धरान/प्रावि शिक्षक हुँदा सुरेश बस्नेतले ‘बिकल्पको रुपमा’ सुरु गरेको कुखुरा पालनले आत्मनिर्भर मात्रै हैन, व्यवसायको उच्चतम नमुना प्रस्तुत गर्न सफल बनेका छन् ।
बक्लौरीको पञ्चायत मावि चौछठ्ठी बिगाहामा २० वर्ष ६ महिना प्रावि शिक्षकको जागिर खाएर अवकास लिएका उनले २०५३ सालदेखि नै आर्थिक बिकल्पको रुपमा बोइलर कुखुरा पाल्न थालेका थिए । इटहरी उपमहानगरपालिका–१९ स्थित आफ्नै घरमा सयवटा बोइलरबाट थालेको कुखुरा पालन अहिले व्यवसायमा गतिलो फड्को मारेका छन् ।
कुनैबेला शिक्षकले कुखुरा पाल्यो भनेर गिज्याउनेहरुको लागि उनी गतिलो झापड बनेका छन् । शिक्षक हुँदा ४ हजार ४५ सय रुपैया मासिक कमाई हुने भएपछि घरपरिवार धान्न कुखुरा पाल्न थालेको उनी बताउँछन् । र, घरकाहरुलाई सानोतिनो काम होस् भन्ने उद्देश्यले कुखुरा पाल्न थालेको उनी सुनाउँछन् । ‘मेरो पनि १०–४ बजेपछि काम थिएन् । बैकल्पिक रोजगार चाहिएको थियो ।’ उनले भने, ‘घुम्दै इटहरी जाँदा चल्ला र दाना देखेपछि यहीँ गर्दा के होला भनेर पाल्न थालेँ ।’
घर परिवारले पनि काम पाउने, आफूले पनि रोजगार पाउने भएपछि बैकल्पिक व्यवसाय सुरु गरेका उनले अहिले पछाडी फर्केर हेर्नु परेको छैन् । २०५३ सालमा करिव ११ हजार रुपैया लगानी गरेर कुखुरा पालन सुरु गर्दा उनले तीनहजार जति नाफा लिएका थिए । प्राविधिक ज्ञान नहुँदा उनले भनेजति नाफा लिन सकेनन् । त्यसपछि तीनवर्षसम्म निरन्तर बोइलर नै पाले । उनले ६ सय बोइलरसम्म पाले ।
गाउँघर बढ्दै गयो । छिमेकीहरुलाई बोइलरको गन्ध आउन थालेपछि गन्ध नआउने खाल्को व्यवसाय के होला त भन्ने सोचिरहेको बेला लेयर्सको ‘आइडिया’ आएको उनी बताउँछन् । ‘चितवनमा देखेको थिएँ ।’ उनी भन्छन्, ‘त्यसपछि यही ठिक होला भनेर बोइलरको सट्टा अण्डा दिने कुखुरा (लेयर्स) हाले ।’ लेयर्सबाट सोचे भन्दा बढी मुनाफा लिए । त्यही लेयर्स बस्नेतको लागि बरदान साबित भएको छ । हाल ११ कठ्ठा जग्गा लिजमा लिएर भाइ फत्तबहादुर र उनले ७ हजार क्षमताको खोरहरु निर्माण गरेका छन् । अवकासपछि उनी ढुक्कले यो व्यवसायमा छन् ।
११ हजारदेखि सुरु भएको कुखुरा पालन व्यवसाय अहिले करोड नाघिसकेको छ । ११ कठ्ठामा एक हजार क्षमताका ४ वटा खोरहरु छन् भने २ हजार क्षमताको एउटा खोर छ । त्यस्तै २ वटा बच्चा हुर्काउने र अण्डा राख्ने खोर निर्माण गरेका छन् । २ जनालाई प्रत्यक्ष रोजगार दिएका छन् भने अप्रत्यक्ष रुपमा घरपरिवारका ७ जनाले रोजगार पाएका छन् । सानैदेखि कृषिमा योगदान दिने सोच राखेका उनी हाल प्राविधिकसँगै दानासमेत उत्पादन गर्छन् । कामले काम सिकाउँछ भन्ने उखान उनको हकमा लागू भएको छ । ‘कामले नै खारिएँ । अप्राविधिकबाट थालेको थिएँ । अहिले आफै सबै काम गर्छु ।’ अहिले उनी चौतर्फी व्यवसायमा तल्लिन छन् । उनी र्याफटिङ व्यवसायमा पनि हात हालेका छन् । त्यसो त उनी पूर्व भलिबल खेलाडीसमेत हुन् ।
