धरान/विदेशी भूमिमा सिकेको सीपका कारण धरान–६ पोखराटोलका ४२ वर्षीय चन्द्रबहादुर राई व्यवसायन्मुख बनिरहेका छन् ।
१४ वर्ष साउदी बसाईको क्रममा ८ वर्ष पोल्ट्री फार्ममा कुखुराको विषयमा ज्ञान र अनुभव बटुलेका राई यतिखेर गाउँघरमा त्यही ज्ञानलाई प्रयोग गर्दै हातमुख मात्रै जोरिरहेका छैनन्, व्यवसायन्मुख पनि बनिरहेका हुन् । विदेशबाट फर्किए लगत्तै बोइलर कुखुरामा हात हालेका राई अव व्यवसायिक बन्ने सोचका साथ जग्गा भाडामा लिएका छन् ।
८० हजार रुपैया लगानी गरेर बोइलर कुखुरा पाल्न थालेका राईको कमाई अहिले नै पनि लोभलाग्दो छ । ६ सय कुखुरा पाल्दा उनले ८० हजारसम्म मुनाफा कमाएका छन् । ‘मार्केट अनुसार मुनाफा हुन्छ । मासुको भाउ घटबढ भयो भने नाफाघाटाको मूल्यांकन हुन्छ ।’ उनी भन्छन् । उनी थप्छन्, ‘धेरैले घाटा हुन्छ, कुखुरा मर्छ भन्छन् । तर, मेरो अहिलेसम्म त्यस्तो भएको छैन् ।’ कुखुरा पालन बारे प्राविधिक तथा व्यवहारिक ज्ञान नहुँदा कुखुरा मर्ने उनको भनाइ छ ।
तर, कुखुरालाई हरेक समय हेरिरहेमा समस्या थाहा हुने बताउँछन् । साउदीमा पाएको ज्ञान उनीसँग प्रसस्तै छ । उनी घर फकिर्नु पूर्व नै गाउँमा कुखुरा पालन गरेर बस्ने बारे सोच बनाइसेका थिए । खासघर भोजपुरको याकू–४ भए पनि उनी साउदीकै कमाईले धरान–६ मा जग्गा किनेर बसेका हुन् । गाउँ फर्किए लगत्तै साढे ३ सय र २ सय ५० क्षमताको खोर निर्माण गर्दै कुखुरा पालनमा होमिएका हुन् ।
कटिङसमेत आफै गर्ने सोचले ट्याम्पूसमेत खरिद गरेका थिए । तर, प्राविधिक कठिनाई भएपछि अहिले उनले ट्याम्पू भाडामा दिएर कुखुरा पालनमा लागेका हुन् । उनी भन्छन्, ‘१५–२० हजार कमाउन विदेश जानु पर्दैन ।’ त्यसका लागि मात्रै ४ सय बोइलर पाल्दा त्यो कमाई हुने उनी बताउँछन् । अहिले उनले मासिक ६० देखि ८० हजार रुपैया कमाउँछन्, त्यो पनि ६ सय कुखुरामा ।
त्यसैबाट घरखर्च, छोरी पढाउने गरेको सुनाउँछन् । ‘अहिले बचत गर्न सकेको छैन् । तर, धेरै पाल्न थालेपछि कमाई हुन्छ ।’ प्राविधिक ज्ञान भएकै कारण उनले कुखुरा पाल्न थालेदेखि खासै नमरेको उनी बताउँछन् । केही समस्या आएर मरेमा त्यसको प्राविधिक पक्ष पत्ता लगाएर उनी उपचार गर्छन् । जसका कारण उनी यही व्यवसायबाट सन्तुष्ट छन् । ‘अव २ हजार कुखुरा पाल्छु । केही कमाउनको लागि ठूलै लगानी गर्नुपर्छ,’ उनी भन्छन् ।
दुईचार सय कुखुरा पाल्दा घरमात्रै चल्ने उनी बताउँछन् । पैसा कमाउनको लागि लगानी गरेर ठूलै व्यवसाय गर्नुपर्ने उनको कथन छ । त्यसैका लागि उनी जग्गा भाडामा लिएर आउँदो पुषबाट कम्तीमा पनि ३ लाख रुपैया लगानी गरेर कुखुरा पालन गर्ने सोच बनाएका छन् । एकसय कुखुरा पाल्ने हो भने कम्तीमा १० हजार रुपैया खर्च कटाएर निस्किने उनी बताउँछन् । तर, त्यसका लागि खोर व्यवस्थापन राम्ररी र उपचार समयमा गर्न सक्नु पर्ने बताउँछन् ।
‘अहिले मेरो छोराछोरी भने पनि यही हो । दिनभरीमा दुईघण्टा काम हुन्छ । तर, घाम बढी लाग्दा, चिसो हुँदा, पानी पर्दा ध्यान दिनुपर्छ ।’ उनी भन्छन् । चल्ला भइञ्जेलसम्म केही कठिनाई हुने गरेको बढेपछि भने खासै समस्या नहुने उनी बताउँछन् । साउदीको अनुभव र ज्ञानलाई प्रयोग गर्न पाएकोमा खुसी छन् । ‘बाध्यताले पु¥यायो । अहिले त्यहीँको ज्ञान र अनुभवलाई यहाँ प्रयोग गरेको छु ।’ उनी भन्छन् ।