विराटनगर । विराटनगर–१५ हर्ताली हाटकी ३२ वर्षीया कोमलकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमान् र जेठाजुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मृतकका श्रीमान् रोशन साह र जेठाजु दिपेन्द्र साह रहेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट श्रीमान् रोशनले श्रीमतीको ‘परपुरुषसँग अवैध सम्बन्ध’ रहेको शङ्कामा हत्या गरेको खुलेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी लीलाराज लामिछानेका अनुसार हत्या यही चैत ६ गते राति साढे १२ बजे भएको थियो ।
“छोराछोरी सुतिसकेपछि राति साढे ११ बजे रोशन कोठामा छिरेका थिए । सुतिरहेकी श्रीमतीले ओढेको गलबन्दी र साडीले घाँटी कसेर हत्या गरेको उनले स्वीकार गरेका छन्” डिएसपी लामिछानेले भने, “हत्यापछि शव व्यवस्थापनका लागि उनले आफ्नै दाजु दिपेन्द्रको सहयोग लिएको पाइयो ।”
पत्नी बेपत्ताको नाटक, ४ दिनपछि खुल्यो रहस्य
हत्यापछि रोशनले श्रीमतीको हातखुट्टा बाँधेर तन्नामा पोको बनाएका थिए । त्यसपछि जेठाजु दिपेन्द्रले चलाउने सिटी सफारीमा राखेर घरदेखि करिब ४ किलोमिटर पूर्व विराटनगर–१७ स्थित छाला फ्याक्ट्री नजिकैको कल्भर्टमुनि शव फालिएको अनुसन्धानबाट खुलेको छ ।
कोमलकुमारी चैत ६ गतेदेखि नै सम्पर्कविहीन थिइन् । हत्या लुकाउन रोशनले चैत ८ गते इलाका प्रहरी कार्यालय रानीमा पुगेर पत्नी हराएको भन्दै हुलियासहितको निवेदन दिएका थिए । तर, मङ्गलबार साँझ कल्भर्टमुनि शव फेला परेपछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियो । शव भेटिएको चार घण्टाभित्रै प्रहरीले अभियुक्तहरूलाई पक्राउ गर्न सफल भयो ।
बुधबार पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनाबारे विस्तृत जानकारी गराएको हो । डिएसपी लीलाराज लामिछाने र इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको संयुक्त टोलीले घटनास्थलको सूक्ष्म अनुसन्धान गरेको थियो । बुधबार मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा पाँच दिनको म्याद थप गरी दुवै जनामाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
































