दमक/ मध्यरात, गाउँ चीरनिद्रामा थियो । भारतबाट आएका डाकाको समूहले छिमेकीको घर नियन्त्रणमा लिएर सम्पति गाइबस्तु लुट्न थाले । छिमेकीको गुहारको आवाजले टेनटेन राजवंशी ब्युझिए । परिवार नै बाहिर निस्किए ।

एक हातमा टर्चलाइट बोकेका थिए । टर्चलाइट के बालेका थिए, डाकाको समूहले गोली चलाए । त्यही गोलीले श्रीमती परवादेवीका छाती छिचोल्यो । उनको हातको पाखुरामा लाग्यो । छोरोको खुट्टामा । गोली लागेको पीडा भुलेर घाइते श्रीमती लिएर उपचारका लागि अस्पताल पुगे । तर बचाउन सकेनन् ।

१२ वर्षअघिको यो घटना टेनटेनको दिमागमा ताजै छ । झापाको गौरिगञ्ज गाउपालिका–५ फत्तेपुरका टेनटेन सीमा क्षेत्रका नेपाली हुन् । टुनटुन भन्छन्, ‘जेठो छोराको पनि तिघ्रामा गोली लाग्यो । पुरै परिवार घाइते भयौं ।

छिमेकी गुहारभन्दा हामी निस्कियौं तर हामीलाई गोली लाग्दा न त छिमेकी आए । न त राज्यले नै सुन्यो ।’ पाखुरामा लागेको गोलीको घाउ बिस्तारै निको त भयो । तर उनको पीडा अझै आलै छ । यतिका वर्ष बितिसक्दा पनि उनले न त श्रीमतीका हत्यारालाई कठाघरामा उभिएको देख्न पाए ।

न त उनको उपचारमा सहयोग नै । घटनाका प्रत्यक्षदर्शीसमेत रहेका स्थानीय नारायण प्रसाद गन्गाईले त्यो बेला सीमा क्षेत्रका बस्ने अवस्था नभएको बताए । गोठमा बाँधेका गाईबस्तुदेखि ढुकुटीमा राखेकोअन्नपात सबै लुटेर लग्ने गरेको उनले सुनाए ।

नेपाल र भारत बीच खुल्ला सिमाना भएका कारण सिमा क्षेत्रका बासिन्दाले भोग्ने पीडा हो यो । नेपालले सिमा सुरक्षा गर्न सुरक्षाकर्मी नराखेका स्थानमा स्थानीय बासिन्दा नै यसको रेखदेख गर्दै आएका छन् । सीमामा बस्ने उनीहरूले राज्यसँग सुरक्षाको लागि याचना गरिरहेका छन् ।

सीमामा हुने आपराधिक भारतीय समुहको आक्रमणमा परि ज्यान गुमाएकाको परिवार र घाईतेहरुलाई राज्यले हालसम्म सम्बोधन गर्न सकेको छैन ।