‘प्रत्येक दिन जीवनको अन्तिम दिन हो भनेर बाँच्ने हो भने … ‘, उसले त्यति मात्र भनी ।
नेदरल्यान्डस्को राजधानी आमस्र्ट्डमबाट आएका ८० वर्षीया सेलिया र ७१ वर्षीया मार्गरेटले मात्र होइन, उनीहरुभन्दा आधा उमेर कमको मैले पनि झन्डै एक घन्टा पारिपटि्टको सिँढीमा बसेर पशुपति आर्यघाटतिर अन्त्येष्टिका दृश्यहरु हेरिरह्यौं ।
मार्गरेटको यो नेपाल आगमन १२ औं रहेछ भने पशुपतिमा ऊ दोस्रोपटक आएकी रहिछ । सेलिया भने नेपालमात्र होइन, पशुपति पनि पहिलोपटक नै आएकी थिई । त्यसकारण त्यो उसका लागि निकै नौलो र उसकै शब्दमा ‘सुनौलो क्षण’ थियो ।
‘झन्डै दश बर्षअगाडि पहिलोपटक यो अन्त्येष्टि क्षेत्र आउँदा मसँग छोरी पनि थिई । छोरीले उसको पिता गुमाएको दुई महिनामात्रै भएको थियो । त्यसैले ऊ निकै भावकु भएकी थिई । र, निकै बेरसम्म रोएकी थिई’, मार्गरेटले सम्झी ।
छोरीका पिता अर्थात मार्गरेटको पति । तर, कुरा के रहेछ भने छोरीको पिता उसको पूर्व पति मात्र रहेछ । र, ऊप्रति मार्गरेटको कुनै संवेदनशीलता रहेनछ । यदि उसमा कुनै किसिमको संवेदशनशीलता थियो भने पनि पति वा पूर्व पति नभई आफ्नी छोरीको पिताको हिसाब र हैसियतले मात्र थियो ।
‘ऊ मेरो पूर्व पतिमात्र थियो । ऊप्रति मेरो कुनै इमोसन थिएन’, मार्गरेटले भनी ।
‘तर, छोरीले पिता गुमाएकी थिई । र, पितालाई सम्झेर ऊ दुखी भई । उसको दुखमा म पनि सँगै थिएँ’, उसले थपी ।
‘जसरी कोही अपरिचितको मृत्यु देख्दा जोसुकैमा जस्तो सामान्य भाववोध हुन्छ, मलाई त्यसभन्दा बढी केही भएन’, उसले आफ्नो अनुभूतिलाई सजिलो शब्दमा व्याख्या गरी ।
‘जब तिमीले तिम्री छोरीका पितालाई छोड्यौ, त्यसपछि फेरि नयाँ जीवन सुरु गर्यौ ?’, मैले सोधें ।
‘गरें । तर, अहिले फेरि पनि म सिंगल छु’, हाँस्दै र अलि सर्तक भएर मार्गरेटले पन्छिन खोजे झैं गरी ।
ऊ सन् १९९८ मा पहिलो पटक नेपाल आएकी थिई । त्यसपछि केही बर्ष नेपाल आइन ।
‘नेपालमा हतियारको ‘राजनीति’ सुरु भयो । त्यो केही बर्ष निकै हिंस्रक पनि भयो’, उसले कारण बताई ।
‘जब नेपालमा शान्ति सुरु भयो, बर्षैपिच्छे आइरहेको छु,’ उसले भनी ।
‘तिमी नेपाल एडिक्ट भइसकिछ्यौ । तिमी मात्र होइन, यहाँ आउने बहुसंख्यक पर्यटक पटकपटक नेपाल आउने गरेको तथ्यांकले नै प्रमाणित गरेको छ । नेपाल एउटा सुन्दर एडिक्सन हो’, मैले भनें ।
‘नेपाल मिन्स् ओन्स इज नट इनफ’, मैले पर्यटकीय हिसाबले पञ्चिङ स्लोगन भनिरहँदा ऊ मभन्दा बढी उत्साहित भएर ‘यस्’ भन्दै थिई ।
मार्गरेटको पटकपटकको नेपाल आगमनलाई मैले सेलियातिर मोड्दै भनें, ‘तिमी ८० बर्षकी जवान रहिछ्यौ । र, जब तिमी ८१ बर्षकी हुन्छ्यौ, तिमी फेरि नेपाल आइसकेकी हुनेछ्यौ ।’
उसले पनि सहमतिमा टाउको मात्र हल्लाइन, आँखा पनि चम्किलो पारी ।
ती चम्किला आँखा पशुपति आर्यघाटका दृश्यहरुबीच निकै रसाएका थिए । हामी तीनैजना मौन थियौं र जलिरहेका शवरु नजिकै छरिएका आफन्त र निकटस्थहरु पनि उस्तै गरी मौन थिए । तर, म देख्दै थिएँ, मार्गरेट र सेलियाका आँखाहरु निकै बेरसम्म ओभाएका थिएनन् । जब ब्रम्हनालमा शवको मुखमा जल चढाउँदै आफन्तहरु आदरसाथ नमस्कार गर्दै थिए, उनीहरु पनि टाढैबाट शवलाई उस्तै गरी नमस्कार गर्दै थिए ।
