विजयपुर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड धरान शाखा कार्यालयले मानव सेवा आश्रम धरानमा सहयोग गरेको छ ।
सोमबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा आश्रित व्यक्तिहरूलाई खाद्यान्न सहयोग गरेको हो । कार्यक्रममा आश्रममा रहेका करिब ३६ जना असहाय, अशक्त तथा बेसहारा व्यक्तिहरूका लागि आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो । बैंकका शाखा प्रमुख विष्णु प्रसाद पोखरेलले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताए । उनले बैंकले समाजप्रति आफ्नो जिम्मेवारी बोध गरी हरेक वर्ष सहयोग गर्दै आएको बताए । उनले देशभरका शाखामार्फत निःशुल्क स्वास्थ्य शिविर, शैक्षिक सामग्री वितरण, सरसफाइ तथा हरियाली प्रवद्र्धनलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । कार्यक्रममा आश्रमका जिल्ला संयोजक निर्मला दर्लामी मगर तथा बैंकका धरान शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो । सन् २०६४ सालमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल देशभर २०० शाखा, १६९ एटीएम, ३ एक्सटेन्सन काउन्टर र ४२ शाखारहित बैंकिङ सेवामार्फत करिब २० लाख ग्राहक रहेको जनाएको छ । साथै, फोनपे सँगको सहकार्यमा बैंकले नेपालमै पहिलोपटक भर्चुअल क्रेडिट कार्ड सेवा समेत सञ्चालनमा ल्याएको छ ।































