जनकपुरधाम/ सहकारी क्षेत्रको दीर्घकालीन रणनीतिक योजना तर्जुमाका लागि प्रदेशस्तरीय कार्यशाला आजबाट जनकपुरधाममा सुरू भयो ।

राष्ट्रिय सहकारी बोर्डद्वारा आयोजित सो कार्यशालामा प्रदेश नं- २ का सहकारी अभियन्ता, प्राध्यापक, सहकारीका सदस्य, उद्यमी र सञ्चारकर्मीको सहभागिता रहेको छ ।

सहकारीको सिद्धान्त, मूल्य र मान्यतालाई अङ्गीकार गरी सहकारी क्षेत्रलाई व्यावसायिक रूपमा सक्षम तुल्याउने, सहकारी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता एवम् उत्पादकत्व अभिवृद्धि गरी गुणात्मक र तुलनात्मक लाभको स्थितिमा पु¥याउने, उपलब्ध स्रोत, श्रम, सीप र पुँजीको अधिकतम परिचालन गरी उद्यमशीलता र रोजगारीको उलेख्य अभिवृद्धि गर्न २० वर्षे रणनीतिको तर्जुमा गर्ने कार्यशालाको उद्देश्य छ ।

सहकारी क्षेत्रको दीर्घकालीन रणनीतिक योजनाले आगामी २० वर्षमा नेपालको गाहर््स्थ्य उत्पादनमा सहकारी क्षेत्रको योगदान २० प्रतिशत पुगेको हुने, सहकारी संस्थाको कूल बचत रू १२ खर्ब भन्दा बढी हुने, सहकारी सदस्य सङ्ख्या वद्धि भई दुई करोड भन्दा बढी हुने, सहकारी संस्थाको कूल लगानी रू ११ खर्ब भन्दा बढी हुने उपलब्धि हासिल हुने लक्ष्य लिएको छ ।

त्यस्तै सहकारी संस्थाद्वारा २० लाखभन्दा बढी सहकारी सदस्यलाई प्रत्यक्ष एवम् अप्रत्यक्ष रोजगारी उपलब्ध हुने, सहकारीको विकासका लागि ५० प्रतिशत भन्दा बढी सदस्यले संस्थागत शिक्षा, तालिम तथा अभिमूखीकरण लिएको हुने र सहकारी शिक्षाको विकासका लागि विभिन्नस्तरका शैक्षिक पाठ्यक्रममा सहकारी शिक्षालाई समावेश हुने अपेक्षित उपलब्धि हासिल हुने विश्वास लिएको छ ।

सो अवसरमा बोर्डका सह अध्यक्ष सरोजकुमार शर्माले मुलुकको दिगो तथा समतामूलक आर्थिक एवम् सामाजिक रूपान्तरणका लागि सवल र सक्षम सहकारी प्रणालीको विकास गर्ने उद्देश्यले २० वर्षे रणनीतिक योजना तर्जुमा गर्न लागेको जानकारी दिए।

बोर्ड सदस्य रामचन्द्र कुशवाहा र दीपक कोइरालाले सहकारीलाई परिपक्क बनाउने अभियानमा सबै पक्षको अग्रसरताको खाँचो औंल्याए । प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईं, सहकारी जिल्ला सङ्घका अध्यक्ष धु्रवनारायण यादव र प्राध्यापक डा विजय लालले सहकारी क्षेत्रमा विद्यमान विकृतिको अन्त्य गर्ने सोचको विकासमा जोड दिए।