
धरान / ३१ वैशाखका लागि घोषित स्थानीय तह निर्वाचनको रौनक सुनसरीको इनरुवा नगरपालिकामा पनि बढेको छ । नगरपालिकाको भावी मेयर र उपमेयर आफ्नो पार्टीबाट जिताउन प्रमुख राजनीतिक दल कांग्रेस, एमाले, माओवादी केन्द्रले प्रचार अभियानलाई तीव्र बनाएका छन् । आन्दोलनकारी दलहरूसमेत केन्द्रमा भइरहेको वार्तालाई मध्यनजर गर्दै पर्ख र हेरको अवस्थामा छन् ।
धेरै वर्षसम्म स्थानीय तहमा जनप्रतिनिधि नहुँदा विकास निर्माणदेखि सरोकारका अन्य धेरै सेवा–सुविधाबाट वञ्चित भएका इनरुवावासी मतदानबाट आफ्नो जनप्रतिनिधि चयन गर्न व्यग्र देखिएका छन् । सार्वजनिक स्थलदेखि चिया–चौतारोमा निर्वाचनकै चर्चा सुन्न थालिएको छ । नगर क्षेत्रमा साना–ठूला जमघट प्रशस्त देखिन्छन् । ती जमघटमा आ–आफू पक्षधर पार्टीले आगामी निर्वाचन जित्ने दाबी गर्दै नेता–कार्यकर्ता बहसमा उत्रिएका छन् । निर्वाचनको मिति नजिकिएसँगै इनरुवाको मेयर र उपमेयरका उम्मेदवार छान्न राजनीतिक पार्टीहरू आन्तरिक गृहकार्यमा जुटेका छन् भने आकांक्षीहरू लबिङमा लागेका छन् । कतिपय नेताले सामाजिक सञ्जालमार्फत, कतिले स्थानीय सञ्चारमाध्यममार्फत त कतिले आफू समर्थक नेता–कार्यकर्तामार्फत् आकांक्षा व्यक्त गरिरहेका छन् । तर, कुनै पनि पार्टीले मेयर, उपमेयर तथा वडाका उम्मेदवारको टुंगो लगाइसकेको छैन ।
आन्दोलनकारी वार्ता कुर्दै
संविधान संशोधनको माग लिएर आन्दोलन गर्दै आएको संघीय समाजवादी फोरमले इनरुवा नगरपालिकाको निर्वाचनको तयारी भने थालेको छैन । केन्द्रमा सहमति भए निर्वाचनमा भाग लिने मानसिकतामा भने नेताहरू देखिएका छन् । निर्वाचनको तयारीभन्दा पनि आफूहरू आन्दोलनमा रहेको फोरमका जिल्ला अध्यक्ष महेन्द्र यादवले बताए । केन्द्रमा वार्ता भइरहेकाले सहमति भए निर्वाचनमा जाने भन्ने निर्देशन आएकाले आफूहरू सहमतिको पर्खाइमा रहेको उनले बताए । सीमांकनमा कुरा नमिलेकाले निर्वाचनको तयारी नगरेको फोरमका केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज एसएन मेहताले बताए ।
एमालेः मेयरमा लर्को, उपमेयरमा आकांक्षी देखिएनन्
अघिल्लो स्थानीय निर्वाचनमा इनरुवा नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका थिए । त्यसैकारण यसपटक मेयर र उपमेयरको टिकट पाउन अन्य दलमा भन्दा एमालेमा बढी आकांक्षी देखिएका छन् । एमालेबाट प्रदेश कमिटी सदस्य नीरा खनाल आचार्य, पोष्टकुमार नेपाल, जिल्ला कमिटी सदस्य श्यामदेव मेहता, कानुन व्यवसायी उद्धव काफ्ले, नगर अध्यक्ष कालुराम गुरुङ आकांक्षी देखिएका छन् । नीरा एमाले वरिष्ठ नेता झलनाथ खनालकी बहिनी तथा एमाले सचिव एवं एक नम्बर प्रदेश इन्चार्ज भीम आचार्यकी श्रीमती हुन् । मेयरको उम्मेदवार बन्न धेरैले आकांक्षा देखाए पनि उपमेयरका लागि खासै चर्चा छैन । उपमेयरका लागि अहिलेसम्म पार्टीमा कसैले आकांक्षा नदेखाएको ०५४ को निर्वाचनमा एमालेबाट मेयर निर्वाचित भएका खेम पोखरेलले नयाँ पत्रिकालाई जानकारी दिए ।
एमाले र कांग्रेसजस्तै माओवादी केन्द्र पनि आन्तरिक तयारीमा जुटेको छ । ‘सरकारको नेतृत्व गरेको दल भएकाले ३१ वैशाखको स्थानीय तह निर्वाचन सम्पन्न गराउने हाम्रो मुख्य जिम्मेवारी हो । त्यसैले हामी अहिले नै उम्मेदवारको चयनमा भन्दा निर्वाचनको माहोल बनाउन लागिपरेका छौँ,’ माओवादी केन्द्रका एक नेताले भने । माओवादी केन्द्रका तर्फबाट अहिलेसम्म मेयर र उपमेयरका लागि उम्मेदवार बन्न चाहनेको नाम सार्वजनिक भएको छैन । औपचारिक रूपले अहिलेसम्म कसैले उम्मेदवारी दाबी नगरेको माओवादी नेताहरू नै बताउँछन् ।
कांगे्रसबाट पार्टीका जिल्ला सचिव केदार भण्डारी, नगर सभापति राजन मेहता, इन्द्र पोखरेलको नाम चर्चामा छ । पार्टी सभापति राजीव कोइरालाले पनि मेयरको उम्मेदवार बन्ने रुचि देखाएको पार्टी स्रोतले बताएको छ । तर, उनले अहिलेसम्म आफूले मेयरका लागि इच्छा व्यक्त नगरेको बताए ।
उम्मेदवार चयनको निर्णयमा कांग्रेस पुगिसकेको छैन । पार्टी सभापति कोइरालाले छलफल र चर्चा चलिरहे पनि अहिले नै निर्णय नहुने बताए । पार्टीले बनाएको कार्यविधिअनुसार उम्मेदवार तय हुने उनले जानकारी दिए । ‘मेयरका रूपमा अहिले जति नाम चर्चामा आएका छन्, ती व्यक्तिगत हुन्, पार्टीले निर्णय गरेका नाम होइनन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘उम्मेदवार कसरी छान्ने भन्ने कार्यविधि पार्टीले बनाएको छ । सोहीअनुसार उम्मेदवार छानिनुपर्छ ।’