‘रेस्पेक्ट’, पारिपटि्ट इशारा गर्दै सेलियाले मतिर हेरेर भनी ।
‘रेस्पेक्ट’, फेरि पनि मतिर एक टकले हेर्दै उसले भनी ।
त्यति भन्दै उसले मलाई अंगालो हाली र रोइरही ।
मृत्युपछिको आदरले ऊ भित्रैदेखि भावुकमात्र भएकी थिइन, उसको मनैदेखिको कम्पन उसको अंगालो हुँदै मसम्म पनि आइपुगेकोे मैले महसुस गरें । तर, कति मानिस जीवनकालमा घृणा र सायद मृत्युपछि देखावटी श्रद्धा गर्न मात्र त्यहाँ पुगेका थिए । त्यो सायद उसले बुझिन । मैले बुझाउने प्रयत्न पनि गरिनँ ।
उनीहरु निकै बेरसम्म पशुपतिका पर्याय झैं भइरहे । मैले उनीहरुलाई उनीहरुको भावदेशबाट बाहिर ल्याउने प्रयत्न पनि गरिनँ ।
‘उनीहरु मृत्युवोध गर्दै थिए वा जीवनवोध ? मृत्युवोध वा जीवनवोधबीच के फरक छ ? यी फरक छन् कि समान ? यी भिन्न हुन् कि एक ?’, म यस्तै-यस्तै सोच्दै मेरा छेउछाउका अनेक जीवितबीच पारी लामवद्ध शवहरु हेर्दै एक्लै-एक्लै टोलाइरहें । आँखाहरु मेरा पनि भिजिसकेछन् ।
हामी त्यहाँबाट र्फकदै गर्दा उनीहरुले भर्खरैको पशुपति यात्राको सम्झना गर्दै जीवनकै एक विशेष दिन भनेर त्यो दिनलाई अभिनन्दन गरे । त्यो यात्राको एउटा हिस्सा म पनि थिएँ ।
गाइडिङ पेशाले मलाई त्यहाँ नियमितजसो डोर्याउने गर्छ । तर, जब त्यहाँ पुग्छु, म बिर्सन्छु, म पेशाले गाइड हुँ । मलाई लाग्छ, ‘त्यो मेरो ठाउँ हो ।
मेरा पि्रयहरुलाई अन्तिमपटक उनीहरुको महाशान्तिसहितको अनुहार हेर्दै भक्कानिएको ठाउँ हो । रोक्न खोज्दाखोज्दै मुटु चुँडिएको ठाउँ हो । ती हातहरु जो मेरो टाउकोमा आर्शिवाद र आत्मविश्वास बनेर पोखिन्थे, ती आँखाहरु जहाँ प्रेमको पवित्रता थियो, ती मान्छे जो थिए र जीवन सजिलो थियो, ती थिए र जीवन उज्यालो थियो, ती सब खरानी भएको त्यो क्रुर ठाउँ हो ।’ फेरि पनि जहिल्यै मलाई त्यो मेरै ठाउँ लाग्छ । फेरि पनि मलाई त्यो ठाउँ जहिल्यै प्रिय लाग्छ ।
हामी फर्किरहेका थियौं । हो, हामी फर्किरहेका थियौं । हामी ठमेल फर्किरहेका थियौं । तर, फेरि हामी आर्यघाट … ।
लामो सास तानेर म उनीहरुतिर फर्कें । उनीहरु जीवनका सुनौला गीत गाइरहेजस्ता देखिन्थे । उनीहरुले मलाई पुलपुलाए, ‘तिमीले आज जे देखायौ, हामीले आफैंलाई देख्यौं, आफैभित्रको अनुभुतिलाई देख्यौं ।’
भनिन्छ नि मशान वैराग्य ! मलामीको रुपमा होस् या दर्शकको रुपमा आर्यघाटमा पुग्दा हामी जीवनको निस्सार अनुभूति गर्छौं । तर, त्यहाँबाट र्फकंदा नर्फकदै जीवन-व्यवहारमा प्रवेश गर्छौं । त्यो दिन पनि त्यस्तै भयो । ठमेल पुग्नुअघि नै मैले उनीहरुलाई अर्कै प्रसंगमा लगें ।
‘म किन आजभन्दा ८० बर्षअघि जन्मिनँ ? मेरो र तिम्रो भेट ६० बर्षअगाडि किन भएन ? मलाई पछुतो छ’, सेलियाको आँखामा आँखा जुधाउँदै भनें ।
ऊ अझ सुन्दर ढंगले आक्रामक भई, ‘एज इज अन्ली द नम्बर । आइ एम स्टिल रोमान्टिक । यु क्यान सी इन माइ आइज् ।’
त्यसपछि उसले निकै बेरसम्म उसका चम्किला आँखाहरु मतिर फ्याँकिरही ।
‘म त नमरेको दिनसम्म यस्तै रोमान्टिक रहिरहन्छु’, उसले त्यसोभन्दा उसका आँखाहरु अझ बढी चम्किए ।
मलाई लाग्यो, ‘म टीन एजको पहिलो प्रेमको पहिलो आई-सेक्स गर्दैछु ।’
-अनलाइनबाट































