विजयपुर । धरानकी किशोरीलाई अपहरण गरी बलात्कार, कुटपिट र लुटपाट गरेको आरोपमा सिटी सफारी चालक पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार सुनसरीको रामधुनी नगरपालिका–२ परिसापुर बस्ने २६ वर्षीय रोशन विश्वकर्मा पक्राउ परेका हुन् । डीएसपी राईका अनुसार चैत ६ गते धरान–५ घर भएकी १९ वर्षीया किशोरी मावलीबाट धरान घर फर्किंदै गर्दा पुरानो कपडा लिन आएकी थिइन् । भोटेपुलमा बसको प्रतीक्षामा बसेको बेला अपरिचित व्यक्तिले उनलाई सिटी सफारीमा चढ्न आग्रह गरी लगेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा धरानमा ००१ ह ०१७८ नम्बरको सफारी खुल्न आएको थियो । उक्त सफारीका चालक विश्वकर्माले किशोरीलाई एकान्त स्थानमा लगेर कुटपिट गरी बेहोस बनाएको र उनको मोबाइलसमेत लुटेर फरार भएको खुलेको छ । घटनापछि प्रहरीको टोलीले सीसीटीभी फुटेजको अध्ययन गर्दै प्रयोग भएको सफारी नम्बर पहिचान गरेको थियो । अनुसन्धानका क्रममा मंगलबार आरोपी विकलाई घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पीडितले दिएको किटानी जाहेरी अनुसार आरोपीले साकेला पार्क नजिकको एकान्त जंगलमा लगेर हात बाँधेर कुटपिट, जबरजस्ती करणी र मोबाइल लुटेको उल्लेख गरेकी छन् । घटनामा संलग्न विश्वकर्माविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।