हङ्कङ । आइतबार बिहानको समय । हङ्कङको व्यस्त र व्यावसायिक केन्द्र मानिने ‘सेन्ट्रल’ र नेपालीहरूको बाक्लो चहलपहल हुने जोर्डनका गल्लीहरूमा अन्य दिनजस्तो हतारो थिएन । तर हात–हातमा पुष्पगुच्छा र मनमा श्रद्धाको भारी बोकेका सयौँ नेपाली तथा विदेशीहरूको गन्तव्य भने एउटै थियो–सान टिनको त्यो शान्त पहाड, जहाँ ५ सयभन्दा बढी गोर्खाली वीरहरूको समाधि (चिहान) रहेको छ ।
सहरको कोलाहलबाट करिब ४० किलोमिटरको सडक छिचोल्दै जब मानिसहरू ‘गोर्खा सिमेट्री’ पुगे, त्यहाँको दृश्य निकै भावुक र गौरवपूर्ण देखिन्थ्यो । सरकारी बिदाको दिन, परिवारसहित पुर्खाहरूको सम्झनामा भेला भएकाहरूको आँखामा आदर र मनमा इतिहासको सम्झना ताजा देखिन्थ्यो । सन् २००४ देखि गोर्खा सिमेट्रिज ट्रष्टले संरक्षण गर्दै आएको यो समाधिस्थलमा आइतबार केवल प्रार्थना मात्र भएन, पुर्खाहरूसँगको आत्मिक संवाद पनि भयो । कार्यक्रमको सुरुवातमा आयोजक संस्थाका सचिव देवराज राईले जब पुर्खाहरूको बलिदान र उनीहरूले विदेशी भूमिमा बगाएको पसिना र रगतको कथा सुनाए, उपस्थित दीर्घामा रहेका धेरैका आँखा रसाए ।
विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूले जब औपचारिकरूपमा पुर्खाहरूलाई ‘सलामी’ अर्पण गरे, दिवङ्गत सैनिकका परिवारजनहरू भावुक बने । कतिपयले आफ्ना बाजे–बराजुको चिहानमा पुष्पगुच्छा चढाउँदै धित मरुञ्जेल उनीहरूलाई सम्झिए । झन् कलेज पढ्दै गरेका वीर गोरखाका सन्तती प्रज्वल गुरुङले दुई मिनेट मौन धारणमा सलामी धुन बजाएर उपस्थितलाई प्रभावित बनाए । बेलायती सेनामा भर्ती हुने अठोट बोकेका नयाँ पुस्ताका प्रज्वल यो बाजा बजाउने एक्ला व्यक्ति हुन् ।
इतिहास जीवित राख्ने अठोट र उत्साह लिएर केही विद्यार्थीहरू कार्यक्रममा विना सर्त भोलेन्टियर्स् भएर सैनिक पोसाक र बाजासहित उपस्थित भएका थिए । कार्यक्रममा बोल्दै भूतपूर्व सैनिक सङ्घका अध्यक्ष खड्गप्रसाद राईले एक महŒवपूर्ण सुझाव दिए । उनले भने, “हाम्रो इतिहास मेटिन दिनु हुँदैन । नयाँ पुस्तालाई हाम्रा पुर्खाहरूले विश्व शान्तिका लागि गरेको योगदानबारे जानकारी गराउनु नै उनीहरूप्रति साँचो श्रद्धाञ्जली हुनेछ ।”
संस्थाका अध्यक्ष अमोद राईले सन् २००४ देखि निरन्तर रूपमा यो दिवस मनाउँदै आएको स्मरण गराउँदै पुर्खाहरूको वीरतालाई जीवित राख्न ट्रष्टले गरिरहेको प्रयासबारे प्रकाश पारे । उनले यो दिवस केवल एउटा औपचारिक कार्यक्रम मात्र नभई हङ्कङको इतिहासमा गोर्खालीहरूको अमिट छापलाई सम्मान गर्ने दिन भएको बताए । पुर्खा दिवसको यो विशेष अवसरमा हङ्कङ, चीन र नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत, हङ्कङ नेपाली महासङ्घ, बेलायत, नेपाललगायत ठाउँबाट अतिथिहरूको उपस्थितिले सैनिक परिवारहरूलाई थप ऊर्जा प्रदान गरेको थियो । कूटनीतिक व्यक्तित्वहरूको उपस्थितिले गोर्खालीहरूले हङ्कङको सुरक्षा र निर्माणमा पु¥याएको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमै कदर गरिएको महसुस गराएको थियो ।
ब्रिटिश र इन्डियन गोर्खा भूतपूर्व सैनिक सङ्घदेखि लिएर स्काउट, विद्यार्थी र विभिन्न सामाजिक सङ्घ–संस्थाहरूको बाक्लो उपस्थितिले कार्यक्रमलाई भव्य बनाएको थियो । ब्रिटिश महावाणिज्य दूतावास र बेइजिङस्थित रक्षा सहचारीको उपस्थितिबाट यस क्षेत्रको ऐतिहासिक सैन्य सम्बन्धको महŒव झल्किएको थियो । साँझ ढल्किँदै गर्दा, सबैले आफ्ना पुर्खाहरूको समाधिमा माला र पुष्पगुच्छा चढाएर बिदा भए । सान टिनको त्यो पहाड फेरि शान्त भयो, तर त्यहाँ रहेका ५ सयभन्दा बढी वीरहरूका गाथा भने उपस्थित प्रत्येकको मनमस्तिष्कमा नयाँ उत्साह र गौरव भर्दै फर्किए ।
