रङ्गेली/ अझै पनि खबर कागज बोकेर आउने साइकलको घण्टीले शहर ब्युँझन्छ । बिहानै देशविदेशका खबर बोकेर आउने साइकलप्रतिको मोह भने हराउँदै गएको छ शहरमा । तराई साइकलको लागि उर्वर भूमि भए पनि यसबाट मुख मोड्नेको सङ्ख्या बढ्दै गएको छ ।
के शहर, के गाउँ तराईको उपयोगी साधन हो साइकल । धेरै परिवारको जीवन चलाउने सहारा साइकल बन्ने गरेको छ । यसलाई बिहान र साँझको समयमा सडकमा लस्करै गुड्ने साइकलको दृश्यले पुष्टि गर्छ । विराटनगर आसपासका उद्योगमा सयांै मजदुर साइकलमा काम गर्न आउँछन् । उनीहरू १० किलोमिटरसम्म टाढाबाट साइकलमा आउने गर्छन् । तराईमा साइकल यातायातको अभिन्न साधन नै हो । यसको सहयोगमा धेरै परिवारको गुजारा चलेको छ ।
गुणैगुण भएको साइकल चढ्न भने मानिसहरू हच्किन थालेका कारण साइकलप्रतिको आकर्षण घट्दै गएको छ । साइकल भनेको मजदुर र विद्यार्थीले मात्र चढ्ने साधन हो भन्ने मानसिकता बढेर गएको छ । आफूलाई मोटरसाइकलको खासै आवश्यक नभएको भए पनि सबै दामलीले चढेपछि आफूले पनि चढ्न थालेको विराटनगरका संयोग खत्रीले बताए । ‘शहरिया कामकाजीले साइकलबाटै आरामले काम गर्न सक्छन्’ उनले भने, ‘सबै मोटरसाइकल र स्कुटर चढ्ने भएपछि देखासिकीमा साइकल चढ्न छोडेँ ।’
सबै दृष्टिले साइकल सजिलो र आर्थिक हिसाबले किफायती साधन हो । मोटर साइकलभन्दा दुर्घटनाको दृष्टिले कम जोखिम भएकोले पनि साइकल नै आफ्नो रोजाइमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्राध्यापक महेन्द्र कर्ण बताउँछन् । उनको ३५ वर्षदेखि नियमित यात्राको सहयोगी साइकल बन्दै आएको छ । उनी कटहरी गाउँपालिका –२ का बासिन्दा हुन् । उनको घरबाट महेन्द्र मोरङ क्याम्पसको दूरी ५ किलोमिटर छ । उनी दैनिक कलेज आउ–जाउ साइकलबाटै गर्छन् । मोटरसाइकलभन्दा साइकल नै स्वास्थ्यका दृष्टिले राम्रो भएकोहुनाले पनि प्रयोग गर्ने गरेको उनी बताउँछन् । ५६ वर्षीय प्राध्यापक कर्ण साइकल प्रयोग गरेकै कारणले आफू स्वस्थ रहेको बताउँछन् । ‘ज्ञानको कमीको कारणले मानिसले साइकलको प्रयोग छाडेका हुन्’ उनले भने, ‘वैदेशिक रोजगारीबाट प्रशस्तै पैसा आएको छ, देखासिकीमा सबै मोटरसाइकल चढ्न खोज्छन् ।’ साइकल गरिबको साधन भन्ने धारण विकास भएको कारणले पनि चढ्ने घट्न थालेको उनले बताए ।
वातावरणीय दृष्टिले पनि साइकल गुणी साधन हो । यसको प्रयोगबाट प्रकृतिमा कुनै नकारात्मक प्रभाव पर्दैन । विराटनगर महानगरपालिकामा प्रशस्तै साइकल चढ्ने मानिस छन् । ती साइकल चढ्ने अधिकांश विराटनगर बाहिरबाट मजदुरी गर्न आउनेहरू हुन् । त्यसका अलावा विद्यार्थीहरूले साइकलको प्रयोग गर्ने गरेका छन् । विराटनगर महानगरपालिकाभित्र कत्तिले साइकलको प्रयोग गर्छन् भन्ने तथ्याङ्क छैन । विराटनगर महानगरपालिकामा गुड्ने साइकल अधिकांश मजदुर र विद्यार्थीका हुन् ।
स्वास्थ्यका लागि अति नै उपयोगी साधन भएको महेन्द्र मोरङ कलेजका अर्का प्राध्यापक वासुदेव मेहेता बताउँछन् । उनले पनि विगत लामो समयदेखि साइकलको प्रयोग गर्दै आएका छन् । ब्लडप्रेसरको समस्या भएको कारणले साइकल प्रयोगलाई नियमित गरेको उनले बताए । साइकलको प्रयोगबाट ब्लडप्रेसर नियन्त्रणमा रहेको उनी बताउँछन् । यति गुणी हुँदाहुँदै पनि साइकलको प्रयोग गर्नेको सङ्ख्या घट्दो रहेको उनले बताए ।
सरकारले ध्यान खै ?
