शनिश्चरे ( मोरङ)/आफ्नो देशमा रोजगारी भएन भनेर युवाहरु दैनिक ठूलै संख्यामा श्रम बेच्न विदेश भौंतारिइहरेका छन् । त्यो दृष्य सामु तीनै युवाहरुमा शीप विकास गरी स्वदेशमै रोजगार प्रवद्र्धन गर्नेमध्येको एउटा संस्था झापाको दमकमा कामविहीन छ ।

दमक उद्योग वाणिज्य संघको मातहतमा खडा गरिएको इलम प्रशिक्षण केन्द्र इलम विहीन मात्र होइन, त्यसको भवन नै अलपत्र भएर जीर्ण बनेको छ । साविक वडानम्बर १३ ( हाल ८ ) मा पर्ने केन्द्रको हल सहितको २ कोठे भवन अलपत्र परेर जीर्ण भएको ६ वर्ष वितिसक्यो । स्थानीय युवालाई औद्योगिक सीप सिकाउने उद्देश्यले नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र दमक उद्योग वाणिज्य संघको संयुक्त लगानीमा केन्द्र सञ्चालनमा ल्याइएको थियो ।
२० लाख लगानी गरी भवन निर्माण गरेपछि ०६१ देखि ०६८ सालसम्म तालिम पनि सञ्चालन भयो । उद्योग वाणिज्यमहासंघमार्फत नेपाल सरकारले तालिमको खर्च व्यवस्थापन गर्नेगथ्र्याे । सीटीइभीटीका मान्यतामा रहेर प्लम्बिङ, वायरिङ, डकर्मी सहितका झण्डै १ दर्जन तालिम निशुल्क रुपमा भएका थिए । त्यसपछि कार्यक्रम सुचारु हुन नसक्दा त्यो भवन संरक्षणको अभावमा अलपत्र बन्यो । भवनको संरक्षण, पूननिर्माण गर्दै कार्यक्रम सुचारु गर्ने योजना बनाउँदै गरेको यसबेला जग्गाको समस्या थपिएको इलम प्रशिक्षण केन्द्रका संयोजक विमल खतिवडाले बताए । उनी भन्छन् ‘ पहिलेको जग्गा यसबेला कम देखाएर सर्पट नापीले नक्का बनाइदिएपछि पहिले त्यसको समस्या समाधान गर्न लागेका छौं । अनि संस्थाको भवन मर्मत सहितका गतिविधि सुचारु हुन्छन् ।’
त्यो बेला स्थानीय श्याम श्रेष्ठले केन्द्रका लागि आफ्नो १० कठ्डा जग्गा निशुल्क दिएका थिए । अरु २ कठ्ठा थपिदिने समेत भनेको अवस्थामा उचित व्यवस्थापन सहितको सक्रियताको अभावमा संस्था सुस्तायो । दमक उद्योग वाणिज्य महासंघको प्रत्येक निर्वाचनमा केन्द्र व्यवस्थित गर्ने मुद्धा सवैले विकाउ बनाएपनि केन्द्र सुस्ताइ नै रह्यो । गत भदौमा निर्वाचित विमल खतिवडाको अगुवाइको समितिले जिल्ला विकास समिति र दमक नगरपालिकासँग भवन निर्माण र घेराबारका लागि १० लाख रुपैयाँको कार्यक्रम पार्यो । तर हाल साविक गर्ने क्रममा सर्पट नापीले १० कठ्ठा जग्गाको स्वामित्व भएको संस्थाको जग्गा साढे ६ कठ्ठा मात्र भएको नक्काङ्कन गरिदिएपछि गुमेको जग्गा खोज्नका लागि कानूनी सल्लाहकार मोहन अधिकारीको अगुवाईमा जिम्मा लगाइएको छ ।
दमकमा केन्द्रको भवन मात्र होइन अन्य समेत सार्वजनिक महत्वमा सामाजिक संघ संस्थाका भवनहरु बेवारिसे बनेसंगै जिर्ण समेत बन्दैगएका छन् । नगरपालिका, अन्य सरकारी निकाय तथा स्थानीय उद्योग व्यवसायीको आर्थिक सहयोगमा निर्माण भएका महत्वका कार्यालयहरु अलपत्र हुनु विडम्बना हो । यही विडम्बनाको अर्काे पात्र हो, साविक दमक १२ हाल ६ मा निर्माण भएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको भवन । निर्माण थालिएको १७ वर्षमा पनि पुरा नभई त्यसै जीर्ण बनेको छ ।
