आज यात्रा छ । तर अनोठौ केही छैन । यात्राहरु त हिजो पनि त थिए । भोलि पनि त हुन्छन् । जीवनको शून्य पनि यसरी नै हुन्छ । शून्यतामा विलिन हुने यात्रा हो र ? हैन नि ! यस्ता अनेकन कुरा सोच्ने फुर्सद छ त ? कसैलाई छैन । जीवन त आफ्नै गतिमा चलिरहन्छ । भ्रम बोकेर, आदर्श बोकेर । तर फेरि पनि यात्रा त टुङ्गिँदैन । गर्नु नै छ ।
रमेश सरको फोन आउँछ–“हामी रेडी, तपाईं नि ?”
“म पनि तयारी नै हो”–जवाफ फर्काउँछु ।
सवाल–जवाफ मोबाइलमा केहीबेर चल्छ । अझै केही समय कुर्नु छ । म हतारिएको छु, समाचार बनाउन । ल्यापटपका किबोर्डमा एकतमासले मेरा आँैलाहरु नाच्छन् । केही मानिसहरु मतिर पल्याकपुलुक हेर्छन् । म आफ्नै ‘रिदम’ मा बगिरहेछु, निरन्तर निरन्तर । जीवन बगेसरि ।
धरानको परिचय बोकेर बसेको घण्टाघर बज्न छाडेको धेरै भएको छ । धरान आउनेहरुले घण्टाघर चढ्छन् नै । ती घण्टाघर चढ्नेहरुले पनि मेरा कर्मतिर आँखा डुलाउँछन् । सोच्दा हुन् “कति बिजी छ है मान्छे ।” मान्छे यस्तै यस्तै हुन्छ । ती घण्टाघर चढेर मन आल्हादित बनाउनेहरु पनि व्यस्त नै छन् । एक छिनमा कहाँ पुग्नु छ तिनीहरुलाई । समय जसरी दौडन्छ तिनीहरु पनि त्यसरी नै दौडिरहन्छन् । समयका दासी हौ हामी । यसै भनेर मनलाई बहलाउँछु र फोन आउने आशामा निरन्तर औँलाहरु किवोर्डमा नचाइरहन्छु ।
किवोर्डमा औँला नाच्न थालेको पनि दुई दशक पुग्न लागेछ । यी दुई दशकमा मेरा औंलाका पत्र पत्र खिइसके । म पनि एउटा उमेरबाट अर्को उमेरमा प्रवेश गरिसकेँ । औँलाका निरन्तर चलाइमा मेरा जीवनका पाइलाहरु सहज–असहज बन्दै गइरहेका छन् । जतिबेला मेरो औँलाहरु कुटो, कोदालो र अनौहरुमा बिते । ती दिनहरु पल पल मेरा मानसपटलमा नाचिरहेका छन् ।
मेरा जीवनहरुको दौडाइ निरन्तर छ । घरिघरि फोनमा नजर लगाउँछु । कसैलाई फोन गर्छु । उताबाट केही सूचना सङ्कलन गर्छु । ती सूचनाहरुलाई किबोर्डमा उतार्छु र नयाँ बनाउँछु । जहाँ भोलिका लागि सुखद् समाचारहरु बन्दै छन् । ती समाचारहरु हेरेर कोही मख्ख हुनेछन् । म पनि मख्ख हुनेछु । यस्तै यस्तैगरी मेरा झण्डै दुई दशकहरु बित्न लागेका छन् । घरि सोच्छु–“उहाँहरु आउनै त लाग्नुभएन ।” तर “अहँ ! छैन ।”
चिसो हावाले मेरा अङ्गप्रत्यङ्गहरु एकतमासले छामेर जान्छन् । ती हावासँग म लुकामारी गरिरहन्छु । ती हावाले पनि मसँग लुकामारी खेलिरहन्छन् । हावा के हो ? पानी के हो ? माटो के हो ? यसको स्वाद र आनन्द के हो ? कसैले मलाई आजसम्म ठीक उत्तर दिन सकेको छैन । कतैबाट सन्तोषजनक उत्तर पनि पाएको छैन । थुप्रै ठेलीहरु पढेको छु । गमेको छु । तर कहीँकतै पनि यसको स्वादिलो उत्तर आएको पाउँदिन ।
हो, यात्रामा यस्ता हावाहरुसँग, पानीहरुसँग, शीतहरुसँग लुकामारी खेलेको छु । आज पनि चिसोसँग आनन्द लिन जाँदै छु । मसँग हुनेछन् जेन जी पुस्ताहरु । जो जीवनबारे गम्भीर छैन । तर पैसाबारे गम्भीर छ । उनीहरु तत्क्षण आर्थिक लाभ लिन चाहन्छन् । तत्क्षण सबै चिज प्राप्त गर्न चाहन्छन् । उनीहरु आफ्ना आफन्त, नातागोता, पढाइ आदि आदिबाट कदापि चिन्तित छैनन् । छन् त केवल आफ्नो जीवनलाई सुखद् बनाउने होड । यो होडमा उभिएका जेन जीहरुबारे म चाहिँ किन गम्भीर बन्नु है !
