विराटनगर /  उत्पादन लिने समयमा गोलभेडामा ‘पछौटे डढुवा रोग’ लागेर लाखौं मुल्य बरावरको टमाटर बारीमै कुहिएपछि मोरङ जहदा गाउँपालिकामा व्यवसायिक रूपमा तरकारी गर्दै आएका कृषकहरू समस्यामा परेका छन् ।
व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका किसानहरूले लगाएको गोलभेडामा पछौटे डढुवा र दानामा थोप्लो लाग्ने ढुसी रोग लागेर टमाटर कुहिन थालेपछि यहाँका कृषकहरू चिन्तित बनेका हुन् ।
गोलभेडामा मौसम परिवर्तनसँगै लाग्ने पछौटे डढुवा रोगले गर्दा जहदा गपाका किसानको लाखौं मुल्य बरावरको गोलभेटा बारीमै नष्ट भएको यहाँका किसानहरू बताउँछन् । अघिल्ला बर्षहरुमा सामान्य रुपमा मात्र देखिने पछौटे डढुवा यस वर्ष प्रकोपकै रुपमा देखिएको जहदा गाउँपालिका –४ कुसवाटोलका कृषक सवर्ण कुमार सिहंले बताए । एक विघा क्षेत्रफलमा गोलभेडा लगाएका कृषक सिंहले पछौटे डढुवा रोगले ४ लाखको गोलभेडा बारीमै कुहिएको बताए । ‘यस पटक विगतको वर्षहरूमा भन्दा उत्पादन राम्रो भएको थियो,’ कृषक सिंहले भने, ‘विक्री गर्ने तयारी गरिएको गोलभेडामा पछौटे डढुवा रोग लाग्यो । बोटबाटै गोलभेडा जमिनमा कुहिएर खस्यो ।’ निराश हुँदै उनले भने, ‘यस पटकको सिजनमा राम्रो आम्दानी हुने छनक देखिएको थियो । गोलभेडामा रोग देखियो । लगानी उठाउन समस्या हुने भयो ।’ स्थानिय सरकारलाई जानकारी गराउँदा पनि समस्या सावधान हुने कुनै सुझाब र निरीक्षण नगरेको उनको भनाई छ ।

पाँच विघा जमिनमा तरकारी खेती गर्दै आएका सिंहले १ विगाहामा गोलभेडा, २ विगाहामा कोभी, १ विगाहा राजमा, र बाँकीमा मकै लगाएका छन् । तरकारी खेती लगाएको मध्ये गोलभोडमा मात्र रोग लागेको उनले बताए । ‘अन्य तरकारी बाली राम्रोसँग सप्रिएर आएको छ,’ उनले भने, ‘गोलभेडामा डढुवा रोग देखियो । रोगले आक्रमण गर्छ भनेर विषादी पनि हालेको थिए । र पनि यस्तो भयो ।’ गत वर्ष एक सिजनमा खर्च कटाएर ५ लाखको गोलझेडा विक्री गरेको उनले जानकारी दिए । ‘यस पटक १ लाखको टमाटर विक्री भएछ,’ उनले भने, ‘गोलभेडाबाट सोचेजस्तो मुनाफ आर्जन नहुने देखियो ।’ उनका अनुसार डढुवा रोगले ढेड सय क्वीन्टल गोलभेडा बारीमै कुहिएको बताए ।

जहदा गपाकै अर्का किसान दिनेश सिंहले लगाएको गोलभेडा खेतीमा पनि डढुवा रोग देखिएको बताए । २ विगाहा जमिनमा लगाएको गोलभेडामा करिब २ क्विटल जतिमा डढुवा रोग लागेर कुहिएको उनले जानकारी दिए । गत बर्षहरुमा डढुवाका कारण फल तथा बोटनै खुईलिने रोग सामान्य रुपमा मात्रै देखिने गरेकोमा यो बर्ष भने सो रोग संगै फलमा छिर्का बस्ने रोगले गोलभेडाको पुरै वगान नै नष्ट गर्न थालेको उनीहरू बताउँछन् । बिभिन्न रोगका कारण गोलभेडाको उत्पादनमा यो बर्ष कमि आउने जहदाका कृषकहरू अनुमागन गर्दछन् ।

