धरान । भदौ २४ गते राज्यविहीनताको मौकामा भीडले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जेलबाट निकालेको तथ्य खुलेको छ ।
घटनाको दिन नख्खु कारागारको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बलका डिएसपी सङ्गम श्रेष्ठले आयोगको बयानमा सो कुरा उल्लेख गरेको पाइएको छ । जेन जी घटना छानबिनका लागि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष उनले दिएको बयानमा तीनदेखि चार हजारको सङ्ख्यामा जम्मा भएको भीडले ‘लामिछानेलाई दश मिनेटभित्र बाहिर निकाल’ भनी धम्की दिँदै दिउँसो २ बजेतिर कारागारबाट बाहिर निकालेको बताइएको छ ।
यस्तो छ डिएसपी श्रेष्ठको बयानः
म नख्खु कारागारमा कमाण्डरको रूपमा मिति २०८२–०४–०१ गतेदेखि मिति २०८२–०७–०२ गतेसम्म कार्यरत थिएँ । २०८२ भाद्र २४ गते नख्खु कारागारमा बिहानको समय अरू दिनको जस्तै सामान्य थियो । भाद्र २३ गतेको घटनाको कारण भीड जम्मा भई नख्खु कारागारमा समेत आउनसक्ने पूर्वानुमान गरी उपलब्ध कन्सोर्टिना र फलामको पोलहरूबाट मूलगेटमा राख्नको लागि ब्यारिकेड बनाएको थिएँ ।
उनले दिएको बयानमा तीनदेखि चार हजारको सङ्ख्यामा जम्मा भएको भीडले लामिछानेलाई दश मिनेटभित्र बाहिर निकाल भनी चेतावनी दिएको र दिउँसो २ बजेतिर कारागारबाट बाहिर निकालेको उल्लेख छ ।
बिहान करिब १०ः०० बजे नख्खु कारागारको सम्बन्धित निकायहरू कारागार प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल लगाताररूपमा हुनसक्ने सम्भावित भीडको घटनामा के कसरी व्यवस्थापन एवम् नियन्त्रण गर्ने भन्ने विषयमा गहनरूपमा छलफल तथा उपायहरूमा जिल्ला सुरक्षा समितिलाई अनुरोध गरी थप सुरक्षाकर्मी कारागारबाहिर खटाउन आवश्यक निष्कर्षमा पुगी कारागार प्रशासकज्यूले सुरक्षा समितिलाई अनुरोध गरिरहनुभएको थियो । त्यसपछि कारागारमा रहेका तीनवटा ब्लकमा ताला लगाउने कार्य गरिएको र प्रत्येक ब्लकका नाइके, भाइनाइकेसमेत कारागार प्रशासनको कार्यालयमा डाकी सुरक्षित रहन भनिएको थियो ।
कारागारबाहिर प्रदर्शनकारीहरूको आवागमन भइरहेको थियो भने ती प्रदर्शनकारीहरू भैँसेपाटी मन्त्री क्वार्टरतर्फ गइरहेका थिए । अन्दाजी १०ः३०–११ः०० बजेको समयमा नख्खु कारागारको उत्तरतर्फ अन्दाजी ७–८ सय मिटरमा भीड जम्मा भएको, नाराजुलुस एवम् टायर बालेर नारा लगाइरहेको खबरसमेत एनआइडीका असइ सा’व रमेश चौधरीले जानकारी गराइरहनुभएको थियो ।
भीडले सुरक्षाकर्मीलाई हम्मेहम्मे बनाएको अवस्था थियो । त्यही भीडले करिब १५ः०० बजेतिर रवि लामिछानेलाई कारागारबाट बाहिर लिएर गएको थियो । त्यसैगरी ललितपुरको हरिसिद्धिलगायत बिआइसीसी भवन जलिसकेको र सुरक्षाकर्मीहरू हताहत भएको एवम् हातहतियारसमेत लुटेको सोसल मिडियाबाट जानकारी प्राप्त भइरहेको थियो । कारागार प्रशासकज्यूले पटकपटक सम्बन्धित निकायमा थप सुरक्षाकर्मीको लागि रिपोर्ट गरिरहनुभएको थियो । उक्त दिन बिहानै सशस्त्र प्रहरी बल कारागार सुरक्षा बेसबाट असइको कमाण्डमा मोबाइलमा १० जनाको टोली मन्त्री क्वार्टरमा खटाइएको थियो । त्यसैगरी कारागारको सुरक्षार्थ जु.प्र.अ.को कमाण्डमा मेनगेटमा १५ जना, प्रत्येक ब्लकमा ७–७ जना र पेरिमिटरमा लाइट पोइन्टमा नियमित ५ जनाको टोली खटाएको थिएँ ।
