धरान/अर्थहीन जीवन डो¥याइरहेका बेला धरान–४, छबोटेका महेन्द्रप्रताव राई (५१) को लागि साउदी अरबको रोजगारी सञ्जिवनी बुटि बनेको छ । अरुको खेत खनीखोस्री गरेर खाने राईले साउँदीको कमाईले जग्गा मात्रै जोडेनन् । जीवन जीउने पाठसमेत सिकेर आए । साउँदीमा ४२ महिना दुःख गरेर कमाएको पैसाले ८ कठ्ठा जग्गा जोडे । त्यही जग्गा अहिले उनको जीउने आधार बनेको छ । मासिक १५ देखि २० हजार रुपैया कमाई गरेर घरगर्जो टार्ने मेलो बनाएका छन् । साउँदी जानु अघि जाडरक्सीको कुलतमा फसेका उनी अहिले जाडरक्सीको सट्टा दहीमोही खाने बनेका छन् । विगत सम्झेर उनी पश्चताप गर्छन् । तर, वर्तमान सम्झिदा केही गर्व पनि गर्छन् । ‘पैसा नहुँदा आफ्ना आफन्तले पनि नपत्याउँदा रहेछन् । तर, अहिले कमाउने हुँदा सबैले सम्झिदा रहेछन् ।’ उनी भन्छन् । २०५७ सालमा साउँदी जानको लागि आफ्नै ससुरा बासँग ऋण माग्दा नाक खुम्च्याएका थिए रे । आफ्नैले नदिएपछि केही महिना झनै बिरक्तिए । उनले त्यो बेला ५ हजार रुपैया लिँदा पनि तमसुक गरेर लिएका थिए । त्यस्ता तमसुक त झण्डै ४–५ वटा नै गरे । कसैसँग १५ हजार, कसैसँग २० हजार रुपैयाका तमसुक बनाए त्यो पनि सयकडा पाँच रुपैया । झण्डै ७५ हजार रुपैया खर्चेर साउदी पुगेका उनी त्यहाँ पनि किशानी काममै ४२ महिना बिताएका थिए । ‘मजरा (किशानी झै) मा काम गर्नुपथ्र्यो’ उनी भन्छन्, ‘त्यही साँगपात लगाउँन सिके ।’ त्यसो त त्यहाँबाट फर्किदा उनी ऋणी भएर नै फर्किएका थिए । पुनः २०६२ सालमा ठूलो छोरासँगै उनी पनि मलेसिया हानिए । छोरा र आफ्नो कमाईले जग्गा थपे । अहिले उनको १४ कठ्ठा चानचुन नम्बरी जग्गा छ । त्यही जग्गामा सिजन अनुसारको फलफूल लगाएर कमाई गर्छन् । २०६७ सालमा फर्किएका उनी २०६९ सालदेखि निरन्तर सब्जी खेतीमा तल्लिन छन् । अर्गानिक खेतीमा अहिले उनको नाम सबत्र चर्चा हुन थालेको छ । कुलतमा फसेका कारण कुनै बेला गाउँमा हेपिएका राईको नाँक त्यही अर्गानिक सब्जी खेतीलाई उचो बनाइदिएको छ । पाँचवर्ष यतादेखि उनको बारीमा थरीथरीका सब्जीहरु फल्छन् । बजार पु¥याउँछन् । २ रुपैया गोटा किनेर टमाटर खेतीबाट सुरु गरेको उनको सब्जी खेती अहिले १४ कठ्ठा भरी नै देख्न सकिन्छ । एक सिजनमै टमाटरबाट ४० हजार रुपैयासम्मको बिक्री गरेको स्मरण गर्छन् । ‘भारतले नाकाबन्दी लगाको बेला त झण्डै थोकमै ६० रुपैया केजीले टमाटर बेचेँ ।’ उनी भन्छन् । उनी अहिले मासिक सरदर १५ हजार रुपैया कमाइ गर्ने गरेको बताउँछन् । ‘सब्जी हो भरै हुन्न, सिजन राम्रो भयो भने राम्रै हुन्छ । भएन भने सबै खत्तम हुन्छ ।’ उनी भन्छन्, ‘महिनाको १५–२० हजार रुपैया त कमाइन्छ ।’ उनको बारीमा रसायनिक मलहरु लगाउँदैनन् । विषादीको काम गौमुत्रबाट हुन्छ । ‘गाईगोरुको मुतले नै विषादी र युरियाको काम गरेको छ ।’ उनी थप्छन् । उनले दुईवर्ष अघिसम्म १४ कठ्ठा मध्ये केही खेतमा धानसमेत रोप्थे । तर, धान भन्दा सब्जीमा कमाई राम्रो हुने देखेपछि दुईवर्ष यतादेखि धान रोप्न छाडेका छन् । दैनिक एक हजार रुपैया जतिको सागसब्जी धरान ल्याउने गरेको उनी बताउँछन् । सिजन अनुसार अहिले उनको बारीमा साग, फर्सी, फर्सीको मुन्टा छ । अव केही महिना पछि भिण्डीलगायतका सब्जी निस्कदै छन् । यस अघि सिमी लगाएका थिए । त्यसबाट पनि २५ हजार रुपैया कमाएको उनले बताए । ‘२५ हजारको त सिमी मात्रै बेचेँ ।’ उनी भन्छन् । पानीको सुविधा भएकाले पनि अहिले उनी निकै हौसिएका छन् । साउँदी गरेको मेहनत जस्तै यहाँ पनि गर्ने गरेका छन् । ‘म बेलुँको ७–८ बजेसम्म काम गरिरहेको हुन्छु ।’ उनी भन्छन्, ‘साउदीको त्यस्तो गर्मीमा त खटियो भने आफ्नोमा किन नखट्ने ?’ सब्जीको कमाईबाट घरपरिवार, दुःखबिराम टार्ने गरेको बताउँछन् । ‘घरखर्च चलेको छ । नुनतेल किन्न पुगेको छ ।’ उनी भन्छन्, ‘त्यो भन्दा बेसी के खोज्नु ?’