धरान/ धरानका व्यापारी व्यवसायीहरूले सीमापारिको बजारमा उपभोक्ताहरू आकर्षिक भएकाले यसपटकको दशैं बजार चहल–पहलविहीन भएको बताएका छन् ।
उनीहरूले धरान, इटहरी, इनरुवा, वराहक्षेत्रका उपभोक्ताहरू दशैंका लागि आवश्यक सामान, लत्ताकपडा, खाद्यान्न किन्नका लागि सीमापारिको बजार जोगवनी धाउन थालेपछि आफूहरू निराश हुनुपरेको बताए । सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले भने, ‘स्थानीय उपभोक्ताले दशैं, तिहारका बेला चाहिने सामान किन्न सीमापारि जान थालेकाले यसपटकको दशैं बजार गतवर्षको तुलनामा झन् निराशालाग्दो भएको छ ।’
सरकारले तय गरेको भन्सार र राजश्व नीतिका कारण अधिकांश नेपाली उपभोक्ता दशैं, तिहार छठजस्ता चाडबाडमा जोगवनी पुग्ने गरेको बताए । उनले जोगवनी पुग्ने नेपाली उपभोक्तामध्ये आधालाई रोक्नसके पनि सुनसरीमा मात्र करोडौंको कारोबार हुने दाबी गरे । उनले आर्थिक मन्दी पनि भएकाले दशैं बजार चहल–पहलविहीन भएको बताए ।
महेन्द्रपथस्थित न्यू क्लालिटी पसलका सञ्चालकसमेत रहेका धरान कपडा व्यवसायी सङ्घका अध्यक्ष जीवन अग्रवालले दशैं, तिहारको पूर्वसन्ध्यामा अरूतिर उपभोक्ताको भीड लाग्ने गरे पनि धरानजस्तो बजार उपभोक्ताविहीन भएको बताए । उनले नेपाली बजारमा चहल–पहल बनाउन सरकारी भन्सार नीति र राजश्व नीतिमा परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै भने, ‘जोगवनीका व्यवसायीहरूलाई दशैं, तिहारको माहौलमा व्यापार फस्टाएको भन्ने लागेको होला तर धरानका व्यापारी व्यवसायीहरूमा त्यस्तो देखिएको छैन ।’
सरकारले यसपटक भन्सार र राजश्वमा थप वृद्धि गरेकाले धरानको दशैं बजारमा चहल–पहल नदेखिएको उनले बताए । भन्सारकै कारण यताको बजार महँगिएको र सीमापारि जोगवनीको बजार सस्तिएकाले धरानमा दशैंको आसपासमा हुने लत्ताकपडाको करिब २० देखि २५ करोड रुपैयाँको कारोबार सुकेको बताए ।
अर्थ समीक्षकसमेत रहेका धरानका व्यवसायी कृष्ण अग्रवालले सरकारले राजश्व वृद्धिमा मात्र ध्यान दिएकाले दशैं, तिहारको पूर्वसन्ध्यामा स्थानीय व्यापारी व्यवसायीहरू निराश हुनुपरेको बताए । उनले बजारमा नेपाली व्यवसायी निराश भएर बस्नुपरेको बताए । उनले सरकारले ३४ खर्ब रुपैयाँको कुल ग्राहस्थ उत्पादनमा १० खर्बको राजश्व सङ्कलन गर्ने लक्ष राखेर भन्सार र राजश्वमा वृद्धि गर्दा उपभोक्ताहरूका लागि नेपाली बजार महँगिएको र सीमापारि जोगवनीको बजारतिर उपभोक्ताको भीड लागेको बताए ।
उनले भन्सार नीति र राजश्व नीतिमा परिवर्तन नगरे नेपाली उपभोक्ताहरू सीमापारिको बजार धाइरहने र नेपाली व्यापारी व्यवसायीहरू दशैं, तिहार आसपासको समयमा हुने उपभोक्ताको भीड आकर्षित गर्ने कल्पनामात्र गरिरहने बताए ।