काठमाडौं/ राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले लघुवित्तहरु नाफामुखी भइरहेको भन्दै आलोचना गरेका छन् ।
बुधबारबाट राजधानीमा आयोजना भइरहेको चौथो लघुवित्त सम्मेलनमा बोल्दै गभर्नर नेपालले भने, ‘लघुवित्तको कारण मान्छेहरु घरबारविहीन भएका छन्, उनीहरु झुण्डिएर मर्नुपर्ने अवस्था आएको छ ।’याे बिडम्बना रहनु हुदैन ।
गभर्नर नेपालले लघुवित्तहरु अत्यन्त बढी शोषणतिर लागेको र शेयर मूल्यमा बढी ध्यान दिन थाल्दा समस्या आएको भन्दै आलोचना समेत गरे ।
लघुवित्तलाई प्रोत्साहन गर्दा ‘सामन्ती शोषक वर्ग’ लाई आपूmले गाउँ पठाएसरह भएको भन्दै उनले आलोचना गरे ।उनले लघुवित्तहरु नसुध्रिए कतिलाई बन्द गर्ने र कतिपयलाई कारवाही गर्ने अवस्था पनि आउने स्पष्ट पारेका छन् ।
अहिले नाफाको १ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नु परेको रकमको सीमा वृद्धि गर्न राष्ट्र बैङ्कलाई बाध्य नपार्न पनि उनले आग्रह गरे । राष्ट्र बैङ्कले विकट २२ जिल्लामा जान लघुवित्तको शाखा स्थापनामा प्रोत्साहन गर्दै प्रति ३० लाख शून्य ब्याजदरमा कर्जा समेत उपलब्ध गराउने घोषणा गरेको छ । २०७४ चैतबाट गैरसरकारी संस्थालाई लघुवित्तमा परिणत वित्तीय कारोबार गर्ने गैरसरकारी संस्थालाई २०७४ चैतबाट लघुवित्तमा परिणत गर्ने र तिनीहरुले २०७५ मङ्सिरबाट शेयर जारी गर्ने व्यवस्था गर्न लागेको र गभर्नर नेपालले जानकारी दिए ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार वित्तीय कारोबार गर्ने २५ गैसस लघुवित्तमा परिणत हुन बाँकी रहेका छन् । यता, कम्पनी रजिष्ट्रारको कार्यालयले भने गैससको स्वामित्वमा लघुवित्त कम्पनी जस्ता नाफामा आधारित संस्था हुन नहुने भन्दै यसमा रोक लगाउँदै आएको थियो ।
कार्यक्रममा बोल्दै बैङ्कर्स एशोसिएशनका अध्यक्ष अनीलकेशरी शाहले लघुवित्त कम्पनीहरुलाई पूँजी अभाव नहुने आश्वस्त गराए । ‘हामीले विपन्न वर्गमा गर्नुपर्ने ५ प्रतिशत रकम लगानीमध्ये ३ प्रतिशत लगानी लघुवित्तबाट गर्न सकिने व्यवस्था अहिले पनि छ, बैङ्क ठूलो बन्दैछन्, जसले गर्दा ३ प्रतिशत रकम पनि उल्लेख्य नै हुनेछ’, शाहले आश्वस्त पारे ।
राष्ट्र बैङ्कले भाका सारेर आगामी आर्थिक वर्षसम्ममा वाणिज्य बैङ्कहरुले विपन्न वर्गमा २ प्रत्यक्ष लागनी गर्नुपर्ने व्यवस्था गरेको छ ।सम्मेलनका संयोजक पिताम्बरप्रसाद आचार्यले हाल लघुवित्तले २४ लाख विपन्न परिवार समेटेको र यसमध्ये ९० प्रतिशत महिला रहेको जानकारी दिए ।
उनले लघुवित्तसँगको ग्राहकको वित्तीय कारोबारको जानकारी दिने कर्जा सूचना केन्द्रको आवश्यकता समेत औंल्याए । लघुवित्त सङ्घका अध्यक्ष रामचन्द्र जाशीले भने यी संस्थामा ग्राहकमा दोहोरोपनाको समस्या रहेकोले यसमा सचेत हुन आग्रह गरे । आर्थिक, सामाजिक र मानवीय मूल्यमा सन्तुलनको नारा दिइएको यो सम्मेलन तीन दिनसम्म चल्नेछ ।