धरान । सुनसरीको धरान–१६ स्थित सिद्धार्थ शिशु सदन स्कुलमा पाँच कक्षामा अध्ययनरत एक विद्यार्थीमाथि शिक्षकले कुटपिट गरी घाइते बनाएका छन् ।
कक्षा ५ को फाइनल परीक्षा दिएका सिद्धार्थ कटवाललाई शिक्षक प्रदीप सुवेदीले कुटपिट गरेका हुन् । उनले सिद्धार्थसहित करिब पाँचजनालाई कुटपिट गरेका थिए । जसमध्ये कट्वालको हातमा चोट लाग्ने गरी लठ्ठीले कुटेका हुन् ।
सिद्धार्थका अभिभावक धनबहादुर कट्वालका अनुसार स्कुलमा आफ्नो सोझो छोरामाथि कुटपिट गरेको बताए । उनले कुटपिटबाट चोटसमेत लागेपछि बाध्य भएर इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको बताए । “आज कम्प्युटरको अन्तिम परीक्षा थियो । एसेम्ब्लीमा ग्यादरिङ गर्दा नानीहरूलाई कुटेछ । मेरो नानीलाई चाहिँ साह्रै हुने गरी कुटेछ” उनले फोनसम्पर्कमा भने, “नबुझिकन कुटेछ । हामी आफै सरप्राइज भयौँ । सिधा टाइपको बच्चा छ । हामीले कहिल्यै छोरालाई कुटेका थिएनौँ । उसको क्लासको पनि हैन रहेछ । ठूलो क्लासको शिक्षकले कुटेछ ।”
यता आरोपित शिक्षक प्रदीप सुवेदीले आफूले गल्ती गरेकोबारेमा अभिभावकसँग पनि कुराकानी गरेको बताए । उनले फोनसम्पर्कमा भने, “गार्जेनसँग पर्सनल्ली माफ माग्छु भन्दा फोन काट्नुभयो । एक्सिडेन्ट्ली भएको हो । साह्रो कुटेको होइन । सानो लठ्ठीले कुटेको हो । हातमा लागेर चाहिँ अलिकति काटेछ ।”
उनले विद्यार्थीहरूले फटाइँ गरेका कारणले नै कुटेको दाबी गरे । “फटाइँ गरेकाले नै कुटेको हो । क्यामेरामा हेर्दा चार–पाँच जना बच्चाहरू तानातान गरेको देखियो” उनले भने, “ती सबैलाई कुटेको हो । उसलाई चाहिँ छडीले हातमा लागेछ । घाउ नै भएको रहेछ ।” अभिभावकको तर्फबाट आमा सीता पौड्याल कट्वालले निवेदन दिएकी छन् ।
अभिभावक धनबहादुरले भने, “मैले भ्याइनँ, आमाचाहिँले उजुरी दिएको छ । शिक्षकको नाममा उजुरी दिएका छौँ ।” इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले सिद्धार्थ शिशु सदनका शिक्षकका विरुद्धमा निवेदन परेको बताए । उनले उजुरीउपर छानबिन हुने बताए ।































