धरान/ गाउँपालिकामा अस्पताल बनाउन सरकारले छनौट गरेपनि सुनसरीको गढी गाउँपालिकाले बेवास्ता गरेको भन्दै स्थानीय बासिन्दाले आक्रोस व्यक्त गरेका छन् ।

गढी–६ सतेरझोरामा सरकारले चार महिनाअघि नै १५ शøयाको अस्पताल बनाउन स्थान छनौट गरेको थियो । तर गाउँपालिकाका प्रमुख र जनप्रतिनिधिहरूले अस्पतालका लागि प्रक्रिया नै अगाडि नबढाएको भन्दै स्थानीय बासिन्दाले आक्रोस व्यक्त गरेका हुन् । उनीहरूले सतेरझोरामा तत्काल अस्पताल बनाउन माग गर्दै शनिबार दबाव दिएका थिए ।

गाउँपालिकालाई नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन डिभिजन विभाग स्वास्थ्य भवन शाखाले १५ शøयाको अस्पताल स्तरोन्नतिको सम्भाव्यता, आवश्यकता पहिचान गरी पठाउन १५ दिने सूचना दिएको थियो । तर हालसम्म कुनै प्रक्रिया नै अगाडि नबढाएपछि सामूहिक दबाव दिन बाध्य भएको गढी–६ का महेश्वर यादवले बताए । उनले सरकारले सुनसरीको गढी गाउँपालिकाको सतेरझोरामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्दै १५ शय्याको अस्पताल बनाउने भनेर परिपत्र जारी गरेको भए पनि चार महिना बितिसक्दासमेत गाउँपालिकाले ढिलासुस्ती गरेको आरोप लगाए ।

अर्का स्थानीय बासिन्दा तिलेश्वर चौधरीले गाउ“पालिकाको तर्फबाट आनाकानी भएकाले काम अगाडि नबढेको बताए । सरकारले प्रत्येक स्थानीय तहमा अस्पताल निर्माण गर्ने लक्ष्य अनुरूप गढीको सतेरझोरामा १५ शय्याको अस्पताल निर्माण गर्ने भएकाले आफूहरू खुशी भएकोमा काममा ढिलाइ भएकोले निराशा छाएको अर्का स्थानीय भुलेश्वर चौधरीले बताए ।
स्थानीय समुदायले सतेरझोरामा १५ शøयाको अस्पताल निर्माण भएमा गढी गाउँपालिकासहित बर्जु र हरिनगर गाउँपालिका

आसपासक्षेत्रका नागरिक पनि लाभान्वित हुने भएकाले अस्पताल जस्तो विषयमा गाउँपालिकाले तत्काल निर्णय गर्नुपर्ने माग गरेका छन् । सरकारले सुनसरीको प्राथमिक स्वास्थ्य केन्द्र मधुवन, भोक्राहा स्वास्थ्य चौकी, देवानगञ्ज स्वास्थ्य चौकी, बक्लौरी स्वास्थ्य चौकी, इटहरी प्राथमिक स्वास्थ्य केन्द्र, सतेरझोरा हरिनगरा प्राथमिक स्वास्थ्य केन्द्र, हरिनगरा प्राथमिक स्वास्थ्य केन्द्रसहित ७ स्थानमा १५ शय्याको अस्पतालका लागि छनौट गर्दै विवरण उत्पलब्ध गराइदिन सम्बन्धित स्थानीय तहलाई परिपत्र गरेको थियो ।

सरकारले पठाएको परिपत्रमा न्यूनतम् क्षेत्रफल १३ कठ्ठा (९ रोपनी) हुनुपर्ने, उक्त जग्गा स्वास्थ्य संस्थाको नाममा हुनुपर्ने, हालको संरचनाको अवस्था विवरण, प्राथमिक अस्पतालको निर्माणस्थलसम्म मोटरबाटो पुगेको वा नपुगेको विवरण खुलाई पठाउन भनिएको थियो । १५ शय्याको प्राथमिक अस्पताल निर्माणको लागि ‘स्वास्थ्य भवन पूर्वाधारको डिजाइन तथा निर्माणसम्बन्धी निर्देशिका, २०७४’ ले तोकेको आवश्यकतालाई मध्यनजर गरी स्थानीय तह प्रमुख, स्वास्थ्य संस्था प्रमुख, स्वास्थ्य सेवासँग सम्बन्धित अन्य कर्मचारीहरू, व्यवस्थापन समितिलगायत अन्य सरोकारवालाहरूसँग बैठक बसी आवश्यकता पहिचान गरी हाल रहेको संरचनामा थप आवश्यकताहरू एकिन गर्न भनेको र सोहीअनुसारको विवरण पठाउन भनेको थियो ।

अस्पतालका लागि दुई स्थानमा निःशुल्क जग्गा प्राप्त भए पनि गढी गाउँपालिकाको केन्द्रमा पर्ने वडा नं. ६ कै मझाउमा र औरावनी चोकमध्ये कहाँ बनाउने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको गाउँपालिका प्रमुख श्रीप्रसाद यादवले बताए । उनले सतेरझोरामा अस्पताल निर्माणका लागि गाउँपालिकाले कार्यपालिकामातहत निर्णय गरेर पहल गरिरहेको बताए । अस्पताल निर्माणका लागि सबै प्रक्रिया पूरा भएको पनि ‘मास्टरप्लान’ तयार गर्न नसकिएको भन्दै केही ढिलाइ भएको स्वीकारे ।