करिब १३ः०० बजेतिर भीड कारागारको मेनगेटमा भेला हुन सुरु भएको थियो । ३–४ हजारको सङ्ख्यामा भीड जम्मा भई रवि लामिछानेलाई १० मिनेटभित्र बाहिर निकाल् भनी तोडफोड, आगजनी र आक्रमणको चेतावनी दिइरहेका थिए । सो विषयमा मेनगेटमा खटिएका स.प्र.स.नि.ले रिपोर्ट गरेपछि मैले सुरक्षाकर्मीहरूलाई बिफ्रिङ गर्नका लागि सामेल गरेर न्यूनतम् बल प्रयोग गर्नका लागि निर्देशन दिइरहेको अवस्थामा नेपाल प्रहरीको कमाण्डर र कारागार प्रशासकले आदेश आयो रविलाई निकाल्ने भन्ने विषय जानकारी गराएपछि सिआरसी ब्लकबाट रवि लामिछानेलाई उहाँको परिवारलाई भेट्नसम्म दिने भनी कारागारभित्र रहेको मनोसामाजिक अस्पतालमा नेपाल प्रहरीको इन्स्पेक्टर र कारागार प्रशासकसमेत भएर मनोसामाजिक अस्पतालसम्म पु¥याएका थियौँ ।
नेपाल प्रहरीको एक जवानसमेत सशस्त्र प्रहरीको सुरक्षा बेसमा सुरक्षित हुन आएका थिए । उनीसँग १ नाल ३०३ राइफल थियो । उनलाई एपीएफको चुस्ता लगाई हतियारसमेत सुरक्षित गर्न सफल भएका थियौँ ।
करिब १४ः०० बजेतिर मेनगेट तोडफोड गरी आक्रोशित भीड कारागार परिसरभित्र आएको थियो भने सुरक्षाकर्मीले करिब १ घण्टासम्म सम्झाई बुझाई गर्ने, लाठीचार्ज गर्नेगरी भीड सम्हालिरहेको थियो । त्यही क्रममा रवि लामिछाने अस्पतालबाट भीड भएको मेनगेटमा जानुभयो । उहाँको सुरक्षा हाम्रो जिम्मेवारी भएको हुँदा भीडबाट अलग गरी उहाँलाई केही मिटर पछाडि कारागारभित्र रहेको पीपलबोट चौतारीमा पु¥याइएको थियो । उहाँले भीडलाई सम्झाउँछु भनी माइकसमेत खोजिरहनुभएको थियो भने म कानूनीरूपमा कारागारभित्र छु, पत्र नलिइकन बाहिर जान्नँ भन्नुभएको थियो । हल्लाका कारण भीडले सुरक्षाकर्मीलाई हम्मेहम्मे बनाएको अवस्था थियो । त्यही भीडले करिब १५ः०० बजेतिर रवि लामिछानेलाई कारागारबाट बाहिर लिएर गएको थियो ।
फेरि भीड १५ः३० बजेतिर कारागारमा आई ढुङ्गामुढा, तोडफोड र आगजनी गरेको अवस्थामा सम्झाई बुझाई गर्ने, संयमता अपनाउने तथा न्यूनतम् बल प्रयोग गर्नेगरी म स्वयम् फिल्डमा उत्रँदा भीड केहीबेर तितरवितरसमेत भएको थियो । त्यसपछि नेपाल प्रहरीको टोली कारागार परिसर छाडी गयो । अब फिल्डमा हामी सशस्त्र प्रहरी बेसबाट खटिएको जम्मा ४६ जनामात्र भयौँ । नेपाल प्रहरीको ५२ जनाको टोली थियो । कारागार प्रशासनको कार्यालय तोडफोड, आगजनी, सवारीसाधनहरूमा आगजनी गर्दै कारागारमा रहेका ३ वटै ब्लक भीडले ताला तोडी कैदीबन्दीहरूलाई भगाएको थियो ।
म आफै पनि घाइते भएको अवस्था थियो । उक्त दिन मेरो इन्स्पेक्टरसमेत घाइते भएका थिए । कतिपय कैदीबन्दीहरू सुरक्षाकर्मी रहेको स्थानमा सुरक्षित हुनसमेत आएका थिए भने भीडले हामीलाई हतियार फाल, चुस्ता खोली भागेर जाऊ भनिरहँदा उनीहरू पनि भागिरहेका थिए । नख्खु कारागारबाट कैदीबन्दीहरूलाई भीडले भगाएको थियो । यो घटना करिब १६ः०० बजेदेखि १६ः१५ बजेको समयमा भएको थियो ।
