बिर्तामोड/ झापाको बिरिङ नदीमा उत्पन्न उत्खनन् बिवाद साम्य पार्न गएका स्थानीय विकास अधिकारी खेमराज ओझालाई सिस्नेका वासिन्दाले लखेटेका छन् । मापदण्ड विपरीत खोला उत्खनन् गर्न ठेकेदारलाई अनुमति दिएको भन्दै आक्रोशित स्थानीयवासीले मङ्गलबार दिउँसो स्थानीय विकास अधिकारीलाई लखेटेका हुन् । स्थानीयबासीले लखेटेपछि भागेका ओझा प्रहरीको गाडीमा चढेर बिर्तामोडमा गएर बसेका थिए । उनले बिर्तामोडमा पुगेर गाडी परिवर्तन गरेका थिए ।
जिविसले ठेकेदारलाई मापदण्ड विपरीत खोला उत्खनन् गर्न दिएको स्थानीयवासीको आरोप छ । उनीहरुले जिविसले ठेकेदारको प्रभावमा परेर गैरकानुनीरुपमा खोलाजन्य सामग्री उत्खनन् गर्न दिएको आरोप लगाएका छन् ।
जिल्ला प्रशासन कार्यालय र जिविसको अनुमतिपत्र लिएर ठेकेदार संस्था साम्सुहाङ बिल्डर्स चैत २ गते बिरिङ नदीमा उत्पन्न हुने खोलाजन्य सामग्री उत्खनन् गर्न गएको थियो । त्यसक्रममा स्थानीयवासीले उत्खनन्मा प्रयोग भएको एउटा स्काभेटर नियन्त्रण लिएका थिए । स्थानीयले एक रात राखेर स्काभेटर फिर्ता गरेका थिए । घटनापछि खोला बिवादले उग्र रुप लिएको थियो ।
घटना मङ्गलबार दिउँसोको हो । अर्जुनधारा नगरपालिकाहुँदै बग्ने बिरिङ खोलामा ठेकेदारले स्काभेटर प्रयोग गरी जथाभावी खोलाजन्य सामग्री निकालेको विषयमा बैठक बोलाइएको थियो । बैठक स्थान अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वनको कार्यालय परिसर तोकिएको थियो । उक्त खोलामा वर्षौंदेखि जथाभावी रुपमा खोलाजन्य सामग्री निकालिएको विषयमा स्थानीयले पटक–पटक जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । तर, उनीहरुको गुनासोको कुनै सम्बोधन हुन सकेको थिएन । यही विषयमा मङ्गलबार दिउँसो ११ बजे बैठक बस्ने निर्णय भएको थियो ।
यसअघि जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा अनुगमन समितिको बैठकको निर्णयअनुसार उक्त बैठकमा झापाका स्थानीय विकास अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी सहभागी भएका थिए । अर्जुनधाराका बासिन्दा बैठकका लागि ११ बजे नै वन कार्यालय परिसरमा भेला भए । मध्याह्न १२ बजे सहायक प्रमुख जिल्ला अधिकारी निरौला त्यहाँ पुगे ।
स्थानीय विकास अधिकारी ओझा समयमा नपुगेपछि सयौं सङ्ख्यामा भेला भएका स्थानीयबासी आक्रोशित हुन थाले । स्थानीयको आक्रोश देखेपछि बाहिर निस्किएर सहायक प्रजिअ निरौलाले स्थानीय विकास अधिकारी ओझालाई टेलिफोन गरे । र, छिटो आउन अनुरोध गरे । स्थानीयको आक्रोश बढ्न थालेपछि सहायक प्रजिअ निरौलाले प्रहरीको सङ्ख्या बढाए । केहीबेरमै त्यहाँ सशस्त्र र जनपथ गरी ३५ जना प्रहरी खटिए ।
११ बजेका लागि तय गरिएको बैठकमा सहभागी हुन स्थानीय विकास अधिकारी ओझा दिउँसो २ः२० मा मात्र पुगे । उनी पुग्नासाथ माहोल थाम्न प्रहरीलाई हम्मे–हम्मे प¥यो । अर्जुनधाराबासीले स्थानीय विकास अधिकारीविरुद्ध चर्को नाराबाजी गरे । र, सामुदायिक वनको कार्यालय परिसरमै घेरा हाले । प्रहरी टोलीले कडा सुरक्षाका बीच उनलाई कार्यालयको कोठाभित्र प्रवेश गरायो ।