जेन जी । जसले भदौ २३ र २४ गते नेपालमा ठूलो आँधिबेहरी सिर्जना गरे । कतिपयले यसलाई घटना मानिरहेका छन् । कतिपयले यसलाई आन्दोलन त कतिपयले विद्रोह । आखिर के चाहिँ हो ? सत्तापक्षको आँखाबाट यो घटना होला । जेन जी पुस्ताको आँखाबाट आन्दोलन होला । सत्तापलट गरिदिएको हिसाबमा बुद्धिजीवीहरुले विद्रोह मान्लान् । आखिर जुन एङ्गलबाट हेरे पनि यो आन्दोलन एउटा आवश्यकताको उपज हो ।
मोबाइलमा घण्टी बज्छ टिरिरिङ.... टिरिरिङ... । हेलो ! उताबाट उत्तर आउँछ–“छिटो आउनू न ? अगाडि आइसक्यौँ । गाडी रोक्न दिँदैन ?” म ल्यापटपको झोला बोकेर दगुर्छु । मानौँ, मैले नयाँ खजना फेला पारेको छु । हस्याङ्फस्याङ गर्दै बसको ढोकानिर पुग्छु । आफ्ना सामानहरु राख्छु । बसमा नजर लगाउँछु– मैले सोचेको भन्दा धेरै जेन जीहरु त्यहाँ उपस्थित छन् ।
गाडीले रफ्तार समात्छ । उकालै उकालो । ‘वान नाइट स्टे’ का लागि यो गाडी धनकुटाको साँगुरीगढी गुड्दै छ । धरानबाट भेडेटार, नाम्जे हुँदै डाँडाबजार पुग्नु छ । गाडीमा एक प्रकारको हो–हल्ला छ । कोलाहलमय वातावरणमा म पनि रम्न पुगेको छु । कोलाहल मेरा लागि स्वतन्त्रता छिन्ने अस्त्र हो । यो कोलाहलले मेरो मौनतालाई चिर्छ । मेरा मानसपटललाई चिराचिरा पार्छ । तर मलाई आज अभ्यस्त बनाउनु छ किनकि त्यो वातावरणलाई म परिवर्तन गर्न सक्दिन । म त्यो वातावरण जस्तो बनिदिनु छ । यहाँ मैले सोचे जस्तो कुरा सबै पुग्छन् र ? पुगेको छ र ?
