यसोदा वनलाई चिन्ता शुरु भएको छ । तीन दाजुभाइलाई लगाइदिने फूल नहुँदा बजारमै किन्नुपर्ने बाध्यता भएको बताइन् ।

विगत २ वर्षदेखि तिहारमा मज्जाले फूल फुलेको छैन उनी भन्छिन् । हिन्दुहरूको अर्को ठूलो पर्व तिहार आउन केही दिन मात्र बाँकी छ । लक्ष्मीपूजाको दिन घर र कार्यालयमा माला लगाउन चाहिने सयपत्री फूल र भाइटीकाको दिन दाजुभाइलाई लगाउने सयपत्री र मखमली फूलको अभाव हुने भएको छ । फूल आफैँमा सुन्दर हुन्छ । विशेष गरेर भाइटीकामा दाजुभाइलाई लगाइदिने फूल नै नभएपछि तारादेवीजस्तै धेरै दिदीबहिनीलाई कृत्रिम फूल खरिद गर्नुपर्ने बाध्यता छ ।

तिहारमा आवश्यक पर्ने फूल अधिकांशको बारीमा नफुल्दा तिहार खल्लो हुने स्थानीय बताउँछन् । केही वर्ष यता सयपत्री फूलको अभाव हुँदै आएको छ । आवश्यक पर्ने समयमा फूल नफुल्दा पुष्प ब्यवसायी तथा अन्य चेलीबेटीमा समेत नैराश्यता छाएको छ ।नेपालमा उत्पादित फूलले उपभोक्ताको माग नधान्ने गरेकाले हरेक वर्षझैं यस वर्ष पनि भारतबाट आउने कृत्रिम फूल बिक्री गर्ने तयारीमा रहेको बताउँछन् विगत ५ वर्ष देखि इटहरीमा फूल बेच्दै आएका दुहवीका मसिद आलम ।

तिहारको समयमा बजारमा सयपत्री र मखमली फूलहरूको माग बढ्ने भएकाले सम्बन्धित निकायले यसरी व्यावसायिक फूलखेती गरेका किसानहरूलाई प्राविधिक ज्ञान, सीप र तालीमको व्यवस्था गर्ने हो भने नेपाल फूलमा आत्मनिर्भर हुने देखिन्छ । भाइटीकाको दिन चाहिनेभन्दा त्यसअघि घर सजाउनका लागि पनि फूल आवश्यक पर्ने भए पनि अधिकांशको बारीमा फूल नफुल्दा तिहार खल्लो हुने उपभोक्ताहरूले बताएका छन् । यस वर्ष सुनसरीमा मात्र नभई अधिकांश ठाउँमा पर्याप्त फूल फुलेको छैन । केही वर्ष यता चाडपर्वमा सयपत्री फूलको अभाव खड्केको छ ।

इटहरीको पशुपति नर्सरीकी सञ्चालिका अन्जु आचार्यले अघिल्लो वर्षजस्तो सयपत्री फूल नफुलेको बताइन् । अहिले कोपिला चाहिँ लागिरहेको छ, केही दिनमा फूल्छ होला उनले भनिन् । यो वर्ष पनि फूलको अभाव हुने उनी बताउँछिन् । तिहारमा बढी सयपत्री फूलको माग हुने भएको कारण लगाएको फूल फुल्ने छाँटकाँट कम भएको उनको भनाइ थियो ।

कृषि ज्ञान केन्द्र सुनसरीका वागवानी विकाश अधिकृत कृतिपनारायण मिश्रले तिहार अगाडि भएको कारण फूल मज्जाले फुलेको छैन । स्याहार राम्ररी नभएको कारण पनि फूल खेती नफस्टाएको उनको भनाइ छ । सुनसरीमा फूलको व्यावसायिक खेतीसमेत नभएको कारण फूलमालामा भारतकै भर पर्नु परेको उनी बताउँछन् ।