पथरी/ बसोबास गर्न थालेको करिब चारदशक पुग्न लाग्दा पनि मोरङको कानेपोखरी–६ सीताधापमा भूमाफियाको त्रास कायमै छ ।

पश्चिममा घना जङ्गल, पूर्वमा सीताधाप र डाँस खोलाको बीचमा बस्ती हुनुको पीडा जति छ, त्योभन्दा भूमाफियाको चलखेलको पीडा बढी नै रहेको छ ।

सीताधाप गाउँको कथा ३४ वर्ष अघिदेखि शुरु हुन्छ । त्यस गाउँको कथा अरूभन्दा फरक छ । गाउँका सबैभन्दा पुराना बासिन्दामध्ये पर्छन् जितबहादुर कार्की । उनका अनुसार २०४१ सालमा ९ घरपरिवार त्यहाँ आएर ढालफाँड गरी बस्ती बसेका हुन् ।

त्यहाँ बसोबास गर्ने सबै सुकुम्बासी भने होइनन् । उनीहरूले जग्गा खरिद गरी ढालफाँड गरी बस्ती बसाएका हुन् । अहिले कोशीटप्पु वन्यजन्तु आरक्षण पीडितको नाममा भूमाफियाहरूको खेल मोरङ र सुनसरीका माफियाको साथै विभिन्न कर्मचारीदेखि वन मन्त्रालयसम्म पुगेको छ ।

सीताधाप नै आउनुको छुट्टै रहस्यमय कारणहरू छन् । त्यहाँ बस्ती बसाउन पहल गर्ने व्यक्ति हुन् बलराम कार्की । कार्कीले उतिबेला कोशीटप्पु वन्यजस्नु आरक्षण पीडितहरूको परिचय–पत्र किनेर बिक्री गर्दर्थे । सरकारले कोशीटप्पुमा वन्यजन्तु अरक्षण राख्ने भएपछि त्यहाँ उठाइएका परिवारलाई अन्त व्यवस्थापन गर्नको लागि परिचय–पत्र वितरण गरेको थियो ।

उक्त परिचय–पत्र अधिकृत वारेसनामा गरेर किनबेच हुने गर्दथ्यो । बलराम कार्कीले शिवशरणलाल दास, छेदी चौधरीबाट कोशीटप्पु वन्यजन्तु आरक्षण पीडितको परिचय–पत्र किनेको उनका भाइ जितबहादुर कार्कीको भनाइ छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षण पीडितको परिचय –पत्र किनबेच गर्ने दलाल थिए बलराम कार्की । उनै कार्कीले आफ्नै भाइ जितबहादुर कार्कीलगायतलाई परिचय–पत्रमार्फत् जग्गा जोतभोग गर्न पाइने भनेपछि सीताधापमा २०४२ सालमा ९ परिवारले ढालफाँड गरेका थिए । ढालफाँड गर्नुअघि बलराम कार्कीले ९ परिवारबाटै कोशीटप्पु वन्यजन्तु आरक्षण पीडितको परिचय–पत्र किनेको भन्दै रकम लिएका थिए ।

यसरी रकम तिर्नेमा जितबहादुर कार्की, रामबहादुर अधिकारी, भूपालराज कार्की, इवराज कार्की, युवराज कार्की, खगेन्द्र कार्की, इन्दिरा कार्कीबाट बलरामले पैसा लिएका थिए । यहाँ आएकामध्ये जितबहादुरको तीन र रामबहादुर अधिकारीको एक बिघाबाहेक हरेक परिवारले दुई बिघा जग्गा पाउने गरी बलरामले पैसा लिएका थिए । त्यही बेला प्रतिबिघा ४० हजारसम्म खर्च भएको जितबहादुर कार्कीको भनाइ छ ।

रकम लिए पनि बलरामले आफ्नै नाममा २२ बिघा जग्गा रजिष्ट्रेशन दर्ता गराएका थिए । त्यहाँ आउनेमध्ये जितबहादुर कार्की र रामबहादुर अधिकारीलाई मात्र उनले पुर्जा दिएर पास गराइदिएका थिए । अन्य परिवारलाई जग्गा भोग गर्न मात्र दिएका थिए । उक्त जग्गा हालसम्म बलराम कार्कीले अन्य कसैलाई पास नगरिदिएको राममाया कार्कीले बताइन् ।

