काठमाडौं/ ऋण लगानी गर्ने पैसा सकियो भनेर बैंकहरू अहिले पैसाको जोहो गर्न निक्षेपको ब्याज बढाइरहेका छन्। तर, ब्याज बढाउँदा यसरी चलाखी गरिएको छ कि बढेको भनिएको निक्षेपको ब्याज सर्वसाधारणले पाएका छैनन्।

उल्टो निक्षेप महंगोमा लिएको भनेर बैंकहरूले यही मौकामा बेपत्तासँग ऋणको ब्याज पनि बढाएका छन्।

उत्तम मास्के ग्लोबल आईएमई बैंकका बचतकर्ता हुन्। शेयर बजारका लगानीकर्ता मास्केले बैंकबाट ऋण पनि लिएका छन्।

उनले एक वर्षअघि ८।५ प्रतिशतमा लिएको ऋणको ब्याजदर अहिले बैंकले ११ प्रतिशत पुर्याइसकेको छ। तर, उनले दुई प्रतिशतमा राखेको बचत खाताको ब्याजदर भने अहिले पनि त्योभन्दा माथि उक्लिएको छैन।

मास्के एक जना प्रतिनिधि पात्र मात्रै हुन्। उनीजस्ता लाखौं सर्वसाधारण छन् जो नेपालका बैंकको यो धूर्त व्यवहारको शिकार भइरहेका छन्।

बैंकको सिईओ भइसकेका शोभनदेव पन्तले ‘निक्षेपको ब्याज बढेको’ विज्ञापन पत्रिकामा छापिएपछि आफ्नो खाताको रकममा किन ब्याज बढेन भनेर शाखा प्रबन्धकलाई सोधे। प्रबन्धकले उनलाई ‘यो सुविधा नयाँ खाता खोल्नेलाई मात्र हो, पुरानालाई होइन’ भने।

सर्वसाधारणलाई अहिले बैंक ब्याजका बारेमा चासो लाग्नु स्वाभाविक छ। किनकि बैंकहरूले धमाधम निक्षेपको वार्षिक ब्याजदर १२ प्रतिशत पुगेको विज्ञापन गरिरहेका छन्।

एनआइसी एसिया, नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) र सिभिल बैंकले १२ प्रतिशत ब्याज दिने भनेर विज्ञापन नै निकालेका छन्। सानिमा, सिटीजन्स बैंक इन्टरनेशनल, ग्लोबल आईएमई, माछापुच्छ्रेले १० प्रतिशतभन्दा माथि ब्याज दिने विज्ञापन गरेका छन्।

विज्ञापन नगरिकन पनि सहमतिमा बैंकहरूले ठूला निक्षेपकर्तालाई १३ प्रतिशतसम्म ब्याज दिइरहेका छन्। जस्तो कि पछिल्लो १० दिनभित्र मात्रै सिभिल, सिटीजन्स, मेगा, एनसीसी बैंकले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले निक्षेप राख्न गरेको सूचनामा १३।०९ प्रतिशतसम्म ब्याज दिने प्रस्ताव गरेर निक्षेप लगेका छन्। स्ट्याण्डर्ड चार्टर्ड बैंकले नेपाल विद्युत प्राधिकरणसँग १२।७६ प्रतिशत ब्याजमा निक्षेप लगेको छ।

बैंकले विज्ञापनमा उल्लेख गरे बमोजिमको ब्याज सर्वसाधारणले नपाउनुमा व्यावसायिक चलाखीले काम गरेको छ। विज्ञापनको पुछारमा उनीहरूले स्टारको चिन्ह ९८० राखेका हुन्छन्। यसको अर्थ ‘सर्तहरू लागू हुनेछन्’ भन्ने हुन्छ। यही अमूर्त सर्तहरूका कारण ब्याज बढेको होहल्ला मच्चिँदा पनि सर्वसाधारणले चाहिँ बढेको ब्याज पाउँदैनन्। यस्तो ब्याज पाउन बैंकका ‘सर्तहरू’ पूरा गर्नुपर्छ।