शरीरलाई स्वस्थ राख्न चाहिने ६ प्रकारका तत्वमध्ये भिटामिन एक हो । कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, बोसो (चिल्लो पदार्थ), पानी र मिनरल (खनिज) मध्येको एक भिटामिन हो । शरीरलाई स्वस्थ राख्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन र मस्तिष्कलाई सक्रिय बनाई सकारात्मक सोच र क्षमता बढाउनका लागि आवश्यक हुन्छ । हाम्रो शरीर असङ्ख्य कोष र विभिन्न प्रकारका तन्तु, अङ्ग, प्रणाली, अनेकन तत्व, रसराग (हर्मोन) अनि न्यूरोट्रान्समिटरको संयोजनबाट बनेको र चलिरहेको हुन्छ ।
यिनै अनेकन तŒवमध्ये विभिन्न प्रकारका भिटामिनका कारण शरीर स्वस्थ रहेको हुन्छ । प्रकृतिले नै दिएको रोग प्रतिरोधी क्षमता कायम राख्न हामीले खाएका खानेकुराबाट नै पूर्ति हुन्छ भिटामिन । भिटामिन चिनेर उचित मात्रामा नखाएकै कारण हामीलाई विभिन्न प्रकारका रोग लाग्न थालेका छन् । जस्तैः मधुमेह, थाइराइड, उच्च रक्तचाप, पायल्स, ग्यास्ट्रिक, पथरिया, मानसिक समस्या, बुढेसकालमा देखा पर्ने डिमेन्सिया, यौन शक्तिमा कमी, विभिन्न प्रकारका छालाका रोग, हड्डीसम्बन्धी रोग जस्तैः हड्डी खिइने, सामान्य चोटमा नै भाँचिने, चर्किने, मासी र मासंपेशी दुख्ने आदि आदि ।
भिटामिनका धेरै प्रकार भए पनि यसको शोषण प्रकृयाका हिसाबले २ भागमा विभाजन गरिएको छ, बोसो अर्थात् चिल्लो पदार्थसँग घुलिने र पानीसँग घुलिने । भिटामिन त खाइरहिएको छ तर के र कस्ता खानकुरासँगै खाएमा धेरै भन्दा धेरै आन्द्राबाट शोषण भएर शरीरमा पुग्छ भन्ने कुराको जानकारी हुनु आवश्यक छ । बोसो (फ्याट) मा घुलिने भिटामिनमध्ये पहिलो भिटामिन ए हो । यो भिटामिन हरेक उमेर समूहलाई आवश्यक भए पनि सबैभन्दा धेरै केटाकेटी र बूढाबूढीलाई आवश्यक हुन्छ । केटाकेटीमा कमजोर रोग प्रतिरोधात्मक क्षमता हुने र विभिन्न प्रकारका सङ्क्रामक रोगले आक्रमण गर्ने हुँदा यसबाट बच्न, रतन्धो र अन्य आँखामा लाग्न सक्ने रोगबाट बच्न भिटामिन ए धेरै चाहिन्छ । यसको कमी नहोस् भनेर सरकारले भिटामिन ए खुवाउने कार्यक्रम पनि हरेक वर्ष गर्दै आएको छ ।
यसरी नै बुढेसकालमा पनि खानाको कमी या विभिन्न रोगका कारण आवश्यक मात्रामा भिटामिन ए युक्त खानेकुरा खान नसकिने भएकाले र रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले यसको बढी आवश्यक पर्छ । यसरी नै गर्भवती महिला र स्तनपान गराउने आमाका लगि पनि अतिरिक्त मात्रामा भिटामिन ए खानुपर्छ । यो भिटामिनको कमी हँुदा रोग प्रतिरोधात्मक क्षमता मात्र कमी हुँदैन, आँखामा मात्र समस्या आउँदैन, शरीर फूर्तिलो नहुने मात्र रहँदैन अपितु प्रजनन् स्वास्थमा पनि प्रभाव देखाउने हुँदा यो भिटामिन प्राप्त हुने खानेकुरा र फलफूल अनि सागसब्जी प्रशस्त मात्रमा सेवन गर्नुपर्छ । हामीलाई दैनिक चाहिने मात्र भनेको १.५ मि.ग्रा. हो । जो हामीले दैनिक सेवन गर्ने खानेकुराबाट प्राप्त गर्न सक्छौं । यसका स्रोतहरू दूध, अण्डा, गाँजर, पाकेको फर्सी, मेवा, सुठुनी, सागपात, किवी, स्याउलगायतका पहेँला फलफूलमा प्रशस्त पाइन्छ ।