सीताधापको अधिकांश जग्गा बलराम कार्की र उनकी पत्नी इन्दिरा कार्कीको नाममा धनीपुर्जा रहेको छ । त्यहाँ २५ परिवार बस्दै आए पनि उनीहरू कसैलाई जग्गा पास गरिदिएका छैनन् । त्यहाँ नौ परिवारबाहेक कोही जग्गा किनेर आएका छन् भने कोही अर्को ठाउँको जग्गा धेरै पाउने आशामा सट्टा–पट्टा गरेर आएका छन् । बलराम र इन्दिरा कार्कीको नाममा रहेको उक्त जग्गा बिक्री वा साटेर त्यहाँ आएका ४ दशक बित्न लाग्दा पनि कसैलाई आफ्नो नाममा जग्गा पास गरिदिएका छैनन् ।

जग्गा आफ्नो नाममा पास गरिमाग्दा कहिले हुन्छ, आउँछु भनेर टार्ने त कहिले वनले मुद्दा लगाएको छ, अहिले पास हुँदैन भनेर टार्ने गरेको पीडित नारायणप्रसाद भट्टराईले बताए । भट्टराई २०४८ सालमा अढाई बिघा जग्गा किनेर त्यहाँ आएका हुन् । जग्गा भोगे पनि आफ्नो नाममा पास गरि दिएका छैनन् । जग्गाको फिल्ड अरूलाई बिक्री गरेर श्रेस्ता भने पास गरिदिएका छैनन् । कार्की आफैसँग फिल्ड (जग्गा) करिब ८ बिघा रहेको छ । बलरामका दुई छोरा र एउटी बुहारीले त्यहीँबाट लगाएको बाली उठाउने गरेका छन् ।

यतिलामो समयदेखि सीताधापमा दुःख दिँदै आएका बलराम कार्की भने सुनसरीको तरहरा र मोरङको विराटनगर बस्दै आएका छन् । आफूले पैसा लिएको जग्गा दिएपछि नामसारी गरिदिनु पर्नेमा उल्टै सरकार र सत्तारुढ दलका नेताहरूलाई भेटेर मेरो जग्गामा सुकुम्बासी बस्यो अन्त व्यवस्थापन गरिदिनुप¥यो भन्दै हिँड्ने गरेको नारायण भट्टराईको भनाइ छ ।

आरक्षण पीडितको परिचय–पत्र किनेको कारण अहिले बलराम कार्कीले आफू कोशीटप्पु वन्यजन्तु आरक्षण पीडित भएको भन्दै अन्त जग्गा व्यवस्थापन गर्न सरकारसँग माग गर्दै आएका छन् । कार्कीले सरकारका माथिल्ला निकाय र दलका नेताहरूलाई समेत अन्य स्थानमा जग्गा पाएमा कमिसन आउने भन्दै लोभ्याउने गरेको बुझिएको छ । पछिल्लो समयमा बलराम कार्कीले सीताधापका पीडितहरूलाई अर्को प्रलोभन देखाएका छन् ।

सीताधापमा रहेका पीडित केही व्यक्तिसँग आएर आफूहरू आरक्षणपीडित हो भनेर अन्त जग्गा माग गर्ने र पाएमा ३५ प्रतिशत दिने झुटो प्रलोभनमा पार्दै आएको पीडित नारायणप्रसाद भट्टराई बताउँछन् । ३५ प्रतिशत पाएर पुरानो जग्गा पनि आफै भोग गर्न पाउँछौ भन्दै आएको अर्का पीडित जितबहादुर कार्कीले बताए । जितबहादुरले ३ बिघा जग्गाको पुर्जा हातमा भए पनि थोरै मात्र भोग गरेको अरू सबै जङ्गल रहेको बताए पनि कसको कति जग्गा हो एकिन छैन ।

कोशी पीडितको नाममा जग्गा पाइहाले ६५ प्रतिशत काम गर्ने (दलाल, सरकारी कर्मचारी र दलका नेताहरू) व्यक्तिले पाउने एक प्रकारको सम्झौता भएको पीडितहरू बताउँछन् । ६५ र ३५ प्रतिशतको कुरा आफूलाई पनि आएको जितबहादुर कार्कीले बताए । सरकारले फिल्डमा गएर अध्ययन नगरी सीताधापको बारेमा निर्णय गर्न नमिल्ने जितबहादुर कटुवालको भनाइ छ । बलराम कार्कीसँग भने सम्पर्क हुन सकेन ।

सीताधाप कानेपोखरीको जङ्गलपूर्व दहीधाप उत्तर र पश्चिममा पथरीशनिश्चरे–१० जिरिखिम्तीदेखि पश्चिम–दक्षिण जङ्गलबीचमा पर्दछ । वरिपरि जङ्गलले घेरेर रहेको त्यो बस्तीमा २५ घरपरिवारको बसोबास रहेको छ । त्यो सानो बस्तीमा २५ बिघाभन्दा बढी जग्गामा खेती हुँदै आएको छ ।