छैन भन्ने मलाई जति ज्ञान छ, अरुलाई नहोला । हो आज यस्तै यस्तै वातावरणबाट मैले आफ्नो एक दिने यात्रालाई सुगम बनाउनु पर्नेछ । आनन्दित बनाउनु पर्ने छ । धरानको जिरोपोइन्ट हुँदै बस उकालो लम्किन थाल्छ । एकोहोरो लम्काइले डाँडाबजारको दूरी छोट्याउँदै छ, क्रमशः क्रमशः । यी यात्रामा चालक दलसहित २७ जना उपस्थित छौँ । २३ जना विद्यार्थी छन् । ती विद्यार्थीहरुले वातावरणलाई थप रोमाञ्चित बनाएका छन् ।
तलामाथि तला भएका नागबेली सडकहरुमा गाडीमाथि गाडी खप्टिएको अनुभूति भइरहेको छ । बाहिरको दृश्य झनै रोमाञ्चित छ । गोधुलीलाई स्वागत गरिहेको छ । पश्चिम पहेँलपुर छ । स्निग्ध छ । कति सुन्दर हगि ! प्रकृतिको यो सुन्दरताले हामीलाई भ्रमित पारिरहेको छ । र पनि हामी रोमाञ्चित छौँ । आल्हादित छौँ–यो प्रकृतिसँग ।
मुस्कुराउनु छ यसरी नै जीवनभर । तर के त्यो सम्भव छ ? छ भन्नेहरु पनि होलान्, छैन भन्ने पनि होलान् । किनकि छ र छैनका बीच नै त जीवन अडेको छ । गाडीले उकालोमा धुँवाको मुस्लो फालिरहेको छ एकोहोरो रुपमा । केही मान्छेहरु सेल्फी खिच्दै छन् । केही भिडियो बनाउँदै छन् ? यी दृश्यहरुले भेडेटार नजिक छौँ भन्ने बुझ्न कठिनाइ पर्दैन । ती भिडियोहरु आज एउटा संसारबाट अर्को संसारमा पुग्छन् । टिकटक, फेसबुक, इन्स्टाग्राममार्फत् । हो, संसार कति सानो छ हगि ! यो संसारको सुन्दर पक्ष भनेकै सानो हुनु हो । सानो संसारमा उडान भर्नेहरुको कमी छैन ।
घरिघरि हामी सवार गाडी खप्टिएको जस्तो लाग्छ । मन अतालिन्छ । तर चालक एकदम ढुक्क छन् । साँघुरो बाटोमा पनि उनी निपुण छन्, यसै भनिरहेका छन् सह–चालक । ती भनाइले पनि एक प्रकारको आश्वासन मिलेको छ । भूइँकुहिरोहरु आँखै अगाडि नाच्न पुग्छन् । डम्म छेक्न पुग्छ । एकैछिनमा उज्यालो, एकैछिनमा डम्म । प्रकृतिको त्यो उपहारलाई मनबाटै नियाल्न पुग्छु । भूइँकुहिरोहरुले छुँदै जान्छ । सङ्गीतको ताल झैं आनन्दित बनाउँछ ।
केही क्षण गाडी रोकिन्छ । भूइँकुहिरोमा विद्यार्थीहरु एक एक गर्दै तस्बिर खिच्न पुग्छन् । तस्बिरहरु नै त हुन् जीवनका रमाइला पल । त्यसैले त होला धराने गायक सविन राईले गाएको–“यो तस्बिर माया गर्नेहरुलाई....।” गीतहरु कति सुन्दर हुन्छन् । रमाइला लाग्छन् । जीवनका पल पललाई समेट्छन् । यसैले त कतिपय गीतहरु कालजयी भएका होलान् ।
