बिर्तामोड / बिर्तामोडको अदुवा खोला मिचेर बनाइएका घरहरु भत्काइने भएको छ । बिर्तामोड नगरपालिकाको कार्यालय तथा अदुवा खोला संरक्षण एवम् व्यवस्थापन समितिले खोला व्यवस्थित गर्न लागेको हो । खोलालाई व्यवस्थित गर्नका लागि थुप्रै घर भत्काउनुपर्ने समितिका अध्यक्ष अरुण श्रेष्ठले बताए । ‘खोला मिचेर बनाइएका घर तथा प्लटिङ गरिएका जग्गा राज्यले अधिग्रहण गर्नेछ’, उनले भने, ‘त्यसपछि ती घरहरु भत्काउने काम शुरु हुन्छ ।’ यो अभियानलाई राष्ट्रिय योजना आयोगको पनि पूर्ण समर्थन रहेको उनले सुनाए । अदुवा खोलालाई बिर्तामोडको पहिचानका रुपमा स्थापित गर्ने अदुवा खोला संरक्षण तथा व्यवस्थापन समितिको लक्ष्य छ । त्यसका लागि ५ वर्षे योजनासहित समिति जुटेको हो । घर–टहरा भत्काइसकेपछि खोलाको दुबैतर्पm ५ फिटे बाटो बनाइने अध्यक्ष श्रेष्ठले जानकारी दिए । नापी कार्यालयको सहयोगकमा भर्खरै प्रारम्भिक सर्वेसमेत गरिएको छ । सर्वेका क्रममा कतै–कतै अवरोध पनि भएको बिर्तामोड नगरपालिकाका इञ्जिनियर गणेश अर्यालले बताए । अदुवा खोलालाई व्यवस्थित गर्न १ अर्बभन्दा बढी बजेट लाग्ने बिर्तामोड नगरपालिकाले जनाएको छ । तत्कालका लागि नगरपालिकाले ४० लाख रुपैयाँ बजेट छुट्याएको छ । अबको १० दिनभित्रमा डीपीआर रिपोर्ट आउने र त्यसपछि अभियान शुरु हुने अध्यक्ष श्रेष्ठले बताए । अदुवा खोला मिचेर अव्यवस्थित रुपमा घर तथा होटेल निर्माण हुने क्रम बढेपछि वर्षात्को समयमा प्रत्येक वर्ष यही खोलाको बाढीले बिर्तामोड डुबानमा पर्ने गर्छ । बिर्तामोड नगरपालिका क्षेत्रभित्र ५ हजार ६ सय ६७ दशमलव ८२ मिटर भएर बग्ने अदुवा खोला अतिक्रमण गरेर घर बनाउने कार्य तीब्र छ । सबैभन्दा फोहोर र साँघुरो भएकाले यस खोलालाई काठमाडौंको टुकुचासँग दाँज्ने गरिन्छ । गाउँ विकास समिति हुँदादेखिकै बेथितिले निरन्तरता पाउँदा बिर्तामोड नगरपालिकाको मुख्य बजार क्षेत्रमै वर्षातको समय खोला पस्ने गर्छ । अव्यवस्थित प्लटिङ र खोलाकै किनारमा घर निर्माण गर्ने क्रम रोकिएको छैन । खोला छेउका घरधनीले प्लटिङ व्यवसायीलाई खोलैसम्मको जग्गा बिक्री गरेपछि यो अवस्था सिर्जना भएको स्थानीय बताउँछन् । उत्तरमा महानन्द चोकदेखि दक्षिणमा अदुवा खोला पुलबाट डेढ किलोमिटर तलसम्मै खोलाकिनारमा घर निर्माण भएका छन् । केही निर्माणाधीन छन् । बिर्तामोड नगरपालिकाले खोलाको बहाव क्षेत्र छाडेर घर बनाउन स्थानीयलाई सुझाएको छ । ‘बहाव क्षेत्र मिचेर बनाइएका घरको नक्सा पास गरिँदैन’, नगरपालिकाका प्रशासनिक शाखा प्रमुख मेघराज बाँस्तोला भन्छन्, ‘निर्माण भइसकेका घर पनि प्रक्रिया पु¥याएर भत्काउनुको विकल्पै छैन ।’ २०२१ सालअघिसम्म अदुुवा खोला साविककै स्थानमा बग्दै थियो । तर, २०२७ सालदेखि सिँचाइ गर्न निर्माण गरिएको मेघाबारी पैनीबाट खोलो बगिरहेको छ । यसकारण वर्षेनि बिर्तामोडबासी बाढीको सामना गर्न बाध्य छन् । ०२१ सालअघि अदुवा खोला बगेको स्थानमा अहिले घरहरु बनिसकेका छन् । खोला किनारका होटल तथा बिर्तामोडका केही औषधि पसलमा उत्पादन भएको फोहोर अदुवा खोलामा मिल्काउने गरिन्छ । एउटा घुम्ती शौचालय पनि खोलाको किनारमा राखिएको छ । शौचालयको दिसापिसाब रात परेपछि खोलामै मिसाउने गरिएको छ । घुम्ती शौचालय हालसम्म खोला किनारदेखि अन्त सारिएको छैन । तर, केही वर्षभित्रैमा झापाकै सबैभन्दा सफा खोलाका रुपमा अदुवालाई चिनाउने आपूmहरुको लक्ष्य रहेको समितिका अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार घर टहरा भत्काएपछि खोलाको दुई किनारमा निर्माण गरिएको सडकको छेउमा पूmलबारी लगाइने छ । यी सबै काम गर्न ७२ फिट चौडाइ आवश्यक पर्ने उनले बताए । ७२ फिटभित्र दुईवटा बाटा, बगैँचा र खोलो हुनेछ ।