भिटामिन डी घाँटीको अगाडि थाइराइड ग्रन्थीको छेउमा रहेका साना पाराथाइराइड ग्रन्थीले उत्पादन गर्ने गर्छ । बोसो या चिल्लो पदार्थमा घुलिने यो भिटामिनको कमी भएमा हड्डीमा हुने रोग रिकेट्स, हड्डी खिइने र मांसपेशी कमजोर हुने, डिप्रेसन बढाउन सहयोग गर्ने, जीउ दुख्ने, सुन्निने, केटाकेटीमा दम रोग लाग्न सहयोग पुर्याउने, मुटुमा समस्या ल्याउने, मधुमेह, उच्च रक्तचाप, क्यान्सरजस्ता रोग लाग्न उक्साउने हुन्छ । यसले सेरेटोनिन जस्ता बायोकेमिकल हर्मोन मस्तिष्कमा उत्पादन गरेर आफूलाई खुसी तुल्याउन, शरीरलाई आवश्यक पर्ने क्याल्सियम शोषण गर्न भूमिका खोल्ने जस्ता विभिन्न सूक्ष्म कार्य गर्ने भिटामिन डी हाम्रो शरीरलाई अति आवश्यक तत्व हो ।
यसरी नै पछिल्लो अनुसन्धान अनुसार यो भिटामिनको कमी भएमा शरीर काम्ने–पार्किन्सन्स डिजिज), डिमेन्सिया(बुढेसकालमा बिर्सने), जस्ता घातक रोग लाग्ने सम्भावना धेरै रहेको छ । भिटामिन डी को मुख्य स्रोत भनेको सूर्यको किरण अथवा घाम हो । सकेसम्म बिहानको घाममा हरेक दिन १० मिनेट अथवा हप्तामा ३० मिनेट खुल्ला ढाड सो सम्भव नभए पातलो सेतो कपडा लगाएर बसेमा भिटामिन डी शरीरलाई चाहिने जति प्राप्त हुन्छ । अझ यसको राम्रोसँग शोषण हुनका लागि चिल्लो पदार्थ भएको खानेकुरा विशेष गरेर थोरै भए पनि घ्यू खानु राम्रो हो । यसको कमी भयो भने चिल्लो पदार्थ शोषणमा पनि कमी आउँछ । यसरी नै अन्य स्रोतहरूमा दूध र दुग्धजन्य पदर्थ, अण्डा, माछाको तेल आदि मुख्य हुन् । शरीरलाई चाहिने मात्रा ०.०१५ मिलिग्राम हो ।
भिटामिन ईः चिल्लो अथवा बोसोजन्य तत्वमा घुलिने भिटामिन ई शरीरलाई आवश्यकमध्येको एक हो । यसको कमी भएमा रक्तअल्पताका कारण जीउ सुन्निने, छालामा मोटोपन आउने, धेरै कमजोरी महसुस हुने र केटाकेटीमा कमी भएमा कलेजोसम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ । यसको कमीले छाला र ग्रन्थीमा पनि प्रभाव पार्ने हुँदा छालामा, छालामुनी, महिला या पुरुषका स्तनमा गाँठागुँठी आउने हुन्छ । मांसपेशी कमजोर हुने, हातखुट्टा कमजोर हुने, दृष्टि कमजोर हुने, बोसोको शोषणमा कमी आउनेजस्ता समस्या पनि देखापर्न थाल्छन् । हाम्रो शरीरलाई चाहिने मात्र ५.५ देखि १७ मिलीग्राम÷लिटर । स्रोत हामीले खाने चामल अझ पोलिस नगरेको भए राम्रो, दाल, गेडागुडी, मासु, दूध, अण्डा, सागसब्जी आदि ।
भिटामिन केः भिटामिन के मुख्य गरेर शरीरको कुनै पनि भागबाट अनावश्यक रूपमा रगत बग्नबाट रोक्ने र चाँडो रगत जम्न सहयोग गर्ने तत्व हो । यसको शरीरमा कमी भयो भने धेरै बेरसम्म चोटपटक लागेमा, महिलाहरूको पाठेघरबाट आवश्यकभन्दा धेरै रगत बग्ने, नाथ्री फुटेर धेरै रगत बग्ने आदि कारणबाट मानिसको अचानक मृत्युसम्म हुनसक्छ । यसका पनि के १ के २ जस्ता केही प्रकारहरू हुन्छन् । भिटामिन के २ ले भने मुटु रोग लाग्न र क्यान्सर रोग लाग्नबाट बचाउँछ । मात्रा पुरुषमा १ सय २० र महिलामा ९० मिलीग्राम ।
