विजयपुर। धरानका वडा कार्यालयहरूले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई मनपरी खर्च गरेको देखिएको छ।

महालेखा प्रतिवेदनअनुसार वडा कार्यालयहरूले प्र्रहरीलाई मौलो पूजादेखि गस्तीका लागि इन्धन खर्चसमेत भुक्तानी गरेको पाइएको छ । स्थानीय सरकारले प्रहरीलाई वितरण गरेको इन्धन र खरिद गरिदिने जिन्सीलाई प्रतिवेदनले अनियमित भनी उल्लेख गरेको छ । 

धरान उपमहानगरका वडाहरूले मसलन्द खर्चदेखि सवारी मर्मत, मौलो पूजा र गस्ती गर्ने प्रयोजनका लागि भुक्तानी गरेको पाइएको हो । धरान–२ वडा कार्यालयले ट्राफिक प्रहरी कार्यालयलाई १९ हजार ५ सय रुपैयाँको कम्प्युटर खरिद गर्न भुक्तानी गरेको छ । धरान–११ ले मौलो पूजामा ६ हजार भुक्तानी गरेको छ । धरान–१३ ले अस्थायी प्रहरी चौकी अमरहाटको सवारी मर्मत गर्न नौ हजार ९ सय ५० र अस्थायी प्रहरी चौकी अमरहाट प्रहरीको इन्धनमा १६ हजार २ सय ५१ रुपैयाँ भुक्तानी दिएको छ ।

धरान–१५ ले मौलो पूजामा १५ हजार, १५ नं. कै वडा प्रहरी कार्यालयको इन्टरनेटको शुल्कमा ४ हजार भुक्तानी गरेको छ । धरान–१६ ले १६ नम्बरकै प्र्रहरी बिटका लागि मोटरसाइकल भाडामा लिएको १२ हजार ५ सय रुपैयाँ भुक्तानी गरेको छ । धरान–१६ ले नै अस्थायी प्रहरी बिट जोरसखुवाका लागि मसलन्द सामग्री खरिदमा १० हजार ७ सय ९६ रुपैयाँ भुक्तानी गरेको छ । धरान–१८ ले ट्राफिक प्रहरी कार्यालय सवारी साधन मर्मत खर्चमा ७५ हजार र इलाका प्रहरी कार्यालय भवनको भूइँमा टायल लगाउन एक लाख ८६ हजार ६ सय १५ रुपैयाँ भुक्तानी गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सरकारी बजेट खर्च गर्दा नियमितता, मितव्ययिता र औचित्यतालाई मुख्य आधार मान्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । यस्तै, उपमहागनरले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर लाखौँ खर्च गरेको छ । प्रतिवेदनअनुसार विभिन्न निकायलाई नीतिविपरीत रकम भुक्तानी गरेको हो ।

इलाका प्रशासन तथा सुरक्षा निकायका कार्यालयहरूलाई तीन लाख १५ हजार ३ सय ४२ रुपैयाँ भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । नगरले आफ्नो कार्यक्षेत्रभन्दा बाहिरका कार्यालय तथा सङ्घसंस्थालाई रकम दिएको हो ।