पथरीशनिश्चरे । पूर्वमै पुरानो मध्येको मोरङ्गको उर्लाबारी–२ स्थित पुरानो मंगलबारे बजार केवल ईतिहांसमा मात्र सिमिति हुन पुगेको छ ।

२००५ सालदेखि त्यहाँ प्रत्येक मंगलबार लाग्दै आएको हाट २०५५ सालदेखि त्यसभन्दा दक्षिणपश्चिमको पूर्वपश्चिम मुख्य सडकको पथरीशनिश्चरेको सिमाना क्षेत्रको सुनझोडा खोला नजिक सारिएपछि पुरानो बजारको अस्तित्व लोप हुन पुग्यो । अहिले सो स्थान चौपाया चरणस्थलमा परिणत भएको छ ।

‘पहिले त सामान पहिलो दिन नै ल्याउने र भोलीपल्ट बजार लाग्ने र पर्सीपल्ट समेत बजारकै रौनक रहन्थ्यो । तर अब यो ठाउँ विस्थापित भयो । पहिले यस्तो थियो भनेर सम्झिने ठाउँ मात्रै बाँकी रह्यो ।’– स्थानीय बसन्त न्यौपानेले दुखेसो पोख्दै भने । मंगलबारे बजारलाई सुनझोडा पुछारमा सारिएपछि त्यो स्थान ‘नयाँ मंगलबारे’ बजारबाट परिचित मात्र भएन त्यहाँ बजार क्षेत्र बिस्तार भई ‘शहरीकरण’ भयो । तर खासको मंगलबारे त ‘पुरानो मंगलबारे’ नामाकरण भएर उल्टो ‘गाउँकरण’ जस्तो भयो ।

राजमार्गले नछोएका ठाउँहरु पछाडिने क्रम संगै मंगलबारे बजार पनि ओझेलमा पर्नबाट अछुतो रहेन । पूर्वपश्चिमम मुख्य सडकबाट १ किलोमिटर दुरीमा पर्ने बजारसम्म पुग्न २ वटा मार्ग भएपनि तेली खोला प्रमुख बाधक बनेको स्थानीयहरुको ठम्याई छ । यस्ता समस्याहरु सुल्झाउन एकजुट भएर लागि नपर्नु र आपसी राजनैतिक द्वन्द गरेर अवसर गुमाउन बाध्य भएको स्थानीय युवा समाजसेवी बानु सुब्बाको ठहर छ ।

उनले उर्लाबारी नगरपालिकाले बजारको पुर्बाधारका लागि बजेट छुट्याएपनि राजनैतिक हस्तछेपका कारण विकाश गर्न बाधा पुगेको टिप्पणी गरिन् । सोल्टी खोलामा एकातर्फबाट पूल बनेतापनि अर्कातर्फ ह्यूमपाईप राखेको कजवेले खोलाको बहाव थाम्न नसक्दा कजवे बगायो । त्यहाँ अहिले सम्म अर्को पूल बन्न सकेको छैन ।

बजारको नाममा रहेको १ बिघा ४ कट्ठा क्षेत्रफलका पुराना टहरा हटाइएकाले खाली चौरीमात्र बनेको छ । खालीरहेको जमीन अतिक्रमणको चपेटामा पर्न सक्ने स्थानीयको आशंका छ । ‘कुनैपनि कार्यालय संघ–संस्थाहरु स्थापना गर्न उपल्लो निकायबाट पहल भए यस स्थलको सदुपयोग हुन्छ । नत्र दुरुपयोग हुनसक्क्छ ।’– स्थानीय बसन्त श्रेष्ठले भने ।

उर्लाबारीका बिभिन्न संघ सस्था तथा बिद्युत प्राधिकरणकै कार्यालय आउने हल्ला त्यसै सेलाएर गयो । पूर्ब–पश्चिम राजमार्गबाट टाढा भएको बहानामा कार्यालयहरु पन्छिने गरेको देवमणि न्यौपानेले बताए ।

उर्लावारीका प्रख्यात मूर्तिकार मञ्जुल मितेरीले एकहजार विश्वप्रसिद्ध व्यक्तिहरुका मूर्तिहरु राष्ट्रलाई निःशुल्क उपहार दिने र त्यसको संग्रहालय यसै स्थलमा बनाउने कुरा पनि केही हदसम्म अघि बढ्यो । अनि त्यसबाट बेतिनीे सिमसारमा आउने पर्यटकहरुको मनोरञ्जनको थलो बन्ने पनि भनियो । तर त्यो कुरा पनि त्यसै सेलाएर गएपछि स्थानियबासीको आसा निराशामा परिणत भएको अगुवा समाजसेवी कमलनारायण मल्लिकले सुनाए । उनको चिन्ता छ ‘एउटा इतिहास त्यसै लोप भएर जाने भयो ।’