धरान । गत भदौ २३ र २४ गते भएको ‘जेन जी आन्दोलन’ का कारण वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिएको साउदी अरबलगायत देशमा पनि कामदार भिसामा कडाइ गरिने भएको छ ।
प्रमुख श्रम गन्तव्य मुलुकहरूमध्ये युएईले यसअघि नै कडाइ गरेको थियो । युएईसहित साउदी अरब, कतार, मलेसियाले पनि भिसामा कडाइ गरिने भएको सार्वजनिक गरिएको छ । घोषितरूपमा नभनिए पनि अब नेपालीका लागि भिसा पाउन निकै कठिन भएको बताइएको छ ।
युएईमा भिसा पूर्णरूपमा बन्द
नेपाली कामदारहरूको प्रमुख गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालीका लागि भिजिट भिसा र वर्किङ भिसा पूर्णरूपमा बन्द गरेको छ । यससम्बन्धी नेपाल सरकारलाई कुनै पनि आधिकारिक जानकारी दिइएको छैन । यस कदमले नेपाली क्रिकेट टिमको युएई भ्रमणसमेत प्रभावित भएको थियो । नेपाल क्रिकेट सङ्घ (क्यान) को अथक प्रयासपछि मात्र खेलाडीहरूले भिसा पाएका थिए । यद्यपि, वेस्ट इन्डिजसँगको खेल हेर्न जान चाहने सामान्य दर्शकहरूका लागि भने भिसा पाउन असम्भव भएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का कोषाध्यक्ष ठाकुर ढुङ्गानाका अनुसार, युएईले अहिले नेपालबाट आउने पर्यटक र कामदार दुवैको भिसा रोकेको छ । साउदी अरेबिया, कतार र मलेसियाले पनि नेपाली कामदारहरूका लागि भिसा प्रक्रियामा कडाइ गर्न थालेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । वैदेशिक रोजगार व्यवसायी सङ्घका तत्कालीन अध्यक्ष राजेन्द्र भण्डारीले दुबईमा भिसा रोकिएपछि कतार र साउदीले पनि निगरानी बढाएको बताए । हाल कतार र साउदीमा मात्रै करिब ४–४ लाख नेपाली कामदार कार्यरत छन् । यस विषयमा नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत तेजबहादुर क्षेत्रीले भिसा रोकिएको सम्बन्धमा युएईले कुनै पनि आधिकारिक जानकारी नदिएको बताए ।