पानीमा घुल्ने भिटामिनः भिटामिन बी र सी पानीमा घुल्ने भिटामिन हुन् । यी भिटामिनको शरीरमा धेरै महत्व हुन्छ । यसमा पनि भिटामिन बी धेरै प्रकारका र शरीरमा पनि विभिन्न प्रकारका काम गरिरहेका हुन्छन् । भिटामिन बी १ लाई थाइमिन पनि भनिन्छ । पानीमा सजिलै घुल्ने यसको कमी भएमा बेरीबेरी, मुटुमा विभिन्न समस्या, नसासम्बन्धी समस्यालगायतका थुप्रै रोगहरू लाग्न सहयोग पुग्छ । यसका साथै यो भिटामिनले हरेक कोषमा रहेर शक्ति उत्पादन गर्न अनि दिमागलाई सामान्य राख्न मद्दत गर्छ । यसका स्रोतहरू माछा, मासु, अण्डाको पहेँलो भाग, विभिन्न प्रकारका दाल, गेडागुडी, आलु, कोदो, जौ, फापर आदि हुन् । यी खाद्यान्नमा प्रशस्तमात्रामा भिटमिन बी १ पाइन्छ ।
भिटामिन बी २ः यसको अर्को नाम हो राइबोप्mलोविन । पानीमा सजिलैसँग घुल्ने भिटामिन बी २ ले हरेक कोषमा रहेर शक्ति उत्पादन गर्न मद्दत गर्नुका साथै विभिन्न प्रकारका अत्यावश्यक तत्वले शरीरलाई स्वस्थ राख्न सहयोग गरिरहेको हुन्छ । यसको कमी भएमा कलेजो, फियो सुन्निने मुखमा घाउ आउने, समयभन्दा अगावै बच्चा जन्मिने, पाचन प्रणालीमा समस्या देखापर्ने, जन्मिने बित्तिकैको बच्चामा कमलपित्त(नियोनेटल जण्डिस) देखापर्ने, शरीरका विभिन्न भागमा मसिना बिमिरा देखापर्ने जस्ता समस्या हुन्छन् । यो दूध र दुग्धजन्य पदार्थ, अण्डा, कलेजो, उम्रिएका गेडागुडी, ब्रोकाउली, पालक आदिमा प्रशस्त मात्रामा पाइन्छ ।
भिटामिन बी ३ः भिटामिन बी ३ को पनि मुख्य काम शरीरका कोषमा रहेर शक्ति उत्पादन गर्नु हो । यसलाई नाइसिन पनि भनिन्छ । यसको मुख्य स्रोत माछा, मासु अन्य खाद्यपदार्थ हुन् । भिटामिन बी ५ लाई पेन्टोथेनिक एसिड पनि भनिन्छ । यसको पनि मुख्य काम कोषमा रहेर शक्ति उत्पादन गर्नु नै हो । यो भिटमिनका स्रोतमा फलफूल, सागसब्जी, दाल आदि हुन् । भिटामिन बी ६ः भिटामिन बी ६ लाई पाइरोडोक्सिन पनि भनिन्छ । यसको पनि मुख्य काम शरीरका कोषलाई शक्ति प्रदान गरेर मजबुत बनाउनु हो । र, शरीरमा शक्ति उत्पादन गर्न मद्दत गर्नु हो । यसको कमी भएमा अचानक बेहोसीपना देखापर्ने या मस्तिष्कसम्बन्धी समस्या देखापर्ने हुन्छ । यसका स्रोतहरू माछा, मासु, दाल, दूध, अण्डा, पालकको साग आदि हुन् । भिटामिन बी ७ः भिटामिन बी ७ लाई बायोटिन पनि भनिन्छ । यसको काम पनि शरीरका कोषमा रहेर शक्ति उत्पादन गर्न मद्दत गर्नु हो । यसको स्रोत पनि हामीले सेवन गर्ने खानेकुराहरू नै हुन् ।
भिटामिन बी ९ः भिटामिन बी ९ लाई फोलिक एसिड पनि भनिन्छ । रातो रक्तकोषमा रहेको हिमोग्लोविन बढाउन मुख्य भूमिका खेल्नुका साथै सम्पूर्ण नसाको कोष विकासमा सहयोग गर्छ । यो भिटामिनको कमी भएमा रक्त अल्पता, पेटसम्बन्धी समस्या, मांसपेशीको दुखाइ आदि हुन्छ । यो भिटामिनको महŒव स्वस्थ बच्चा जन्मन सहयोग गर्नु पनि रहेकाले गर्भवती महिलालाई खुवाउने गरिन्छ । यसको स्रोत हरियो सागपात, दाल, गेडागुडी, माछा, मासु, कलेजो आदि हुन् ।
