बक्लौरी (हात्तिमरा)/रामधुनी नगरपालिका–७ हात्तिमराका रविन भुजेल र तिलक घिमिरे (छोटु) ले बेरोजगारको विकल्पमा थालेको खुकुरा पालनले प्रगतिपथमा लम्किदै छन् । गाउँमा बेरोजगार भएपछि भुजेल र घिमिरले संयुक्त लगानीमा विकल्प स्वरुप तीनवर्ष अघि बोइलर कुखुरा पाल्न थालेका थिए । गाउँमा सयकडा ३ रुपैया ब्याजमा ऋण काढेँर सयवटा कुखुरा हाले । त्यो कुखुराबाट झण्डै ३० हजार मुनाफा कमाएपछि हौसिएका उनीहरु ४ कठ्ठा जग्गा लिजमा लिएर बोइलर र अण्डादिने लेयर्स कुखुरा पालन गरिरहेका छन् । हाल २२ सय बोइलर उनीहरुको खोरमा छ । २३ र २४ वर्षीय उनीहरुले ‘आफ्नै बेरोजगारी अन्त्य’ गर्न थालेको कुखुरा पालनले दुईजनालाई रोजगार दिन सफल छन् । ‘काम नपाएर, बेरोजगारी भएर पाल्न थालेको ।’ घिमिरले भने, ‘बेरोजगारीको विकल्पमा थालेको व्यवसायले राम्रै भयो ।’ हाल उनीहरु आत्मनिर्भर बनेका छन् । यसलाई व्यवसायिक बनाउने सोचमा छन् । गाडी किनेर केही बढी कुखुरा पाल्ने सोचमा रहेका उनीहरु आफ्नो उत्पादन आफै मासु कटिङ गरेर बेच्छन् । ‘पालेर मात्रै हुँदैन । कटिङ पनि गर्दा मात्रै फाइदा हुन्छ ।’ उनीहरुले भने । एकजना कटिङमा राखेका छन् भने एकजना खुकुरालाई दानापानीमा सहयोग गर्छन् । कटिङमा खटिनेलाई ५ हजार रुपैया मासिक दिन्छन् भने कुखुरालाई दाना पानीमा सहयोग गर्नेलाई ४ हजार रुपैया मासिक दिन्छन् । एकसय कुखुराबाट व्यवसाय सुरु गरेका उनीहरुले त्यसपछि २ सय ७ सय पाले । २०७३ सालमा पहिलो पटक लेयर्स थाल्दा भने १ लाख जति घाटा बेहोरे । ‘रोग थाहा नभएर सबै मरिदियो, त्यो बेला थाहा पनि थिएन लेयर्स के हो भनेर ।’ घिमिरे सुनाउँछन्, ‘४ सय कुखुरा हाल्दा १ लाख रुपैया डुबियो ।’ अहिले ४ सय लेयर्स छ । तर, यसबाट राम्रो आम्दानी भइरहेको भुजेल बताउँछन् । दैनिक तीनसय अण्डा दिन्छ । अण्डा दिन थालेको केही महिनासम्म ३ सय अण्डासम्म भयो भने अहिले अन्तिम चरणमा पुगेकाले २१० भन्दा बढी अण्डा उत्पादन भइरहेको छ । बोइलर र लेयर्सबाट मासिक ८०–९० हजार रुपैया आम्दानी हुने गरेको उनीहरु बताउँछन् । मेहनत ग¥यो भने जे कामबाट पनि सफलता पाउन सकिन्छ भन्ने सन्देश पाएका छन् उनीहरुले । ‘लगानी गर्न डराउनु भएन् । खट्नु प¥यो । राम्रो हुन्छ ।’ उनीहरु भन्छन्, ‘जो काम गरे पनि सक्सेस हुन्छ ।’ २५ हजार रुपैयाबाट सुरु गरेको उनीहरुको लगानी अहिले ८ लाख पुगिसकेको छ । उनीहरुले आफ्नो कुखुरा आफै बेच्छन् । अण्डा गाउँमै बिक्छ । काम गर्न सक्दा स्वदेश नै विदेश हुन्छ भन्ने उदाहरण बनेका भुजेल र घिमिरे प्रयाप्त लगानी गर्ने सोचमा छन् । ‘काम गर्न सक्नुपर्छ । गाउँघरमै पनि हुन्छ’, उनीहरु भन्छन् । उनीहरुको सोचाईमा विदेश जानु भनेको गाउँघरमा काम गर्न नसकेर भन्दा पनि ‘गर्न नखोजेर’ गएका हुन् । ‘विदेश जान चाहेँ भने अहिले पनि हामी जान सक्छौं ।’ दुबै भन्छन्, ‘तर, यहीँ छ भने किन जाने ?’ तीनवर्षको दौरानमा उनीहरुलाई कुखुरा पालनसम्बन्धी ज्ञान पनि भइसकेको छ । प्राविधिक ज्ञान पनि केही आइसकेको छ । केही समस्या आएमा उनीहरुलाई कुखुरा दिने सुरेश बस्नेतबाट ज्ञान लिने गरेका छन् । सुरुमा पालेको ४ सय लेयर्स मर्दा उनीहरुलाई प्राविधिक ज्ञान थिएन् । र, रोग पनि त्यही बेला आएको भुजेलले बताए । तर, अव भने त्यो समस्याबाट गुज्रिने सम्भावना न्युन रहेका उनीहरु बताउँछन् । लगानी गर्न चाहेर पनि अहिले उनीहरुसँग लगानी गर्न सक्ने सामथ्र्य छैन् । त्यसका लागि राज्यले युवाहरुमाथि गरिरहेको लगानी गरे अति उत्तम हुने थियो कि ?