मुस्ताङ/मुस्ताङको मुक्तिनाथमा करोडौं लगानीमा सुविधासम्पन्न होटल बन्न थालेका छन् । मुक्तिनाथ मन्दिरको दर्शन र भ्रमणमा आउने भक्तजन, आन्तरिक तथा बाह्य पर्यटकसँगै होटलको संख्या, सुविधा र लगानी बढेको हो । पछिल्लो तीन वर्षयता मुक्तिनाथको रानीपौवा र झारकोटमा २२ वटा होटल खुलेको मुक्तिनाथका गाउँ मुखिया सुरज गुरुङले बताए ।
“१० वटा आधुनीक र सुविधासम्पन्न छन् । थप तीनवटा नयाँ होटल सञ्चालनको तयारीमा छन्,” होटल व्यवसायीसमेत रहेका गुरुङले भने, “पक्की घरमा २५ कोठा भएको होटल सञ्चालन गर्न तीनदेखि चार करोड रुपैयाँ लगानी भएको छ ।” मुक्तिनाथ दर्शन, पदयात्रा र भ्रमणका लागि आउने पाहुनाको सुविधाका लागि स्थानीय बासिन्दाले होटल व्यवसायमा लगानी बढाएका हुन् ।
६६ करोड रुपैयाँभन्दा बढीको लागतमा खुलेका मुक्तिनाथका होटलहरूमा एकैदिन हजार जनासम्म पाहुना बास बस्न सक्ने क्षमत्ता छ । पाँच वर्ष पहिलेसम्म मुक्तिनाथ जाने भक्तजनहरू धर्मशाला र स्थानीयका घरमा बास बस्ने गर्थे ।
पाहुनाको चाप, माग र आवश्यकता अनुसारको आवास सुविधा दिन होटलमा लगानी र सुबिधा बढाउने क्रम बढेको होटल माउन्ट कैलाशका सञ्चालक रोशन थकालीले बताए । एउटा होटलमा १२ जनासम्मले रोजगारी पाएका छन् । एट्याच बाथरुम, वाईफाई, तातो पानीले स्नान गर्नेलगायत पोखरा, काठमाडौं, चितवनलगायत सहरका होटल सरहको सुविधा उपलब्ध छ ।
होटलका कोठाबाटै हिमाल र मनोरम भूवनोट अवलोकन गर्न सकिन्छ । पाहुनाको रोजाइअनुसार राष्ट्रिय, अन्तर्राष्ट्रियदेखि स्थानीय खानाका परिकार उपलब्ध हुन्छ । सडकको पहुँच र सहज यातायात सुविधा भएपछि हिन्दु तथा बौद्ध धर्मवालम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको आगमन बढ्दो छ ।
दशकअघिसम्म मुक्तिनाथसम्म यातायातको सहज पहुँच थिएन् । बेनी–जोमसोम सडक बनेसँगै नेपाली र भारतीय तीर्थालुको बाह्रैमास आवागमन हुन थालेको छ । अत्याधुनिक पक्की घरमा होटल खुलेपछि क्याम्पिङको आवश्यकता नरहेको होटल बब मार्लिका सञ्चालक कर्मछिरिङ गुरुङले बताए ।
“छुट्टी मनाउन नेपाली पर्यटक मुस्ताङ घुम्न आउने क्रम बढेको छ,” गुरुङले भने, “बास पाइँदैन कि भन्ने चिन्ता लिनु पर्दैन् ।” सुविधाअनुसार एक रातको पाँच सयदेखि चार हजार रुपैयाँसम्मको कोठा पाइन्छ । केही वर्ष पहिला थोराङला पास गर्ने तथा मुस्ताङ यात्रामा आउने विदेशी पर्यटक मुक्तिनाथमा टेन्ट टाँगेर क्याम्पिङ गरेर बस्थे ।
जोमसोमदेखि २२ किलोमिटर पूर्वोत्तरमा रहेको मुक्तिनाथ मन्दिर समुद्र सतहबाट ३८ सय मिटर उचाइमा अवस्थित छ । त्यहाँ पुग्न पोखरा, काठमाडौं, सुनौली, बेनी र मालढुंगाबाट सवारी साधनको व्यवस्था छ । भारतीय र नेपालका सबै ठाउँबाट भक्तजन आउने गरेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताए ।