विराटनगर । ‘जेन जी’ आन्दोलनका क्रममा जलाइएको विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको भग्नावशेषमा उभिँदा नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइराला शनिबार भावुक देखिए । धुवाँ र आगोको लप्काले खरानीमा परिणत भएको आफ्नो जन्मघरको निरीक्षण गर्दै उनले घर जले पनि लोकतन्त्रको जग कहिल्यै ढल्न नसक्ने दृढता व्यक्त गरे ।
शनिबार दिउँसो विराटनगर विमानस्थलमा ओर्लिएलगत्तै उनी सिधै कोइराला निवास आइपुगेका थिए । जहाँ पत्रकार र पार्टी समर्थकहरूको बाक्लो उपस्थिति थियो । तर, वातावरणमा उत्साहभन्दा बढी गम्भीरता थियो; सामान्य अभिवादनबाहेक कुनै खादामालाको स्वागत कार्यक्रम भएन । उनी सिधै निवासको उत्तरपट्टि बचेको संरचनामा उक्लिए र त्यहीँ भग्नावशेषको बीचमा बसेर पत्रकारहरूसँग आफ्ना सम्झना र वर्तमान राजनीतिको पीडा सुनाए । पिता कृष्णप्रसाद कोइरालाले १ सय ७ वर्षअघि निर्माण गरेको र राणाकालदेखि नै लोकतान्त्रिक आन्दोलनको साक्षी बनेको घरको नामनिसान मेटिएको देख्दा उनले आफ्नो वेदना लुकाउन सकेनन् । “यो घर एउटा इतिहास हो, सय वर्ष पुरानो थियो । यसको इतिहास भएर नै सबै आएका हुन् । इतिहास जलेको देख्दा दुःख लागेको छ” जलेको घर निरीक्षण गरेपछि सञ्चारकर्मीहरूसँग भने, “म यहीँ जन्मिएँ, यहीँ हुर्किएँ, पढेँ अनि बसेँ । डाक्टर पनि भएँ । यो घरले मलाई जे छु, जस्तो छु, त्यही बनाएको हो ।”
उनले निवाससँग जोडिएका अनगिन्ती सम्झना र स्मृतिहरू सुनाए । तर, व्यक्तिगत पीडाभन्दा माथि उठेर उनले यस निवासको लोकतान्त्रिक मूल्य र विरासतको रक्षामा जोड दिए । आन्दोलनका क्रममा कोइराला निवासमा पीपीई किट भेटियो भनेर गरिएको प्रचारप्रति उनले चित्त दुखाए । “यो के भन्न खोजेको ? तपाईंहरूको संवेदनशीलता कहाँ गयो ? पैसा देखिन्छ त त्यो छानबिन राज्यले गर्छ”–उनले आक्रोश मिश्रित प्रश्न गरे ।
डा. कोइरालाले यो निवास केवल एक पारिवारिक संरचना नभई लोकतन्त्रको पर्यायवाची भएको स्मरण गराए । “यो घर भनेको शेखर कोइरालाको घर होइन । यो लोकतन्त्रका लागि राणाकालदेखि लडेको घर हो । कृष्णप्रसाद कोइरालाले राणा प्रधानमन्त्रीलाई फाटेको भोटो पठाएको घर हो”–उनले भने ।
निवासको उदार लोकतान्त्रिक छविलाई प्रष्ट्याउन उनले गणेशमान सिंहसँग जोडिएको एक पुरानो प्रसङ्ग सुनाए । “२०५१ सालमा पार्टी छाडेर जनजागरण अभियानमा हिँड्नुभएका सिंह विराटनगर आउँदा राष्ट्र बैङ्कको गेस्टहाउसमा बस्नुभएको थियो । यो थाहा पाएपछि आफ्नी आमा नोना कोइरालाले सिंहलाई फोन गरेर निवासमै बस्न आग्रह गर्नुभएको थियो । सिंहले गिरिजाप्रसादलाई गाली गर्छु, त्यही घरमा बसेर कसरी गाली गर्नु भन्नुभएछ । आमाले ‘यहीँ आएर बस्नुस्, यहीँबाट गाली गर्नुस्’ भन्नुभएको रहेछ । यो निवास यस्तो हो”–उनले सञ्चारकर्मीहरूलाई भने ।
वर्तमान राजनीतिक परिस्थितिबारे बोल्दै डा. कोइरालाले देश केही हदसम्म संवैधानिक मार्गबाट ‘डिरेल’ भए पनि राष्ट्रपतिले संविधानलाई पूर्णरूपमा क्षतविक्षत हुनबाट बचाएको बताए । उनले अहिलेको सरकारको एक मात्र कार्यजिम्मेवारी निर्वाचन गराउनु भएको स्पष्ट पार्दै भने, “निर्वाचन, निर्वाचन, निर्वाचन—अहिलेको सरकारको कार्यजिम्मेवारी यही हो ।” उनले अध्यादेशबाट देश चलाउन नहुने मान्यता काङ्ग्रेसले पहिलेदेखि नै राख्दै आएको बताए ।
जेन जी आन्दोलनले उठाएका मागहरूबारे उनले भ्रष्टाचार छानबिन आयोग बन्न सक्ने तर प्रत्यक्ष निर्वाचित कार्यकारीको माग अहिलेको संविधानले नदिने स्पष्ट पारे । “अहिलेको संविधानको जे पोजिसन छ, त्यही निर्वाचन प्रणालीबाट जानुपर्छ”–उनले भने ।
पार्टीको हालै बसेको कार्यसम्पादन समितिको बैठकबारे जानकारी दिँदै उनले अहिले कसले के बोल्यो भन्दा पनि काङ्ग्रेसले संस्थागतरूपमा के बोल्छ भन्ने कुरा महŒवपूर्ण हुने बताए । “म आज मेरो व्यक्तिगत धारणा भन्दिनँ । केन्द्रीय समितिको निर्णय मानेर हिँड्नुपर्छ”–उनले भने ।
आगजनीको घटना षड्यन्त्र थियो वा थिएन भन्नेबारे अहिले नै भन्न नसकिने तर सरकार भ्रष्ट भयो भनेर जेन जीले गरेको आन्दोलनका क्रममा कसरी देशभर विध्वंस मच्चाइयो भन्नेबारे खोजी हुनुपर्ने उनको भनाइ थियो ।
उनले भत्किएको घरकै भग्नावशेषबाट पुनः उठ्ने सङ्कल्प गरे । “घरको इतिहास खरानी भयो, तर त्यहीँबाट फेरि उठ्छौँ” उनले दृढताका साथ भने, “पुरानै वा कुन स्वरूपमा पुनः कोइराला निवास बनाउने भन्ने विषयमा भतिजाहरूसँग पनि छलफल गर्छु । लोकतन्त्रलाई यो घरले जसरी अघि बढाएको थियो, त्यसलाई म अगाडि बढाउँछु ।” उनको यो भनाइले व्यक्तिगत क्षतिलाई शक्तिमा बदल्दै लोकतान्त्रिक विरासतलाई निरन्तरता दिने कोइराला परिवारको अठोटलाई पुनः एकपटक उजागर गरेको छ ।