यो डाँडाबजार नजिकैको ठाउँ हो । अब १० मिनेटमा पुगिन्छ । कसैबाट यस्तै आवाज सुनिन्छ । यसो भन्दा फेरि एकपटक वातावरण कोलाहलमय बन्छ । म फोनमा औँला घुमाउन पुग्छु । “हामी आइपुग्न लाग्यौँ है ।” उताबाट “हुन्छ हुन्छ” भन्ने जवाफ आउँछ । नागबेली बाटोहरु छिचोल्दै डाँडाबजार सामुदायिक होम–स्टेअगाडि गाडी घ्याच्च रोकिन्छ । सबै आ–आफ्ना झोला बोकेर बाहिर निस्कन्छन् । हामी पनि निस्कन्छौँ । हामी बस्ने कोठाहरु चहार्छौं । सबैभन्दा सुरूमा छात्राहरुका लागि दुईवटा कोठा हेरिन्छ । उनीहरु त्यस कोठामा फिट हुनेछन् । नौ जनाको समूहमा रहेका उनीहरुले अट्ने सङ्केत गर्छन् । रमेश सरले “ल ठीक छ” भन्ने जवाफ दिन्छन् ।
फेरि छात्रहरुका लागि कोठा हेरिन्छन् । सबै सबैका लागि व्यवस्थित भएपछि रमेश सर ढुक्क हुनुहुन्छ । आज रातभरि आनन्द लिई भोलिपल्ट फर्किनु छ । केही क्षणपश्चात् मासु पोल्ने काम सुरू हुन्छ । खानपिनको तयार गर्दै हुनुहुन्छ–होम–स्टेकी साहुनी । पाँच केजी स्थानीय कुखुरा ढलेको छ । सेकुवाका लागि थप १० केजी मासु छ ।
‘क्याम्पफायर’ गरेर बस्ने चाँजोपाँजो मिलेको छ । छेउछाउमा पनि त्यस्तै त्यस्तै गतिविधि भएको सुन्न सकिन्छ । डाँडाबजार जहाँ १३ वटा होम–स्टे छन् । यी होम–स्टेहरुले आन्तरिक पाहुना र विदेशी पाहुनालाई आश्रय दिन्छन् । यहाँका केही घरहरुले आफूलाई अभ्यस्त बनाउँदै छन् । यहाँको ध्वजेडाँडा, लाप्चेटारको ठूलो वरको रूख हेर्नका लागि पर्यटक आइपुग्छन् । ध्वजेबाट हिमाल र सूर्योदय हेर्न सकिन्छ । यो हेर्ने रहर भएकाहरु यहाँ आइपुग्छन् र बिहान झिसमिसेमा ध्वजेको टावर चढ्न पुग्छन् ।
करिब आधाघण्टाको हिँडाइपछि पुगिन्छ ध्वजे । तर हिँड्ने र नहिँड्नेको लाम छ हाम्रो टोलीमा । विद्यार्थीहरुमा त्यहाँ पुग्नसक्ने हिम्मत देखिँदैन । हिम्मत पनि कस्तो चिज रहेछ ? हिम्मतसँग अनुशासन जोडिएको हुन्छ, दृढ सङ्कल्प जोडिएको हुन्छ । जो अनुशासित छ, त्यसले आफूलाई ध्वजेको डाँडामा पु¥याउँछ । दृढ सङ्कल्पले ध्वजे डाँडा पु¥याउँछ र ती यादहरु बनेर सधैँ बसिरहन्छ । जो पुग्दैनन् उनीहरुका पनि यादहरु त हुन्छन् तर ध्वजेको याद नभएर पुग्न नसकेको याद । अनुशासित हुन नसकेको याद । दृढ सङ्कल्प हुन नसकेको याद । यादहरु रमाइला र नरमाइला हुन्छन् हगि वर्षा, हगि इसिका ।
अब फेरि त्यही समय र त्यही वातावरण हुन्छ र ! समय त फेरिसकेको हुन्छ । समयले अर्को कोल्टे मार्छ । त्यहाँ फेरि फेरि पुग्न कयौँ वर्षहरु कुर्नुपर्छ । तिमीहरुलाई थाहा छ ? समय सधैँ उही र उस्तै गतिमा दौडँदैन । यो त प्रहर प्रहरमा फरक भएर दौडन्छ । बिहानको साढे ७ बजेतिर मात्रै तिमीहरु उठेका होइनौ ? हो नि ! केही यसै भन्दै थिए । कत्तिले निन्द्रा नपुगेको कुरा मुखबाट ओकलिरहेका थिए । हो, निन्द्रा सधैँ कहाँ पुग्छ र ! निन्द्रा तिम्रो दुस्मन हो ? जसले तिम्रो अगाडिको मार्गलाई रोक्छ । जसले निन्द्रा जित्छ, उही संसारमा सफल र महान् बन्छ ।