भिटामिन बी १२ः भिटामिन बी १२ लाई साइनाकोबाल्मिन पनि भनिन्छ । यसले शरीरका कोषमा रहेर शक्ति उत्पादन गर्न सहयोग गर्नुका साँथै मानसिक विकासमा पनि भूमिका खेल्छ । यसको कमी भयो भने रक्तअल्पता, शरीरका अङ्ग निदाउने, झम्झम गर्ने, पखाला लाग्ने, मानसिक कमजोरी देखापर्ने जस्ता अरु धेरै समस्या देखा पर्छन् । यसका स्रोतहरू दूध, दही, सागपात, कलेजो, अण्डा आदि हुन् ।
भिटामिन सीः मानव शरिरलाई अत्यन्तै आवश्यक पर्ने भिटामीन सीले हाम्रो शरिरमा धेरै काम गरिरहेको हुन्छ । यसले कोषिकाको विकास, हड्डीको विकास, रक्तनसा र छालाको सुन्दरता बढाउन, मुटुको रोगबाट बचाउन, मोतीविन्दु हुनबाट रोक्न, कालेस्ट्रोल सामान्य राख्न, शरीरलाई चाँडै थकानबाट बचाउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । यसको कमी भएमा स्कर्भी, घाउ ढिलो निको हुने, रगत धेरै बग्ने, रक्तअल्पता, पटक–पटक रुघामर्की लाग्ने, एलर्जी, गिँजाबाट रगत बग्ने, हात खुट्टामा बिमिरा, खटिरा आउने जस्ता समस्याबाट ग्रसित भइन्छ । यसको स्रोत हरियो सागसब्जी, अमिला फलफूल, स्याउ, आलु आदि ।
मिनरलः हाम्रो शरीरलाई चाहिने विभिन्न प्रकारका मिनरल जस्तैः क्याल्सियम क्लोराइड, म्याग्नेसियम, फस्फोरस, सल्फर, सोडियम, पोटासियम, क्रोमियम, कोवाल्ट, कपर, फ्लुराइड, आयोडिन, फलाम, जिङ्क, सेलिनियम आदिले सूक्ष्म रूपमा काम गरिरहेका हुन्छन् ।
क्याल्सियमः हड्डी र दाँतलाई मजबुत बनाउन मुख्य भूमिका खेल्ने क्याल्सियमको शोषण भने भिटामिन डीको सहयोगमा हुने गर्छ । शरीरमा निक्कै मात्रामा रहने यो तत्वले रगतलाई जमाउन, रक्तचाप नियन्त्रण राख्न, मांसपेशीको गति नियन्त्रण गर्न, हड्डी बलियो बनाउन भूमिका खेल्छ । यसको कमीले हड्डी खिइने, रक्तस्राव धेरै हुने, मासंपेशी बाउँडिने, मुटुको धड्कनमा एकरूपता नहुने, चाँडै गल्ने, थकान महसुस हुनेजस्ता धेरै समस्या देखा पर्छन् । यसका स्रोतहरू दूध, दूधबाट बनेका परिकार, हरियो सागसब्जी, च्याउ, ब्रोकाउली, केरा, स्याउ, मछामासु, अण्डा आदि मुख्य हुन् ।
क्लोराइडः क्लोराइड तत्वले शरीरमा पानी र पानीमा रहने तत्वको ब्यालेन्सलाई नियन्त्रण गर्छ । यसका साथै पाचन प्रणालीमा अम्लीय (एसिड)पन पनि नियन्त्रण गर्छ । यसको स्रोत भनेको नुन, दूध, मासुजन्य खानेकुरा, सागसब्जी हुन् ।
म्याग्नेसियमः शरीरलाई अति आवश्यक प्रोटिन तत्व बनाउन सहयोग गर्ने, मांसपेशीको गति नियन्त्रण गर्न, नसालाई चलायमान राख्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन ठूलो भूमिका खेल्ने म्याग्नेसियम मिनरल समूहको तत्व हो । यसको स्रोत समुद्री माछा, या समुद्रमा पाइने घाँस, बदाम, गेडागुडी, हरियो सागसब्जी आदि हुन् ।लामो समय सेवन गर्नु हुदैन् ।
सल्फरः सल्फरको मुख्य काम भनेको कोषमा प्रोटिनको निमार्ण र प्रयोग हो । यसरीनै हर्मोन र एण्टीवडी अनि पाँचन रस निमार्णमा पनि यसको भूमिका रहन्छ । सल्फरको मूख्य स्रोत भनेको गेडागुडी, सागपात, माछामासु, अण्डा आदि हुन् ।
(लेखकः डा. लेखनाथ न्यौपाने होमियोप्याथिक चिकित्सक हुन् ।)