विराटनगर/ मोरङको सुन्दरहरैंचा नगरपालिका–११ बेलेपुरकी सलोजा खवासलाई जातीय पोसाक बनाउन भ्याइनभ्याइ छ । उनी चौधरी र खवास सामुदायको जातिय पोसाक बनाउन व्यस्त हुन्छिन् । आफनै बुटिक पसलमा विहानदेखि साझसम्म उनी काममा तल्लीन हुने गरेकी छन् ।
घरको दैनिक व्यवस्थापन सहज हुने बुझेर बुटिक पसल खालेको उनले अहिले यसैलाई आम्दानीको दरिलो माध्यम बनाएकी छन् । अर्डर धेरै आएकोले जातीय पोशाक बनाउन अहिले भ्याइनभ्याइ हुने गरेको उनले बताइन् । ‘यो सिजन महिना हो । अर्डर पनि धेरै आएको छ,’ तान बनाएर आचरमा बुट्टा हाल्दै सलोजाले भनिन्, ‘हामीले दुई प्रकारकाले जातीय पोशाक बनाउने गरेका छौं ।’ उनका अनुसार तान लगाएर हातले र मेसिनबाट जातीय पोशाक बनाउने गरेको जानकारी दिइन् ।
‘हातले बनाउँदा धेरै मेहनत लाग्ने भएकाले खर्चिलो पनि छ,’ उनले भनिन्, ‘हातले बनाएको टिकाउ पनि हुने गरेको छ । त्यही भएर पनि ग्राहकहरू हातबाट निर्मित जातीय पोशक बनाउन अर्डर दिन्छन् ।’ चौधरी र खवास सामुदायका महिलाहरूले लगाउने जातीय पोशाकलाई उनीहरूको भाषामा ‘आचरा’ भन्ने गरिन्छ । सलोजासहित उनका दुई जना साथी मिलेर बेलेपुरमा खोलिएको बुटिक पसलमा महिलाहरूले लगाउने जातीय पोसाकको अर्डर बढी आउने गरेको छ ।
उनले अर्डर अनुसार पोसाक बनाउने गरेकी छन् । घरेलु तथा साना उद्योगले महिलाहरूलाई उद्यमशील बनाउने उद्देश्यले दिएको तीन महिनाको तालिमपछि बुटिक पसल खोलेकी हुन् । बुटिक पसल खोलेपछि अहिले मनग्गे आम्दानी गर्न सफल भएकी छन् । परिवारको गुजरा पनि यही व्यवसायबाट सञ्चालन गरिएको उनले बताइन् । ‘विभिन्न चार्डपर्वहरू पनि नजिकै आउँदै छन्’ उनले भनिन्, ‘त्यही भएर जातीय पोसाक बनाउनेको अर्डर पनि आउन थालेको छ ।’ थारू सामुयका महिलाहरू चार्डपर्व, मेला र तीज पर्वहरूमा बढी मात्रामा आफ्नो जातीय पोसाक लगाएर हिँडडुल गर्दछन् ।
त्यसैले पनि यस बेलामा अर्डर बढी आउने गरेको उनले बताइन् । विशेष गरी वैशाख, जेठ असार र असोजमा पोसाक बनाउने अर्डर धेरै आउने गरेको उनले बताइन् । उनले तीन हजारदेखि १० हजार रुपैयाँसम्मको जातीय पोशाक बनाउने गरेकी छन् । ‘डिजाइन अनुसार मूल्य निर्धारण हुने हो,’ उनले भनिन्, ‘बढी डिजाइन र बुटा भरिएकोलाई बढी मूल्य पर्दछ ।’ चार मिटर कपडाको आचरा बनाउने गरेका छन् । ‘कपडा पनि आफैले ल्याएर राखेको छु,’ उनले भनिन्, ‘आचरा बनाउन आउने ग्राहकको रोजाइमा बनाउने गरेको छु ।’ एउटा आचरा तयार हुन एक हप्ता लाग्ने गरेको उनले बताइन् । उनका अनुसार खर्च कटाएर मासिक २० देखि ३० हजार रुपैयाँ आम्दानी हुने गरेको जानकारी दिइन् ।
सलोजासँगै अहिले सुन्दरहरैंचा नगरपालिका–१ की सरिता खवास र सुजता खवासले पनि बुटिकबाट राम्रो आम्दानी गर्दै आएकी छन् । उनीहरू पनि जातीय पोसाक बनाउँदै आएकी छन् । उनीहरू एकै स्थानमा भेला भएर जातीय पोशाक अन्य कुर्ता, सुरुवाल पनि बनाउने गरेका छन् । तानमा कपडा टाँगेर पोते, धागो र सिताराले रङ्गीन बनाउँदै आगामी दिनलाई यही व्यवसायसँग जोड्ने उनीहरू सबैको सोच रहेको छ ।
घरको चुलोचौकामा मात्र व्यस्त हुने आदीवासी जनजाति महिलाहरू तालिमपछि आत्मनिर्भर हुँदै गएका छन् । ‘फेशनको दुनियाँ भएकोले बुटिक भर्ने व्यवसाय फस्टाउँदो छ’ सरिता खवासले भनिन् । थोरै लगानीले धेरै आम्दानी दिने व्यवसायका रूपमा बुटिक व्यवसाय चिनिदै आएको छ । बजारमा महिला प्रायोजनका कपडाहरू सादाभन्दा बढी बुट्टेदारको माग छ भने तिनको मूल्य पनि उच्च रहेको छ ।