संसारमा सबै महान् छन् । अहँ ! छैनन् । हो महान् तिनै छन्, जसले सबै सबै कुरालाई जितेर अगाडि बढेका छन् । दृढ सङ्कल्प, अनुशान, मिहिनेतले नै सफल भएका हुन् । सफल तिनै हुन्छन्, जसले आफूलाई अनुशासित बनाएको हुन्छ । मिहिनेत र परिश्रमी बनाएको हुन्छ । ती महान् मान्छेहरुको जीवनी पढेका छौ ?–“पढ त” । पढेपछि थाहा हुन्छ कि म कहाँ छु भन्ने ।
तर तिमीलाई निन्द्राले ती पढ्ने कुराहरु भुलाइदिएको छ । निन्द्राले तिमीलाई मस्त बनाइदिएको छ । निन्द्राले तिमीलाई साँचो अर्थमा स्खलित बनाइदिएको छ । कहाँ छ निन्द्रा ? तिम्रो आँखामा भएको निन्द्रा त तिम्रो अल्छिपनाको अस्त्र हो । यो अस्त्र जहिलेसम्म बोक्छौ । तिमी आफू पछारिएको थाहा पाउँदैनौँ ।
कहाँ पुग्यौँ हामी । भन्दा भन्दै अर्को ठाउँमा पुगे जस्तो भयो हैन । ती ध्वजे चढ्ने सिँढीहरु । एकपछि अर्को आउने सिँढीका तहहरु । ती तहहरु सबै नाप्न सक्यौँ र ? अहँ ! “कति गाह्रो, म त नजाने सर” यसै भनेका होइनौ तिमीहरुले । अब फेरि सम्झ त । “तिमीहरु फेरि त्यहाँ पुग्छौ ।” “पुग्छौँ सर ।” तर तिमीहरु म र रमेश सरसँगै पुग्दैनौँ । तिमीहरुका हरेक साथीसँग पुग्दैनौँ । पुग्छौँ त केही साथीसँग । केही आफन्तसँग । केही मित्रजनसँग । तर हामीसँग पुग्दैनौँ ।
अर्को यात्रा पनि त छ नजिकैको । त्यहाँ त बस नै पुग्छ नि हगि । करिब १२ बजे चौबिसे राजारानी तालका लागि बस छुटेको छ । पहेँलो बस देख्नेहरुले भन्छन्–“स्कुलको बस । कुन स्कुल रहेछ ?” उनीहरुको जिज्ञासा बसमै टाँसिएको फ्ल्यास बोर्डले मेटाएको छ । बस राजारानी तालको गेट नजिकै गएर घ्याच्च रोकिन्छ । विद्यार्थीसँगै हामी पनि उत्रिन्छौँ र त्यहाँ केही क्षण आनन्द लिन्छौँ । “पहिलाभन्दा फेरिएछ” मेरा मानसपटलमा यी कुराहरु नाच्छन् । त्यहाँ थुप्रै थुप्रै मान्छेहरु आएका छन् । अलग अलग पहिरनमा सजिएका छन् । सुन्दरसुन्दरीहरु फोटो खिच्न र भिडियो बनाउन मग्न छन् ।
रङ्गीचङ्गी दृश्यहरुले खाली भएको छ मानसपटल । मानसपटल रित्तिएको छ नयाँ दृश्यहरुले । मनहरु आनन्दित छन् । मनोरम छन् । केही क्षणपछि फर्किनु पर्छ भन्ने थाहा पाउँदापाउँदै पनि एकटकको आनन्द छ । दृश्यहरु यसरी सधैँ कहाँ देखिन्छन् । यही दृश्य फेरि भोलि देखिन्छ र ? पक्कै देखिँदैन । दृश्य एउटै जस्ता लाग्छन् तर कहिले पनि दृश्य एउटै रहदैन । यो समयको रफ्तारसँगै बदलिन्छ । फेरिन्छ । आँखाका दृश्यहरु फेरिए झैँ ।
तपाईं अहिले कुन दृश्य सम्झिरहनु भएको छ ? यो पढिरहँदा केही दृश्यहरु त सम्झिनु भयो होला । एकछिन रोमाञ्चित हुनुभयो होला । पुग्नेहरु रोमाञ्चित हुने नै भए । नपुग्नेहरु पनि रोमाञ्चित हुनुस् है ! “हुन्छ ।” खै उत्तर त पाइँन । पर्खाइमा रहन्छु ल !
































