विजयपुर । पुनम फाउण्डेशन काठमाडौँले महिला हिंसा विरुद्ध आत्मरक्षा सम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार आयोजित समापन कार्यक्रममा सहभागी छात्राहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीता कुमारी चौधरी प्रमुख अतिथि थिइन् । इटहरी नागरिक समाजका अगुवा राजु केसी, समाजसेवी आकाशहाङ लिम्बुलगायत वक्ताहरूले महिला हिंसा विरुद्ध अभियान सञ्चालन गर्न संस्थागत रूपमा पुनम फाउण्डेशन स्थापना गरी विभिन्न कार्यक्रमहरू आयोजना गरेकोमा अध्यक्ष पुनम सुब्बाको योगदानको प्रशंसा गरेका थिए । तालिमको सहजीकरण मोहन विश्वकर्माले गरेका थिए । वक्ताहरूले सामाजिक विकृति अन्त्य र महिला हिंसा न्यूनीकरणका लागि समाजका सबै क्षेत्र आफ्नो–आफ्नो स्थानबाट सक्रिय हुनुपर्नेमा जोड दिएका थिए । केशवप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा इटहरी क्षेत्रका विभिन्न क्याम्पसका ८० भन्दा बढी छात्राहरूले आत्मसुरक्षा सम्बन्धी तालिम प्राप्त गरेका थिए ।