शहरी तथा ग्रामीण क्षेत्रहरूमा आगलागीका कारण हामीले जन–धनको क्षति व्यहोरिरहेका छौं विगतका वर्षहरूझैं यो सुख्खायामको शुरुवातसँगै धरानमा केही आगलागीका दुर्घटना भइसकेका छन् । धरानमा नयाँ बजार (गीता मन्दिरदेखि माथि), पुरानो बजार (लाखे फोटोकपी), सब्जी मण्डी (मासु दोकान) क्षेत्रमा आगलागी भई ठूलो मात्रामा नोक्सानी भएको बारेमा त सबै अवगत नै छन् । आगो बारे जान्ने तथा केही सुरक्षा सतर्कता अपनाउने हो भने हामी आगलागीबाट हुन सक्ने धन–जनको क्षतिलाई रोक्ने तथा कम गराउन सक्छौँ ।
 
धरान उपमहानगरपालिका वारुण यन्त्र शाखाका अनुसार धरान महानगरपालिका भित्रमा ०७० सालमा– ३९, ०७१ सालमा– ३२, ०७२ सालमा–४५, ०७३ सालमा–३९, ०७४ सालमा–४४ र २०७५ साल फागुन महिना सम्ममा–४० पटक गरी जम्मा २३९ पटक आगलागीका दुर्घटना भएका छन् । यस तथ्याङ्कलाई मासिक रूपमा केलाएर हेर्ने हो भने फागुन र चैत महिनामा सुख्खा मौसमका कारण अत्यधिक मात्रामा आगलागीका दुर्घटना भएको देखिन्छ । ०७० साल देखि २०७५ सालसम्म भएका सम्पूर्ण दुर्घटनामा फागुन महिनामा ४६ पटक र चैतमा ३९ पटक आगलागीका दुर्घटना भएको छ । 
 
कुनै पनि इन्धनहरूको निश्चित तापक्रममा वातावरणमा रहेका पर्याप्त अक्सिजनसँगको रासायनिक प्रतिकृयाबाट उत्पन्न हुने शक्ति नै आगो हो जसमा ताप तथा प्रकाश हुन्छ ।
 
आगोमा न्युनत्तम रूपमा तीन इकाईहरू रहेका हुन्छन् । १. इन्धन २. ताप ३. अक्सिजन जसलाई आगोको त्रिकोण पनि भनिन्छ । जस्तै तपाईंले पनि कुनै कागज जलाउँदा लाइटर र सलाई बाल्नु हुन्छ कागजमा (१) इन्धन बाट (२) ताप पैदा हुन्छ र वातावरणमा रहेको (३) अक्सिजन बाट त्यो कागज जल्न थाल्छ । यसरी यहाँ आगोको त्रिकोण मिल्ने हुनाले आगोको शुरुवात हुन्छ । 
 
हामीले आगो निभाउनका लागि यही त्रिकोणको पहिचान गरेर यसलाई बन्द गर्न सक्छौं । जस्तै यस उदाहरणमा हामीले बलिरहेको कागजबाट अन्य कागज हटाउन सक्छौं, जसले त्यहाँ इन्धन (१) को कमी हुन्छ र आगो निभ्छ त्यस्तै दोस्रो उपायमा हामी त्यस आगोमा पानी हाल्न सक्छौ जसले आगोमा ताप (२) लाई हटाइदिन्छ र आगो निभ्छ र अर्को उपाय त्यस आगोलाई बालुवा, हरियो स्याउला, भिजेको तौलियाले छोप्न सकिन्छ जसबाट आगोमा अक्सिजन (३) को आपूर्ति बन्द हुन्छ र त्यो आगो निभ्छ । 
 