२०५३ सालमा पालेको एकसय कुखुराकै कारण आज उनी यो अवस्थामा छन् । त्यो बेला शिक्षकको तलव ४ हजार ४५ सय रुपैया मासिक थियो । तर, कुखुरामा उनी १४–१५ हजार कमाउथे । ‘बिकल्पको रुपमा खोजेको थिएँ । राम्रै भयो ।’ उनी भन्छन् । उनलाई कुखुरासम्बन्धी थप ज्ञान चितवनले दियो । त्यहाँका नामी कुखुरा व्यवसायी कपिलबाबु खनालको मार्गनिर्देशनमा उनी पेशामा दत्तचित्त हुन सिके । उनकै प्रेरणा र उर्जाले यहाँसम्म आइपुगेको उनी बताउँछन् । ‘ससुराबाँलाई क्यान्सर भएपछि चितवन गएको थिएँ । उपचारको क्रममा कुखुरा बारेमा बुझ्दै जाँदा कुखुरा व्यवसायी कपिलबाबु खनालसँग भेट भयो ।’ उनी विगत सम्झन्छन् ।
त्यसपछि उनैको आत्मबलका कारण आज उनी यो पेशाका स्थापित बनेका छन् । खनालले गरेको अपेक्षा अनुसार अहिले बस्नेतको फर्ममा लाख कुखुरा हुनु पर्ने हो । तर, विविध कारणले त्यो स्तरमा पुग्न सकेका छैनन् । तर, पं्रयास जारी छ । भन्छन्, ‘उहाँले जुन अपेक्षाले मलाई विश्वास गर्नुभएको थियो । त्यो अनुरुप गर्न सकिन भनेजस्तो लाग्छ ।’ उनले २०६५ सालमा तरहरा पोल्ट्री फर्म दर्ता गरेर व्यवसायमा तल्लिन बनेका हुन् । कृषिमा सम्भावनै सम्भावना देख्ने उनी युवाहरुले यही नै केही गरे प्रसस्तै आम्दानी लिन सक्ने दाबी गर्छन् ।
‘कुखुरा नै गर्नुपर्छ भन्ने छैन्, कृषि अन्तर्गत धेरै छ । माछा, मासु, रुद्राक्ष, अलैची अन्य पनि गर्न सकिन्छ ।’ उनी भन्छन् । उनले अहिले बजार माग धान्न सकेका छैनन् । बजारमा अण्डाको माग धेरै छ । तर, उत्पादनको हिसावले पूर्वमा एकदमै कम छ । अझै पनि चितवन तिरकै अण्डाले बजार धानिरहेको छ । पूर्वमा धेरै मात्रामा गर्ने व्यवसायिक किशानहरु नहुँदा पनि पूर्वमा अण्डाको माग धान्न नसकेको उनको ठहर छ । उनले धरान, तेह्रथुम, बसन्तुपुर, हिले, जोरपाटीसम्म अण्डा पठाउँछन् । मासिक औषतमा ३ हजार अण्डा बिक्री गर्छन् । त्यो हिसावले कमाई पनि राम्रै हुने गरेको दाबी गर्छन् । ‘कमाई यति नै नभनौं । तर, राम्रै हुन्छ ।’ उनले भने ।
अहिले १४ जना युवा व्यवसायीहरुले एक विगाहा १८ कठ्ठा जग्गा खरिद गरेर केज सिस्टममा कुखुरा पाल्ने सोच राखेका छन् । त्यसमा मेरो मात्रै ३० देखि ३५ प्रतिशत सेयर छ ।’ उनी भन्छन्, ‘त्यो सबै कुखुरैबाट कमाएको हो ।’ यसैबाट घरसमेत जोडेका छन् । छोराछोरीहरु पढाएका छन् । व्यवसायिक रुपमा परिपक्व भए पनि उनी आफूले आफूलाई अझै परिपक्व व्यवसायी हुन नसकेको बताउँछन् । ‘अरुले देख्दा परिपक्व देख्छन् । जुन् सोचेका छन् त्यो जस्तो गर्न सकेको छैन् ।’
राज्यले कृषिलाई हेर्ने नजर निस्पक्ष नभएको बताउँछन् । राज्यले निस्पक्ष रुपमा सहयोग गर्ने हो भने अहिले विदेशीरहेका युवाहरुले नै १० प्रतिशत रोजगारको सिर्जना यही देशमा गर्न सक्ने दाबी उनको छ । तर, राज्यले कृषिलाई जुन लगानी गर्नु पर्ने हो त्यो गर्न नसकेको र असली कृषकहरुले त्यो सुविधा पाउन नसकेकोप्रति उनको दुखेसो छ ।