विजयपुर । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार नाकाको बसपार्क, भन्सार र बजार क्षेत्रबाट बिचौलिया पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले पक्राउ परेका सबै पुरुष रहेको बताए । लामो तथा छोटो दूरीका यातायातका साधनमा चढाउन, होटलमा बास बसाउन र अस्पतालहरूमा उपचारका लागि लगिदिन भन्दै जबर्जस्ती यात्रु तानातान गर्नेहरूलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको खड्काले जानकारी दिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले नियन्त्रणमा लिएको हो । बिचौलियाले दुःख दिएको भनेर यात्रुबाट गुनासो आएपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नाकाको बसपार्क, बजार र भन्सार आसपासमा निगरानीका लागि प्रहरी परिचालन गरेको थियो । रासस