आगलागी रोकथामका उपाय
– केटाकेटीले भेट्न सक्ने ठाउँमा सलाई, लाइटर जस्ता सामग्री नराख्नुहोस् ।
– भान्सामा खाना बनाउँदा ग्याँस वा आगो बल्ने अवधिभरि भान्सा छाडेर टाढा नजानुहोस् ।
– यथासम्भव ग्याँस सिलिण्डरलाई भान्सा कोठाभन्दा बाहिर नै राख्नुहोस् ।
– सिलिण्डरको पाइप, सिलिन्डर समय–समयमा जाँच गर्नुहोस्, कुनै खराबी वा टुटफुट पाउनु भएमा, तुरुन्त मर्मत गराउन लगाउनुहोस् ।
– खाना बनाइसकेपछि ग्याँसको रेगुलेटर बन्द गर्ने तथा समय–समयमा ग्याँस सिलिण्डर र पाइपको सरसफाइ गर्नुहोस् ।
– ग्याँस सिलिण्डर घर ल्याउन अघि सिल नभएको, तौल कमजस्तो लाग्ने, धेरै गन्हाउने (लिक भएको शंकास्पद) सिलिण्डर नल्याउनुहोस् ।
– घरमा भएका विद्युत उपकरणहरू सही अवस्थामा छ÷छैन नियमित जाँच गर्नुहोस्, नाङ्गो टार, टुटेफुटेका स्विच, एक्सटेन्सन कर्डलाई मर्मत् तथा परिवर्तन गर्नुहोस् ।
– एक्सटेन्सन कर्डमा धेरै विद्युत खपत गर्ने (आइरन, हिटर, फ्रिज, माइक्रोवेभ ओभन, मोटर) तथा अन्य धेरै उपकरण जोडेर एकैचोटि प्रयोग नगर्नुहोस् ।
– २ पिन स्विचको बदलामा सिधै नाङ्गो तार सकेटमा पसाएर विद्युतीय सामग्री प्रयोग कहिल्यै नगर्नुहोस् ।
– प्रयोग नभएको अवस्थामा विद्युतीय सामग्रीहरू सकेटबाट निकालेर अलग राख्नुहोस् ।
– राति सुत्ने बेलामा वा घर छाडेर बाहिर जानुपर्दा सम्पूर्ण विद्युतीय उपकरणहरू बन्द गरेरमात्र जानुहोस्  । (यसले तपाईंलाई आगलागीबाट सुरक्षामात्र होइन बिजुलीको खपतमा कमी ल्याउन पनि सहयोग पु¥याउँछ ।)
– हावा चलेको अवस्थामा खुला स्थानमा आगो नबाल्नुहोस्, बारी, बाटोमा बालिएको आगो पूर्ण रूपमा निभेको निक्र्यौल गर्नुहोस् ।
– घरमा पेट्रोल, डिजेल, मट्टीतेलको भण्डारण नगर्नुहोस् । (यस्ता सामग्रीमा केटाकेटीको पहुँच रोक्नुहोस्)
– घरमा प्रज्ज्वलनशील पदार्थहरू राख्न परे यसलाई छुट्टै, उपयुक्त भाँडोमा राम्रोसँग बिर्को बन्द गरेरमात्र राख्नुहोस्, जहाँ आगोको स्रोत सहजै पुग्न नसकोस् ।
– केटाकेटीले जोखिम आँकलन गर्न सक्दैनन् उनीहरू खेल्ने क्रममा ठूला मानिसको नक्कल गरेर आगोको प्रयोग गर्न सक्दछन् केटाकेटीलाई मात्र घरमा एक्लै नछाड्नुहोस् ।
– घर तथा घर वरपर सरसफाइ कायम राख्नुहोस् 
– घर, गोठ खाली छाडेर नजानुहोस्, आफू केही समयका लागि जानुपर्दा छिमेक वा आफन्तलाई हेरचाह गर्न आग्रह गर्नुहोस् ।
– कोठाभित्र चुरोट नखानुहोस् तथा जथाभावी चुरोटका ठूटा नफ्याँक्नुहोस् ।
अनेपक्षित आगलागीका पूर्व तयारी 
– आफ्नो मोबाइलमा वा घरको टेलिफोन सम्पर्क सूचीमा वारुण यन्त्र (दमकल) को नम्बर ०२५–५२०१९९ र ९८४२०३८२९९ सेभ गरेर राख्नुहोस् ।
– घरमा रहेका पानीका ट्याङ्की पूर्ण रूपमा रित्तो हुञ्जेल प्रयोग नगर्नुहोस्, आकस्मिक अवस्थाको लागि केही मात्रामा पानी जोहो गरेर राख्नुहोस् ।
– घरमा फायर ब्ल्याङ्केट (भान्छामा), फायर एक्स्टिनगुसर राख्नुहोस् ।
– कोठामा सिठी, टर्चलाइट सदैव तैयारी अवस्थामा राख्नुहोस् ।
– कोठामा खन्ती, झम्पल, मार्तलजस्ता सामग्री सुरक्षित साथ राख्नुहोस्, जसले आकस्मिक अवस्थामा झ्याल, ढोका फोडेर बाहिर निस्किन सकियोस् ।
– आफू बसेको घर वा कार्यालयमा आकस्मिक अवस्थामा कसरी सुरक्षित साथ बाहिरिन सकिन्छ त्यसको पहिचान तथा आँकलन गर्नुहोस् ।
– वन क्षेत्रमा डँढेलो लगाउने तथा चुरोट खाएर जथाभावी नफ्याक्नुहोस् ।
आगलागी भइहालेमा के गर्ने ? 
– तपाईंले कुनै आगलागीको घटना देख्नु भएमा, तत्काल छेउछाउमा रहेका अन्य व्यक्तिलाई पनि खबर गर्नुहोस् र नियन्त्रणमा सहयोगका लागि आग्रह गर्नुहोस् ।
– आगलागी कसरी भएको जान्ने प्रयास गर्नुहोस् । (विद्युतीय वा अन्य आगो) 
– आगोको आकारमा विचार पु¥याउनुहोस्, आगो फैलन सक्ने र आगो तपाईंको नियन्त्रणमा आउने सम्भावना छैन भने तत्काल वारुण यन्त्रलाई खबर गर्नुहोस् ।
– विद्युतबाट आगो लागेको शङ्का लागेमा घरमा रहेको मेनस्विच तत्काल बन्द गर्नुहोस् ।
– विद्युतीयबाहेक अन्य सामान्य सानो आगलागी छ भने पानीको सहायताले निभाउने प्रयास गर्नुहोस् ।
– आगो कोठाभित्र लागेको छ र नियन्त्रण गर्न सम्भव छैन भने कोठाको ढोका बन्द गरिदिनुहोस् । (यसले आगोलाई सहजरूपमा फैलन दिँदैन)
– आगलागी भएको स्थानमा अग्नि नियन्त्रक बाहेक अरूलाई प्रवेश गर्न नदिनुहोस् ।
– आफ्नो ज्यान जोखिममा राखेर आगलागी भएको स्थानबाट सामान निकाल्ने प्रयास नगर्नुहोस् ।
– आगलागी भएको स्थानदेखि नजिकै रहेको मुख्य चौकमा केही सहयोगीलाई वारुण यन्त्रलाई बाटो देखाउनका  लागि पठाउनुहोस् ।
– आगलागीबाट केही सामग्री जोगाउन सकिन्छ भने त्यसलाई निकालेर सुरक्षित स्थानमा राखिदिनुहोस् ।
व्यक्तिगत घर तथा कार्यलयहरूमा पनि सुरक्षाको लागि बजारमा सहज र सुपथ मूल्यमा उपलब्ध हुने फायर एक्स्टिनगुसर, फायर ब्ल्याङ्केट राख्न सकिन्छ जसले आगलागीको शुरुवाती समयमा नै आगलागीलाई नियन्त्रण गरी जन–धनको थप क्षति हुनबाट रोक्न सकिन्छ । 
 