तराईमा साइकल संस्कृतिकै रूपमा विकास भएको थियो । कुनै समयमा साइकल हुनु प्रतिष्ठाको विषय थियो । अहिले साइकल भएका घर भेट्न मुस्किल पर्ने अवस्था आएको छ । अहिले साइकलभन्दा मानिसको प्राथमिकतामा मोटरसाइकल र स्कुटर नै पर्ने गरेको छ । बरु अटो, सिटीसफारी चढ्छन् तर साइकल चढ्न चाहँदैनन् । यस्तो अवस्था सृजना हुनुमा सरकारीपक्षको अदूरदर्शिता हो । सरकारले चासो नदिँदा अहिले साइकललाई गरिबको साधन मान्न थालिएको छ ।
नेता, सरकारको नेतृत्व कर्ता र कर्मचारीले महँगा गाडीमोहको कारणले पनि यस्तो अवस्था सृजना भएको हो । विकास निर्माणको क्रममा साइकलको लागि बेवास्ता गरिँदा अहिले साइकल चढ्न नचाहनेको सङ्ख्या बढेर गएको छ । सडकमा साइकलको लागि लेनको व्यवस्था हुने भए साइकलप्रति आकर्षण बढ्ने थियो । नेतृत्व र सरकारमा रहेकाहरूले कमिसनको लोभले यस्तो नगरेको प्रध्यापक महेन्द्र कर्ण बताउँछन् । तीनै तहका सरकारले साइकल र पैदलयात्रीको लागि अलग–अलग लेनको व्यवस्था गरे साइकलप्रति आकर्षण बढ्ने उनले बताए ।
सडकमा आजभोलि साइकल चलाउन निक्कै जोखिम बढेको उनको अनुभव छ । पैदलयात्री, सवारी चालक कोही पनि ट्राफिक नियमको पालना गर्दैनन् । सडकमा साइकल चलाउन निक्कै सचेत हुनुपर्ने प्राध्यापक वासुदेव मेहेता बताउँछन् । मोटरसाइकल निक्कै तीव्र गतिमा कुदाउने गरेकोले दुर्घटनाको सम्भावना निक्कै रहेको उनको बुझाइ छ । सरकारले बाटो निर्माण गर्दा साइकलको अलग्गै लेनको व्यवस्था गरेर सइकल प्रति अकार्षण बढाउनु पर्ने बताए । उनले साइकलेको प्रयोगले थोरै भए पनि सरकारको आर्थिक भार कम हुनेछ ।
सबैको सजिलो सहयोगी साधन साइकललाई हेर्ने दृष्टिकोण परिवर्तन हुने क्रममा रहेको छ । साइकल चढ्नुलाई विपन्नको दृष्टिले हेर्ने गरिन्छ । यसका परिवर्तनमा सबैको चासो आवश्यक छ ।