धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबारदेखि २६ औं स्वास्थ्य विज्ञान सम्मेलन शुरु भएको छ । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरुप्रसाद खनाल र अस्पताल निर्देशक प्रा.डा. गौरी शंकर साहले सम्मेलनको उद्घाटन गरेपछि वैज्ञानिक शोध अनुसन्धान पत्रको सेसन शुरु भएको थियो ।
प्रतिष्ठानको बालरोग विभागद्वारा आयोजिति सम्मेलनमा पहिलो दिन स्वास्थ्य सम्बन्धी ४०वटा वैज्ञानिक अनुसन्धान पत्र प्रस्तुत गरिएका थिए । सम्मेलनमा प्रतिष्ठानका ३२ युनिटबाट रोग निवारण, औषधी प्रयोग, बिरामीको उपचार पद्धति, नया“ औषधीका प्रभाव, आधुनिक शल्यक्रिया पद्धति, आधुनिक उपचार सेवा पद्धति, शारीरिक र मानसिक रोगका उपचारमा प्रविधिको प्रयोग, विभिन्न रोग रोकथाममा भएका प्रयासबारे २ सय १० वटा वैज्ञानिक शोध तथा अनुसन्धान पत्रहरू तीन दिनभित्रमा प्रस्तुत हुने संयोजक समेत रहेका बालरोग विभागका प्रमुख डा.प्रकाश पौडेलले बताए ।
प्रा.डा.नरेन्द्र भट्टले रिकन्सीलिङ क्लिनिकल रिसर्च, क्लिनिकल विज्डम, क्लिनिकल केयर विषयमा विद्धत् प्रवचन दिएपछि प्रा.डा.माधव लम्साल, पि. खतिवडा, सञ्जीव साह, खुस्बु देव, बविता शर्मा, तनिष गौरव, प्रमिता शर्मा, रेजिना सुवेदी, रोशनी थापा, सञ्जिता फियाक, सुप्रभा काफ्ले, मन्जु देवकोटा, सुधा पौडेल, नेहा थापा, विष्णु अधिकारी, गीता साह, समीक्षा शर्मा, प्रमिला सिन्हा, निकिता घिमिरे, वेदुकुमारी घिमिरे, यमुना चन्द, देवु अधिकारी, निकेश जैसवाल, जतिन गोयल, प्रियङ्का गुप्ता, कीर्ति घिमिरे, रचना आचार्य, इरु प्याकुरेल, शारदा धिताल, अभिजित कुमार, बोलबम रजक, अलिशा देव र रचना विडारीले आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए ।
स्त्री तथा प्रसूती, नर्सिंङ, मानसिक, यौन तथा चर्म रोग, हाड जोर्नी, पब्लिक हेल्थ एण्ड कम्यूनिटि मेडिसिन, नाक कान घाँटी, आँखा, बालरोग विभागमा कार्यरत अध्ययनरत चिकित्सक, विद्यार्थी नर्सहरूले उपचार, रोग निदानका विषयमा अनुसन्धान पत्र तयार गरेका थिए ।
सम्मेलनमा प्रस्तुत गरिएका मध्ये उत्कृष्ट शोध अनुसन्धान पत्रलाई पुरस्कृत गरिने प्रा.डा. पौडेलले बताए । उनकाअनुसार स्वास्थ्य अनुसन्धानबाट आएका तथ्यले चिकित्सकले अपनाइरहेको उपचार पद्धति कति ठीक छन् वा छैनन् भन्ने मूल्याङ्कन हुन्छ । सोही अनुसार उपचार विधि, पद्धति र स्वास्थ्य नीतिमा पनि सुधार गर्नु मदत पुग्ने बालरोग विषेशज्ञ डा. अरुणकुमार सिंहले बताए ।