जहदा र कटहरीमा गपामा १ हजार हेक्टरमा तरकारी खेती भइरहेको छ । जसमा अधिकांश कृषकले ५ कठ्ठादेखि एक विघासम्म गोलभेडा खेती लगाउने गरको छ । उन्नत जातको गोलभेडा प्रतिकठ्ठा ४ सय ५० बिरूवा रोप्ने गरेको र प्रति बिरुवा न्यूनतम १५ किलो र अधिकतम २५ किलो गोलभेडा फल्ने गरको कृषकहरू बताउँछन् । प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशभरको कुल २६ लाख ४२ हजार ३ सय १० हेक्टर क्षेत्रफलमध्ये खेतीयोग्य ९ लाख २७ हजार ४ सय १९ हेक्टर जग्गा रहेको जनाएको छ । खेती भइरहेको ८ लाख ९४ हजार ७ सय ६५ हेक्टरमध्ये ४ हजार ५ सय ४९ दशमलव ५ हेक्टरमा गोलभेडा खेती हुँदै आएको मन्त्रालयले जनाएको छ । गोलभेडाको प्रतिहेक्टर सरदर ९ दशमलव ८ मेट्रिकटन उत्पादन छ ।
यस्तो छ कृषि प्रविधिको सुझाब
डढुवा रोग किराको दिर्घकालिन नियन्त्रणको लागि गोलभेडाको बगैंचा ब्यबस्थापन, सिचाईको व्यवस्था र मलखाद सिफारिस गरेको भन्दा बढी प्रयोग गर्न नहुने कृषि प्राबिधिकको सुझाव छ । ‘दुई प्रकारको डुढवा रोग हुने गरेको छ,’ बाली संरक्षण प्रयोगशाला १ नम्बर प्रदेश कार्यालय विराटनगरका बाली संरक्षण अधिकृत मुकेश यादवले भने, ‘तराईको जिल्लाहरूमा देखिएको पछौटे डढुवा रोग हो ।’ अर्को अगौटे डढुवा रोग हुने गरेको उनले बताए । अगौटे पहाडी जिल्लामा यो रोग देखा पर्ने गरेको उनले बताए ।
डाइमेथोमर्फ विषादी २ ग्राम, मटालेक्सिल ८ प्रतिशत प्रतिलिटर पानीमा घोलेर गोलभेडा लगाएको बारीमा छर्किए नियन्त्रण हुने बाली संरक्षण अधिकृत यादवले बताए । ‘यस पटक ढडुवा रोग लागेको गोलभेटाको खेतीमा पुनः अर्को पटक त्यही ठाउँमा सोही बोली लगाउन हुँदैन,’ यादवले भने, ‘ठाउँ परिर्वतन गर्नुपर्दछ । पुनः सोही ठाउँमा गोलभेडा लगाइयो भने फेरी पनि डढुवा रोगले आक्रमण गर्न सक्छ ।’ उनले कृषकले लगाएको कुनै पनि बालीमा रोग लागेको शंका हुने वित्तिकै नुमना परिक्षण गर्न बाली संरक्षण प्रयोगशालामा आउन कृषकहरूलाई आग्रह गरेका छन् ।

गोलभेडामा लाग्ने रोग
गोलभेडामा लाग्ने मुख्य रोगहरु बेर्ना कुहिने रोग, अगौटे डढुवा, पछौटे डढुवा, फ्युजारियम ओइलाउने रोग, ब्याक्टेरियल ओइलाउने रोग, जरामा लाग्ने गिर्खा रोग, पात गुजमुज पर्ने, गोलभेंडाको टाटेपाटे भाईरस रोगहरू हुन् । त्यस्तै हाल देखिएको रोग किराको तत्कालिन ब्यबस्थापनको लागि रोग लागेको फल हटाउने, रोगी बिरुवालाई नष्ट गर्ने, तामा युक्त तथा ढुसिनासक बिषादी प्रयोग गरे केही हद सम्म कृषक आफैंले नियन्त्रण गर्न सक्ने कृषी प्राविधिकहरु बताउँछन् ।