तीज पर्व सामान्य हर्षोल्लासका निमित्त मनाउने चाड मात्र नभएर यसको आफ्नै सामाजिक, सांस्कृतिक, आध्यात्मिक महत्व छ । पूर्वीय वैदिक सनातन धर्म परम्पराका विभिन्न पौराणिक एवम् आध्यात्मिक ग्रन्थहरूमा यसको महिमा उल्लेख गरिएको छ । स्कन्द पुराण र भविष्योत्तर पुराणमा वर्णन भए अनुसार स्वयं माता पार्वतीले पनि नारी जातिको आफ्नो अनुकूलको योग्य वर छान्न पाउने जन्मसिद्ध नैसर्गिक अधिकारलाई व्यावहारिक रूपमा स्थापित गराउन तपस्या (सत्याग्रह र शान्ति पूर्ण आन्दोलन) गरेर आफू अनुकूल वर छानी व्यावहारिक रूपमा समाजमा स्थापित गरेको देखिन्छ । त्यही किम्वदन्ती अनुसार आज हिन्दू महिलाहरू निराहार व्रत बसी श्रद्धापूर्वक शिवको पूजा गर्दछन् ।

चार दिनसम्म मनाइने तीज पर्वको आज मुख्य दिन मानिन्छ । तीजको दिन निराहार व्रत बस्दा अघिल्लो मध्यरातमै मिठा परिकार बनाएर दर खाने चलन छ । पूजाआजा सकेपछि तीजका गीतमा नाचगान गर्ने चलन छ । तीज पर्वलाई महिलाहरूको मनको भडाँस पोख्ने अवसरको रूपमा लिने गरिन्थ्यो । महिलाको विवाह भएपछि घरमा काम अत्याधिक गर्नुपर्ने, माइत आउन फुर्सद नहुने र सासु, नन्द, आमाजूहरूबाट हप्की दप्की खानुपर्ने पुरानो परिस्थितिमा एक दिन भए पनि माइतीले चेलीलाई लिन पुगेर एक दिन भए पनि मिठा मिठा खानेकुरा खुवाएर पराई घरमा भोग्नु परेको मनका वह पोख्ने पर्वको रूपमा तीजलाई लिने गरिएको थियो । तर यति बेला त्यस्तो परिस्थिति छैन् । घरमा विगतको जस्तो दुख गर्नु पर्दैन । महिला पुरुषलाई समान अधिकारको वकालतसँगै यस्ता विकृतिहरू भने हटेका छन् ।

आधुनिकतासँगै तीजका आयामहरू फेरिएका छन् । नाचगान गर्ने रमाइलो गर्ने, व्रत बस्ने धार्मिक तथा सांस्कृतिक पक्षसँगै पछिल्लो समय तीजलाई भड्किलो बनाउने काम पनि भइरहेको छ । विपन्न परिवारका लागि तीज अभिशाप बन्दै गएको प्रति सरोकारवालाहरू चिन्तित हुनुपर्ने अवस्था पनि आएको छ । जे भए पनि सामाजिक सद्भाव, मेलमिलाप एवम् समाजका विविध विसङ्गति र सामाजिक अधिकारलाई उजागर गर्ने पर्वको रूपमा तीजलाई स्थापित गर्नु पहिलो आवश्यकता हो । यो चाडले सांस्कृतिक रीतिरिवाज परम्परा एवं गीत सङ्गीत अनि भेषभुषालाई संरक्षण र सम्वद्र्धन गर्ने उत्सवको रूपमा विकास गर्नुपर्छ । राम्रो सारी तथा गहना प्रर्दशन गर्ने चाडको रूपमा नभई तीजमार्फत् सांस्कृतिक पहिचान गराउने काम गर्नु उचित हुनेछ । तीजको अवसरमा महिलाहरूलाई आत्म निर्भर बनाउने, उत्पादनमूलक काममा लगानी गर्ने वातावरण बनाई तीजलाई एउटा महिलाहरूको सांस्कृतिक उत्सव बनाउनु पर्दछ । हाम्रो वैभवशाली संस्कार, संस्कृति एवं परम्परालाई जोगाई राख्न तीजलाई गहना र सारी प्रर्दशन होइन, सांस्कृतिक धार्मिक उत्सवको रूपमा विकास गर्नु वाञ्छनीय हुनेछ ।