यो पुर्खा दिवसले फेरि एकपटक प्रमाणित गरिदियो कि ‘पुर्खाको बलिदान रहिरहनेछ, जबसम्म हामी उनीहरूलाई सम्झिरहनेछौँ ।” यो कार्यक्रममा पाहुनाहरू र स्थानीय विद्यालयका विद्यार्थीहरूको सहभागिताले पुस्तान्तरणको सन्देश पनि दिएको थियो । भविष्यमा पनि यो परम्परा कायम राख्दै अझ व्यापक बनाउने आयोजकले जनाएको छ । सन् २००४ देखि हरेक वर्ष ५ अप्रिलका दिनलाई पुर्खादिवसको रूपमा मनाउन थालिएको पुर्खा दिवस विशेष दिनका रूपमा हङ्कङमा लिइँदै आएको छ । हङ्कङका सरकारी विद्यालयहरूमा पुर्खादिवस कार्यक्रमलाई विद्यालयको क्यालेण्डर तथा पाठ्यक्रममा समेत संलग्न गराई पुर्खा दिवस मनाउन थालिएको हो । गोर्खा सिमेट्रिज ट्रष्टले पुर्खादिवसलाई विश्व पुर्खा दिवसको रूपमा विकास गर्दै लैजाने जनाएको छ । नेपाली इतिहासमा यतिञ्जेल छायाँमा पारिएको यति ठूलो गोर्खा हिस्सालाई समुदायबीच ल्याउँदै नेपाली इतिहासलाई परिपूर्णता दिने काममा गोरखा सिमेट्रिज ट्रष्ट लागेको छ ।
विश्वभरका युद्ध समाधिस्थलमध्ये हङ्कङको गोर्खा समाधिको संरक्षणमा ‘गोर्खा सिमेट्रिज ट्रष्ट हङ्कङ’ र त्यहाँका सचेत नेपालीले विशेष चासो देखाएको पाइन्छ । गोरखा इतिहासबारे जानकार देवराज राईका अनुसार हङ्कङको क्यासिनो लाइनमा अवस्थित ताम्मी क्याम्पमा एक ठूलो क्षेत्रफलभित्र बेलायती सैनिक सेवाकालमा मृत्युवरण गरेका गोर्खालीका पाँचसय ८० भन्दा बढी समाधि संरक्षणमा रहेका छन् । जसको सुरक्षा वार ग्रेभ्स कमिसनले गरिरहेको छ । साँघुरो हङ्कङमा ११ वटा समाधिस्थल दर्ता भए पनि ‘नर्वेजियन फार्म सिमेट्री’ जस्ता ठाउँको नामोनिसान नभएको उनले बताए ।
नेपाली इतिहासमा यतिञ्जेलसम्म छायाँमा पारिएको गोर्खा इतिहासलाई अब न्याय दिई इतिहास पुनर्लेखन गर्नुपर्ने उनको भनाइ छ । “यदि हामीले गोर्खाहरूलाई साँचो अर्थमा सम्मान गरेका छौँ भने भावी पुस्ताले पुष्पगुच्छा अर्पण गर्न सक्ने र श्रद्धाले शिर झुकाउन सक्ने एउटा विशाल स्मृतिस्तम्भ काठमाडौँमा निर्माण गरिनुपर्छ” उनले भने, “पुर्खा दिवसलाई वार्षिक पर्वका रूपमा विश्वव्यापीरूपमा मनाउँदै नेपाली एकताका लागि एउटा बलियो इन्स्ट्च्यिुसनको रूपमा विकास गर्नुपर्छ ।”
आयोजक गोर्खा सिमेट्रिज ट्रष्टले गोर्खाहरूको तथ्याङ्क सङ्कलन र अनुसन्धान गरी प्रथम र दोस्रो विश्वयुद्धमा हताहत भएका लगभग ४० हजार गोर्खालीको तथ्याङ्क प्रकाशित गरिसकेको छ । सनाखत नभएका गोर्खाहरूको नामावली तयार पार्ने र बेलायत सरकार, कमनवेल्थ वार ग्रेभ्स कमिसनसँग मिलेर साङ्ख्यिकी निकाल्ने कामसमेत भइरहेको ट्रष्टले जनाएको छ ।
गोर्खालीहरूको यो दुईसय वर्षभन्दा लामो इतिहासलाई राज्यले यथार्थपरक मूल्याङ्कन नगरेका कारण आज भावी सन्ततिले यसप्रति गहिरो चासो लिनुपर्ने बेला आएको ट्रष्टका अध्यक्ष अमोद राईले बताए । “६० हजारभन्दा बढी हताहत भएका शूरवीर गोर्खाहरूको इतिहास केवल समाधिस्थलको ढुङ्गामा ‘एक योद्धाको मृत्युवरण भयो’ भन्ने एक लाइनमा सीमित हुनुहुँदैन” उनले भने, “आफ्नो देशका जनतालाई युद्धमा पठाएर त्यसको क्षतिपूर्ति नदिने राज्यले अब आफ्नो दायित्व बुझ्दै सुगौली सन्धि र त्रिपक्षीय सन्धिको स्पष्टीकरण दिनुपर्छ र यो महान् इतिहासलाई राष्ट्रको मूलधारमा ल्याउनुपर्छ ।”































