रङ्गेली/ सडक सबैको लागि हो । यसको प्रयोग गर्ने सबैलाई अधिकार छ । यसो भन्दैमा सबै एकैपटक सडकमा ओर्लिए के होला ? यान्त्रिक सवारीसाधन, पैदल र साइकलयात्री राजमार्गमा सँगै यात्रा गर्दा दुर्घटनाको जोखिममा को बढी होला ? राजमार्गमा यान्त्रिक सवारी साधनको चाप बढेसँगै साइकल चालक दुर्घटनाका उच्च जोखिममा परेका छन् । यसको समाधान के छ ?

ग्रामीण क्षेत्रबाट मजदुरीको लागि शहरी क्षेत्रमा आउने मजदुरहरू राजमार्गमा सवारी चाप बढेसँगै दुर्घटनाको उच्च जोखिममा पर्ने गरेका छन् । ग्रामीण क्षेत्रबाट सुनसरी–मोरङ औद्योगिक करिडोर, विराटनगर–कटहरी र विराटनगर– विराटचौक औद्योगिक करिडोरमा साइकलमा काम गर्न आउने मजदुर दुर्घटनाको जोखिमा रहेका छन् ।

वार्षिक सरदर ७ देखि १० जनासम्म साइकलमा आउने मजदुरले दुर्घटनामा परेर ज्यान गुमाउने गरेको मजदुर सङ्गठनहरूको तथ्याङ्कमा छ । उनीहरूलाई ठूला सवारी साधनले ठक्कर दिने गरेको छ । अङ्गभङ्ग हुनेको सङ्ख्या दोब्बर नै रहेको छ । उनीहरू मात्र नभएर सबै साइकलयात्रीहरूको सुरक्षाको लागि साइकल लेन अत्यन्त जरुरी भएको छ ।

उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गत रानी–विराटनगर–दुहबी –इटहरी क्षेत्रमा ५ सय बढी उद्योगहरू छन् । पूर्वतर्फ विराटनगर–कटहरी–रङ्गेली क्षेत्रमा पनि ५० भन्दा बढी उद्योग छन् । यता उत्तर–पूर्वमा पर्ने विराटनगर–विराटचौक क्षेत्रमा पनि दुई दर्जन उद्योग छन् । साथै विराटनगर महानगरपालिकाभित्र पनि साना–ठूला सयौं उद्योगका साथै व्यापारिक प्रतिष्ठान छन् ।

सबै उद्योग र व्यापारिक प्रतिष्ठानहरूमा गाउँ–गाउँका मजदुरहरू साइकलमा काम गर्न आउने–जाने गर्दछन् । सीमावर्ती भारतीय क्षेत्रहरूबाट पनि सयौँ मजदुरहरू साइकल चढेर काम गर्न आउने–जाने गरेका छन् ।
उद्योग र व्यापारिक प्रतिष्ठानमा ग्रामीणक्षेत्रबाट साइकलमा आउने मजदुरहरू साइकल लेनको अभावमा वर्र्षौंदेखि दुर्घटनाको जोखिम मोलेर यात्रा गरिरहेका छन् ।

सधैँ यातायातको चाप र जाम हुने कोशी राजमार्गअन्तर्गतको सुनसरी, मोरङ, कटहरी रङ्गेली र विराटनगर–विराटचौक औद्योगिक करिडोरमा काम गर्ने हजारौं साइकलयात्रीले जोखिमयुक्त यात्रा गरिरहे पनि राजमार्गमा साइकल लेन निर्माणमा कसैको चासो छैन ।

मजदुर सङ्गठनहरूका अनुसार सुनसरी–मोरङका उद्योगमा २० हजार बढी मजदुर काम गर्छन् । तीमध्ये १० हजारजति राजमार्गमा साइकल कुदाएर काम गर्न जाने आउने गर्दछन् । तर, साँघुरो र यातायातको जाम भइरहने राजमार्गमा अलग्गै साइकल लेन नहुँदा उनीहरू सधैँ जोखिममा रहेका छन् ।

विराटनगरसँग जोडिएको कोशी राजमार्ग मात्र नभएर कटहरी, रङ्गेली र विराटचौकको मार्गमा सार्वजनिक साना–ठूला मात्र नभएर निजी यातायात पनि उत्तिनै बाक्लो कुद्ने गर्दछन् । देशको चौथो ठूलो भन्सार नाका भएकोले मालबाहक टूक तथा कन्टेनरहरूको बाक्लो आवत–जावत हुने गर्दछ । जसले गर्दा राजमार्गमा साइकलमा यात्रा गर्ने यात्रीहरू दुर्घटनाको उच्च जोखिममा हुन्छन् । राजमार्गमा साँझ बिहान यात्रा गर्ने साइकलयात्रीमध्ये धेरै करिडोरका उद्योगमा काम गर्ने मजदुरहरू रहने गर्छन् ।

मजदुरहरूलाई दुर्घटनाबाट जोगाउन राजमार्गमा साइकल लेन अति आवश्यक भएको अखिल नेपाल ट्रेड युनियन महासङ्घ एक नम्बर प्रदेशका उपाध्यक्ष उपेन्द्र रायले बताए । करिडोर क्षेत्रमा साइकल लेनसहितको सडक निर्माण गर्न आफूहरूले संयुक्तरूपमा प्रदेश सरकारसँग आग्रह गरेको उनले बताए ।

समाजवादी ट्रेड युनियन महासङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष तेजलाल कर्णका अनुसार साइकल लेन नहुँदा दुहबी–इटहरी, रानी–विराटनगर, विराटनगर–विराटचौक र कटहरी–रङ्गेली सडक–खण्डमा बर्सेनी ७ देखि १० जनासम्म मजदुरहरू ठूला सवारी साधनले ठक्कर दिँदा मर्ने गरेका छन् ।

यसैले करिडोरमा काम गर्ने मजदुरहरूको सुरक्षाका लागि राजमार्गमा साइकल लेन अति नै आवश्यक भएको उनी बताउँछन् । ‘हामीले पटक–पटक साइकल लेन बनाउनुपर्छ भनेर माग गर्दै आएका छौँ’ उनले भने, ‘पैदल हिँड्ने फुटपाथ छैन, साइकल लेन भन्दै बेवास्ता गर्ने गरिन्छ ।’ मजदुरी गरेर जीवनयापन गर्ने मजदुरको अकालमा ज्यान गुमाउने क्रम रोक्न स्थानीय तहले साइकल लेनको निर्माण गर्नुपर्ने उनले बताए ।

अहिले सडक निर्माण, विस्तार र स्तरोन्नतिका काम भइरहेको भए पनि त्यसमा साइकल लेन भने जोड्न सकेका छैनन् । सडक निर्माणको मापदण्डमा साइकल लेनका लागि ठाउँ राख्नुपर्ने व्यवस्था भए पनि त्यो हुन सकेको छैन । सइकल लेन नहुँदा साइकलमा रमाउनेहरू पनि साइकलबाट टाढिँदै गएका छन् ।

स्तरोन्नति गरिएका सडक किनार व्यक्तिगत प्रयोजनमा ल्याउँदा र जथाभावी पार्किङ गरिदिँदा साइकलयात्रीहरू जोखिममा परेका छन् । सवारीको चाप, व्यस्त सडक र हेभी सवारीको तीव्र गतिका कारण मजदुर मात्र नभएर सबै साइकलयात्री दुर्घटनाको उच्च जोखिममा रहेका छन् ।