सशस्त्र प्रहरी बलले २१ ग्यास सेल, ६ राउण्ड ब्ल्याङ्क र ५ राउण्ड हवाईफायर गरेको थियो । हामी सशस्त्र प्रहरी बलका कर्मचारीले भीडलाई संयमित भई सम्झाई बुझाई गरी तथा कारागारभित्र रहेको मनोसामाजिक अस्पताल, विपश्यना ध्यान केन्द्र, कारागार प्रशासनको १ बोलेरो पिकअप गाडी, १ पानी ट्याङ्कर १, मनोसामाजिक अस्पतालको सवारीसाधन १, सिआरसी ब्लक जोगाउन सफल भयौँ ।
उक्त दिन भीडले गरेको तोडफोड, आगजनीको अवस्था र भीडको सङ्ख्यासमेत अधिक हुँदा भीडमा घातक हतियार प्रयोग गर्ने अवस्थामात्र रहेको अवस्थामा मानवीय क्षतिलाई मध्यनजर गरी सुरक्षा कार्य गरिएको हो । सशस्त्र प्रहरी बलले आवश्यक पहल लिई उक्त अराजक स्थितिलाई नियन्त्रण गर्न आफ्नो क्षमता, साधन एवम् परिस्थितिमा भरपूर प्रयास गरेको थियो । उक्त दिन बिहानैदेखि सामाजिक सञ्जालमा सुरक्षाकर्मीको हातहतियारसमेत लुटी लगेको भन्ने विषयले भीडबाट समेत गोली चल्नसक्ने परिस्थितिलाई हरदम संयमित भई कार्य गरेको हो ।
२०८१ भाद्र २४ गते कारागारमा १ हजार २ सय ८१ जना कैदीबन्दी थिए । कैदीबन्दीहरूलाई लगभग १५ः५० देखि १६ः१५ सम्म कारागारबाट बाहिर भगाइएको थियो । सिआरसी ब्लकका चौकीदार रविन शाही, मूल नाइके अशोक खड्गी, डिआरसी ब्लकका चौकीदार विशालध्वज कार्की, मूल नाइके उज्वल खत्री र न्यू ब्लकका चौकीदार नृप साउद, मूल नाइके सजल कार्की थिए । मूलभूतरूपमा आन्तरिक प्रशासनको जिम्मेवारी पाएका कैदीबन्दीले कारागार प्रशासन एवम् सुरक्षाकर्मीलाई आ–आफ्नो तर्फबाट सहयोग गर्ने कार्य गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई कारागारभित्र पनि बाहिरबाट आएको आक्रोशित भीडका कारण सुरक्षा चुनौती थियो । उहाँलाई दिइएको पत्रको सम्बन्धमा मलाई केही जानकारी थिएन । म फिल्डमा भीड व्यवस्थापन कार्यमा खटिएको थिएँ । रवि लामिछानेलाई रूपन्देही कारागारबाट नख्खु कारागारमा मिति २०८२–०४–३१ गते ल्याउँदा नख्खु कारागारबाहिर सुरक्षार्थ ठूलो सङ्ख्यामा प्रहरी परिचालन भएको थियो भने २०८२ भाद्र २४ गतेको घटनामा कहीँ कतैबाट थप सुरक्षाकर्मी आएको थिएन । घटनालाई विश्लेषण गर्दा २०८२ भाद्र २४ गतेको घटना अझ बढी हिंस्रक, अराजक एवम् ठूलो भीड थियो ।
एपीएफ कारागार परिसर राति २२ः३० बजेसम्म पनि नछाडी तैनाथ नै रहेको थियो । नेपाली सेनाको टोली आएपछि मात्र हामी गणमा फिर्ता भएका हौँ । राज्यका कार्यालयहरू तोडफोड, आगजनी र हतियार लुटपाटको खबरले समेत हामी सुरक्षाकर्मीलाई प्रभावित गरेको अवस्था थियो । त्यससँगै कारागारमा खटिएको नेपाल प्रहरीको टोलीले आफ्नो युनिट छाडी गएपछि सशस्त्र प्रहरी बलका कर्मचारीहरूलाई संयमित डिउटीमा तैनाथी गर्न अझ चुनौतीपूर्ण अवस्था सिर्जना भएको थियो ।
कारागारको मूलगेट २–३ पटकसम्म तोडफोड हुँदासम्म पनि डटेर भीडसँग व्यवस्थापन कार्यमा लागिरहेका थियौँ । उक्त दिन भएको आगजनीलाई समेत एपीएफले निभाउने कार्य गरेको थियो । मैले मेरो बुद्धिविवेकले भ्याएसम्म व्यावसायिक रूपमा कार्य सम्पादन गरेको थिएँ । मैले कोही पनि कैदीबन्दीलाई भगाउने–भगाउन सहयोग गर्ने कुनै कार्य गरेको छैन भनी आयोगसमक्ष जाहेर गर्दछु । (जनआस्था साप्ताहिकले सार्वजनिक गरेको गौरीबहादुर कार्की आयोगलाई सशस्त्रका डिएसपी सङ्गम श्रेष्ठले दिएको बयानको विवरण)
































