धरान/भूकम्पको बेला गाउँमा उत्पादित दुध खेर गएको देखेपछि नेपाली सेना सह–सेनानी रामबहादुर पौडेलेको मन कुडियो । मेहनत र दुःख आर्जेको दुध त्यसै खेर गएको देखेपछि उनले गाउँमै दुधलाई सदुपयोग गर्ने सोच बनाए । दुधलाई ‘लङलाइफ’ सम्म टिकाउने एउटै मात्रै उपाय थियो । त्यो हो, छुर्पी र चिज उत्पादन । उनले साथीभाइको सहयोगमा धनकुटा मारेकटहरे–५ (हालको महालक्ष्मी नगरपालिका–१) बिलमाटेमा माँलक्ष्मी डेरी उद्योग खोलेर अहिले दुधलाई सदुपयोग गरिरहेका छन् । ‘भूकम्प गएपछि दुध बिक्री नभएको देखेँ । त्यसपछि दुधलाई के गर्न सकिन्छ भनेर सोच्दासोच्दै छुर्पी बनाउने सोच आयो ।’ उनी भन्छन् । दुधलाई प्रशोधन गरेर चिज र छुर्पी बन्छ । उक्त चिज काठमाडौं हुदै नेपालका विभिन्न स्थामा पुग्छन् भने छुर्पी सिधै अमेरिका पुग्छ । त्यस्तै धरान, विराटनगर, इटहरीमा आफै ल्याएर दिने गरेको उनी बताउँछन् । धर्मराज पौडेल, रुद्र गिरी र पौडेलको संयुक्त लगानीमा उद्योग स्थापना गरेका हुन् । २२ महिना अघि खोलेको उद्योगमा अहिले दैनिक एक हजार लिटर दुध खपत हुन्छ । गाउभरीको दुध खपत गर्दै छुर्पी र चिज बनाउने अभियानमा होमिएका छन् । नेपाली सेनामा हुदा पनि काम गरिरहनु पर्ने भएकाले पनि अवकास जीवनलाई छुर्पी उत्पादनमा लगाएका छन् । उद्योगमा आफै व्यवस्थापकसमेत हेर्छन् । करिव ३३ लाखको लगानीमा २०७२ सालको असारमा दर्ता गर्दैै सञ्चालनमा ल्याएको उनीहरुको उद्योगमा यो वर्षबाट १५ सय लिटर दुध छुर्पीको लागि र १ हजार लिटर दुध चिजको लागि खपत गर्ने तयारी गरिरहेका छन् । ‘दैनिक ६० केजी छुर्पी उत्पादन गर्ने लक्ष्य छ ।’ उनी भन्छन्, ‘९० देखि १०० केजी चिज उत्पादन हुनेछ ।’ अहिले ८ सय लिटर दुधबाट छुर्पी, चिज र बटर उत्पादन गरिरहेका छन् । तीन जना कामदार राखेका छन् । उनीहरुलाई मासिक ८ हजार रुपैयादेखि १८ हजार रुपैयासम्म मासिक दिने गरेका छन् । चिज, बटर र छुर्पीबाट मासिक ८० देखि १ लाख रुपैयासम्म आम्दानी हुने गरेको उनी सुनाउछन् । अहिलेको खर्च अनुपातमा कमाई सन्तोषजनक नै रहेको उनको कथन छ । ‘कमाई सन्तोषजनक नै छ ।’ उनी भन्छन् । सायद उनी अवकास नलिएको भए यो बेला मेजर पदमा पुग्थे होलान् । तर, १५ वर्ष सेवा गर्ने बित्तिकै पेन्सन पकाएर छाडेका उनी जागिर भन्दा व्यापारमा सन्तोषजनक रहेको बताउछन् । कृषि पेशालाई उनी सम्मान गर्छन् । बाउबाजे त्यही पेशाबाट आर्थिक स्तर सुधारेकाले पनि सेनाबाट अवकास लिने बित्तिकैदेखि कृषितिरै ध्यान गएको बताउँछन् । कृषिमा उनी सम्भावनै सम्भावना देख्छन् । भन्छन्, ‘गर्दा यसमा के छैन् । मन चाही हुनुपर्छ । सुन फल्छ ।’ नेपालीहरुको नेपालमा दुःख गर्ने बानी नहुने अनी विदेशमा गएर अर्काकोमा दुःख गर्ने प्रवृतिले पनि कृषिक्षेत्रले फड्को मार्न नसकेको उनको अनुभव छ । ‘विदेशमा दुःख गर्ने, यहाँ चाही दुःख गर्न नचाहाने, मेहनत गरो भने यही सुन फल्छ । तर, यहाँ चाही मेहनत गर्न नचाहाने प्रवृति हाम्रो भाइछोराको छ ।’ उनी दुखेसो गर्छन् ।