धरान । सुनसरीको धरानमा पार्टी कार्यालयहरू तोडफोड तथा आगजनी गरेको अभियोगमा तीन ठूला पार्टीहरूले इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएका छन् । 

यसअघि धरानका विभिन्न व्यक्तिहरूले पनि किटानी जाहेरी दिएका थिए । उक्त किटानी जाहेरीपश्चात् प्रहरीले हालसम्म मुद्दा दर्ता गरे नगरेकोबारे जानकारी गराएको छैन । किटानी जाहेरीसहित पार्टीहरूले भिडियो क्लिप्सहरू पनि ‘पेन ड्राइभ’ मार्फत् प्रदान गरेको जनाएका छन् । नेकपा (एमाले) का धरान नगर अध्यक्ष हर्कजङ एभेङका अनुसार पहिचान भएका ६ जनाविरुद्ध किटानी जाहेरी दिइएको छ । त्यसबाहेक भिडियो क्लिप्ससमेत प्रदान गरिएकाले अन्यलाई पनि कारबाही गर्नका लागि निवेदन दिइएको उनले बताए । “६ जनाविरुद्ध किटानी जाहेरी दिएका छौँ । भिडियो क्लिप्स सङ्कलन गरेर पेनड्राइभमा दिएका छौँ” उनले भने, “तोडफोड, आगजनी र डकैतीमा उजुरी दिएका छौँ ।”

धरान–१ स्थित नेकपा (एमाले) को कार्यालयमा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । प्रहरीले भिडियो हेरेर कारबाही गर्ने जनाएको उनले बताए । कुनै पनि हालतमा राज्यले सकेन भने पनि प्रहरीको तर्फबाट कारबाहीको दायरामा ल्याउने जनाएको डिएसपीको भनाइ उद्धृत गर्दै एभेङले भने । प्रहरीले यसबारेमा कारबाही अगाडि बढाइसकेको जनाएको नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र गोलेले बताए । “कारबाही प्रक्रिया अगाडि बढिसकेको छ । केही मान्छेलाई नियन्त्रणमा लिइसकेका छौँ । प्राविधिक र म्यानुअल्ली दुवै कोणबाट अनुसन्धान भइरहेको छ भनेर डिएसपी सा’पले भन्नुभएको छ”–उनले भने । 

काङ्ग्रेसको क्षेत्रीय समिति, प्रदेश सभा (क) र (ख), नगर समिति र बलबहादुर राई, भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानले संयुक्तरूपमा उजुरी दिएको क्षेत्रीय सभापति गोलेले बताए । उनका अनुसार भौतिक तथा उपकरणमा पु¥याएको क्षतिको विवरणसहित १५ जनाविरुद्ध किटानी जाहेरी दिइएको छ । धरान–२ मा रहेको संयुक्त पार्टी कार्यालयमा आगजनी, तोडफोड गरेका थिए । उक्त स्थानमा राखिएको बलबहादुर राई, भीमबहादुर तामाङ र जग्गादाता दिलकुमार राईको अर्धकदको सालिक पनि तोडफोड गरेका थिए । क्षेत्रीय सभापति गोलेसहित प्रदेश सभा (क) का सभापति अनिल श्रेष्ठ, (ख) का सभापति मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल र प्रतिष्ठानका सभापति तिलक राईले संयुक्तरूपमा उजुरी दिएका थिए । 

यस्तै नेकपा (माओवादी केन्द्र) ले पनि २० जनाविरुद्ध किटानी जाहेरी र समूहमा रहेका भनी सम्बोधन गरी जाहेरी दिएको नगर अध्यक्ष उद्धव लिम्बूले जानकारी दिए । “भिडियोहरू पनि दिएका छौँ । किटानी जाहेर २० जनाविरुद्ध छ । पहिचान नभएकालाई समूह भनी सम्बोधन गरेर जाहेरी दिएका छौँ” उनले फोनसम्पर्कमा भने, “हाम्रो प्रारम्भिक क्षति ४१ लाख २९ हजार रुपैयाँ भएको विवरण आएको छ ।” उनका अनुसार पार्टी कार्यालय एकान्तमा रहेकाले धेरै क्षति पुगेको बताए । “तोडफोडसहित आगजनी गरे । भित्रको सामान कामै नलाग्ने अवस्थामा छ । बाहिर निकालेर पनि आगो लगाए” उनले भने, “त्यही भएर धेरै क्षति पुगेको छ ।” 

प्रहरीले हाल जाहेरी आउने क्रममा रहेकाले सबै प्रमाण सङ्कलन गरेर माथिल्लो आदेशका आधारमा ‘एक्सन’ मा जाने बताएको उनले बताए । “जेन जीको आवरणमा आपराधिक आगजनी र तोडफोड गर्नेलाई कारबाही गर्छौं भनेर भन्नुभएको छ । तर केही समय लाग्छ भनेर भनिएको छ”–उनले भने । धरान प्रहरीमा यसअघि पाँच जनालो आत्मसमर्पण गरेको अवस्था छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार जेन जी आन्दोलनको नाममा आपराधिक गतिविधि गर्नेहरू विरुद्ध प्रमाण सङ्कलन गरिरहेको छ । “टेक्निकल्ली र फिजिकल्ली रूपमा प्रमाण पुगेमा कारबाही गर्छौँ” उनले भने ।