स्थानीय विकास अधिकारीलाई बाहिर निकाल्न माग गर्दै स्थानीयले निरन्तर नाराबाजी गरिरहे । झापाका राजनीतिक दलका प्रमुख तथा केही स्थानीय अगुवासमेत भित्र पसेर स्थानीय विकास अधिकारी र सहायक प्रजिअसँग गोप्य बैठक गरेका थिए । बैठक खुल्ला स्थानमा बस्नुपर्ने भन्दै बाहिर नाराबाजी चलिरह्यो ।
झण्डै आधा घण्टापछि बैठक बसेको टोली बाहिर निस्कियो । स्थानीयबासीले बैठकको निर्णय सुनाउन स्थानीय विकास अधिकारीलाई आग्रह गरे । तर, उनी बोलेनन् । सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले एक वाक्यमा निर्णय सुनाए, ‘हालका लागि मेशीन प्रयोग गरेर खोला खन्ने काम बन्द गरियो ।’ जवाफ प्रष्ट नभएको भनी स्थानीय गुनासो गर्दैथिए । बैठक टोली फेरि कोठाभित्र प्रवेश ग¥यो । स्थानीय विकास अधिकारी ओझा र सहायक प्रजिअ निरौला अर्को ढोकाबाट फुत्त निस्किए । र, त्यहाँबाट हिँडे ।
प्रहरी सुरक्षाका बीच उनीहरु सडकमा पुगिसकेपछि मात्र स्थानीयले थाहा पाए । स्थानीयबासीले उनीहरुलाई लखेटे । तर, इलाका प्रहरी कार्यालय बिर्तामोडको गाडीमा चढेर स्थानीय विकास अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी बाटो लागिसकेका थिए । स्थानीय विकास अधिकारी चढेर आएको बा. २ झ १४५२ नम्बरको सरकारी गाडी त्यहीं थियो । स्थानीयबासीले त्यो गाडीलाई निकैबेर अवरोध गरे ।
साम्सुहाङ बिल्डर्सका सञ्चालक राजकुमार थापाले जिविसबाट ३ करोड ४० लाखमा बिरिङ खोलाबाट खोलाजन्य सामग्रीको निकासी ठेक्का लिएका हुन् । डेढ मिटरसम्म खन्न पाउने सम्झौता भएपनि खोलाभित्र स्काभेटर प्रयोग गरी त्योभन्दा बढी खनेपछि स्थानीय आक्रोशित बनेका हुन् । यसरी खोला खन्न थालेपछि पानीको स्रोत सुकेको साथै खोला गहिरिएर बालीनाली समेत सुक्न थालेको स्थानीय नयन अधिकारीले बताए ।
ठेकेदारले बिरिङ खोलामा स्काभेटर प्रयोग गरेर खोलाजन्य सामग्री निकाल्न शुरु गरेदेखि यहाँका बासिन्दालाई पिउने पानीको समस्या हुन थालेको छ ।
जथाभावीरुपमा खोला खन्न थालेपछि त्यस स्थानका अधिकाङ्श इनार र ट्युबबेल सुक्न थालेको अर्का अभियन्ता बिजेन्द्र एक्तेनले बताए । हाल सिस्नेका बासिन्दाले २ किलोमिटर उत्तरमा रहेको बिरिङ खोलाको मुहानबाट पाइपमा पानी ल्याउने व्यवस्था मिलाएका छन् । उनीहरुको एउटै माग हो– खोलामा स्काभेटर हालेर खन्न दिइनु हुँदैन । तर, स्थानीयले वर्षौदेखि प्रशासन कार्यालय र जिविस धाउँदा पनि यो समस्या समाधान भएन । ठेकेदारले मार्ने धम्की दिएपछि स्थानीय नयन अधिकारी र हचुमासा सामुदायिक वनका अध्यक्ष राम निरौला गाउँबाट बाहिर जान सकेका छैनन् । उनीहरुले सुरक्षाको निम्ति त्यहाँ पुगेका सहायक प्रजिअसँग आग्रह समेत गरेका थिए ।