दमक नगरपालिकाले १ कठ्ठा जग्गा उपलब्ध गराएपछि ०५७ सालदैखि निर्माण थालिएको भएपनि नेतृत्व पक्षको सुस्तताले बन्नै नपाई भवन बुढो भएर थोत्रिएको छ । तालिम हल सहितको चारकोठे भवनको योजनामा २१ लाख रुपैयाँ खर्च भइसकेको समितिले हिसाव सुनाउने गरेको छ । ‘अहिलेसम्म २१ लाख रुपैयाँ खर्च भइसक्यो । यसलाई पुरा गर्न स्रोत अभावले समस्या भयो । त्यही भएर अलपत्र बन्यो ।’– संघका उपाध्यक्ष अमर बराइलीले बताए । भवनको तालिम हल भने निर्माण सम्पन्न भएपनि कार्यक्रमिक गतिविधि नहुँदा त्यसको संरक्षणको अभावमा झ्यालका सिसाहरू फुटिसकेका छन् । त्यहाँ लागूऔषध प्रयोगकर्ताहरूको अखडा चाँही बनेर समाजमा नकारात्मक प्रभाव परिरहेको छ ।
सोही संघको भवनसँगै रहेको झापा हस्तकला संघको भवनको पनि एक दशकदेखि उही हालत छ । नगरपालिकाले १२ धुर जमिन उपलब्ध गराएपछि ०५७ सालमा भवन निर्माण गरिएको थियो । तालिम हलसहित तीन कोठे भवन १२ लाख बढीको लागतमा निर्माण सम्पन्न गरिएको हो । भवनबाट केही वर्ष ढाका उद्योग सञ्चालन भएको थियो । त्यहाँबाट उत्पादित ढाका तथा प्रशिक्षकले धेरै ठाउँ पुरस्कार र सम्मान पाएको अवस्था थियो । पछि समिति फेरिएसँगैको निस्कृयताले उकालिएको साख त्यसरी नै तल झर्यो । उद्योगमा रहेका १५ सेट तान, धागो पकाउने मेसिन, धागो उत्पादन गर्ने मेसिन, आवश्यक फर्निचरहरू एउटा कोठामा थन्काइएको छ । ती सामान समेत बेकम्बा बनेका छन् । भवनको बाँकी कोठा परिवार बस्न भाडामा लगाइएको विडम्बनापूर्ण अवस्था रहेको पूर्व महासचिव पदम जवेगुले सुनाए । स्थानीय युवालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले भवन बनाएर उद्योग चलाएको स्मरण गर्दै उनले भने ‘तर हाम्रो कार्यकाल सकिएलगत्तै भवन र उद्योग अलपत्र बन्यो ।’
हाल ८ नम्बरमा परेको नगरपालिकाको साविक १३ नं वडा कार्यालयको भवन पनि डेढ दशकदेखि बेवारिसे अवस्थामा रहँदा समेत नगरपालिकाबाट चासो देखाएको पाइदैन । माओवादी द्धन्दकालदेखि नै लथालिङ्ग बनेको भवनलाई अहिले स्थानीय आइतबारे टोल विकास संस्थाले उपयोग गरिरहेको छ । स्थानीय तहको निर्वाचनपछि भवनका विषयमा छलफल गराएर के गर्नुपर्ने सुझाव आउँछ त्यही अनुसार अगाडि बढ्ने नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहाललले बताए । ‘अन्यत्रका सामाजिक गतिविधिका अरु संस्थाका भवन पुननिर्माणको सम्भावनालाई समेत हेर्छाैं ।’– उनले भने ।
साविकको दमक–१७ हालको १० स्थित सेतुमारी कृषि संकलन केन्द्रको भवन पनि सेतुमारीमा साप्ताहिक हाट लाग्न छोडेपछि ३ वर्षयता गाइगोठमा परिणत भएको देखिन्छ । पहिले सुक्रबार र पछि मंगलबार लाग्ने गरेको हाट व्यवस्थापन समितिले फरक हिसावले सञ्चालन गर्न नसक्दा तथा दमक बजारको केन्द्रीत प्रभावले समेत असर पारेको उल्लेख छ । आरआरएन, डब्लूएचएच र स्थानीय उपभोक्ता समेतले गरी ४ लाख ९२ हजार ९ सय १४ रूपैयाँको लागतमा निर्माण गरेको केन्द्रमा अहिले स्थानीयवासीले वस्तुभाउ बाध्ने गरेका छन् ।