धरान । पछिल्लो प्रतिनिधिसभा निर्वाचनले नेपालको संसद् संरचनामा महत्वपूर्ण परिवर्तन ल्याएको छ । भदौ २३ र २४ को जेन जी आन्दोलनपछि युवाहरूको उल्लेख्य प्रवेश देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको उदयसँगै संसद्मा युवा सांसद्हरूको सङ्ख्या उल्लेख्यरूपमा बढेको हो ।
फागुन २१ को निर्वाचनमा ३० वर्षमुनिका १७ जना सांसद् निर्वाचित भएका छन् । जसमध्ये अधिकांश रास्वपाका छन् । मनिष खनाल (२६), प्रशान्त उप्रेती (२५) र श्रम संस्कृति पार्टीबाट रूवीकुमारी (२५) जस्ता युवा अनुहारहरू संसद्मा पुगेका छन् । यसले ‘लामो समय राजनीति गरेका मात्रै सांसद् बन्न योग्य हुन्छन्’ भन्ने परम्परागत धारणालाई चुनौती दिएको छ । यो यात्राले योग्यता क्षमता भएर पनि आफूमाथिका अग्रजको पालो पर्खिएर उमेर बिताउनुपर्ने प्रवृत्तिमा फागुन २१ को निर्वाचनपछि ब्रेक लागेको छ ।
संसद्को समग्र उमेर संरचनामा पनि परिवर्तन देखिएको छ । अघिल्लो संसद्को औसत उमेर ५३.७६ वर्ष रहेकोमा नयाँ संसद्को औसत उमेर घटेर ४५.३८ वर्षमा झरेको छ । विशेषगरी ४० वर्षमुनिका सांसद्हरूमा रास्वपाको बाहुल्य देखिन्छ । पुराना दलहरू पनि दबावमा परेर युवा सांसद्हरूको सङ्ख्या विगतका निर्वाचनभन्दा बढाएका छन् ।
इतिहास हेर्दा नेपालमा युवाको राजनीतिक सहभागिता प्रायः आन्दोलनपछि मात्रै बढ्ने गरेको देखिन्छ । २०४६ सालको जनआन्दोलनपछि नेकपा एमालेबाट, २०६२÷०६३ को आन्दोलनपछि नेकपा (माओवादी) बाट र हालको नवयुवा आन्दोलनपछि रास्वपाबाट युवा नेतृत्व उदाएको छ ।
राजनीतिशास्त्रीहरूका अनुसार पुराना दलहरूमा नेतृत्व हस्तान्तरणको अभाव र लामो समयसम्म एउटै नेताको वर्चस्वका कारण युवाहरूले अवसर पाउन सकेका थिएनन् । आन्दोलनले नयाँ शक्ति जन्माउने र त्यसले युवालाई अघि ल्याउने प्रवृत्ति नेपालमा दोहोरिँदै आएको जानकारहरू बताउँछन् ।
बिहीबार सिंहदरबार परिसरमा ठूलो सङ्ख्यामा युवावर्गसहित २ सय ७४ जना प्रतिनिधि सभा सदस्यहरूले सपथ लिँदैछन् । ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनीहरूलाई सपथ खुवाउने कार्यक्रम छ । संसद् सचिवालयका अनुसार आज (बिहीबार) ४० जनाभन्दा बढी सांसद्ले आफ्नो मातृभाषामा सपथ लिँदैछन् । सबै तयारी पूरा भएको संसद्् सचिवालयले जनाएको छ ।
