धरान उपमहानगरपालिकाले पानवारी, विष्णुपादुका क्षेत्रलाई पनि धरानमा गाभ्दा यसको कार्यक्षेत्र बढेको छ्र । वारुण यन्त्र केवल धरान उपमहानगरपालिकाको कार्यालय परिसर चतरा लाइनमा केन्द्रिकृत गरिएको छ । जसले फुस्रे, पानवारी, बाँझगरा, रेल्वे,  विष्णुपादुका क्षेत्रमा आगलागी हुँदा वारुण यन्त्र पुग्न नै धेरै समय लाग्ने अवस्था छ जुन समयमा धेरै धनको क्षति हुन सक्छ यसका लागि विभिन्न स्थानको पहिचान गरी वारुण यन्त्रलाई विकेन्द्रीकरण गर्नु आवश्यक भइसकेको छ । अहिले विभिन्न नयाँ टोल, गल्लीहरू नामाकरण भएका छन्  ।
 
जसलाई सम्झन कदापि सजिलो छैन । यसका लागि वारुणयन्त्रको टोली समय–समयमा त्यस्ता स्थानको भ्रमण गर्ने तथा स्थानीयलाई आगलागी सुरक्षाका उपाय सिकाउन सकिन्छ । जसले वारुण यन्त्रका कर्मचारीलाई विभिन्न स्थानसँग परिचित रहन सहयोग पुग्छ । साथै, स्थानीयलाई आगलागी हुनबाट सुरक्षित हुने तथा आकस्मिक अवस्थामा वारुणयन्त्र सहयोगको लागि उपलब्ध हुन सक्छ भनी निश्चिन्त रहन सक्दछन् । 
 
(नेपाली, पेशागत स्वास्थ्य तथा सुरक्षा क्षेत्रमा कार्यरत छन्)